सत्ता गठबन्धनमा खटपट : 'भाइरल' मन्त्रीलाई लगाम नलगाएको भन्दै कांग्रेसमै देउवाको आलोचना - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सत्ता गठबन्धनमा खटपट : ‘भाइरल’ मन्त्रीलाई लगाम नलगाएको भन्दै कांग्रेसमै देउवाको आलोचना



कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा खटपट पैदा भएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरेका निर्णयहरू प्रधानमन्त्री देउवाले उल्ट्याउन निर्देशन दिएपछि सरकार गठबन्धनमा भएको खटपट सार्वजनिक भएको हो ।

स्वास्थ्यमन्त्री खतिवडाले गरेका उच्च अधिकारीको सरुवा रोक्न देउवाले बिहीवार निर्देशन दिएका हुन् । राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता शुरू भइसकेकाले सरुवा रोक्नुपरेको बालुवाटारनिकट स्रोतको दाबी छ । तर पछिल्लो समय देउवा स्वास्थ्यमन्त्री खतिवडासँग असन्तुष्ट रहेका छन् ।

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्रीलाई नसोधिकन धमाधम निर्णय लिन थालेपछि देउवा असन्तुष्ट भएको बताइन्छ । यसअघि पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्राहलयमा बनिरहेको क्याफ्टेरिया भत्काएर चर्चामा आएका थिए ।

विवादित बतास समूहले भाडामा लिएको नारायाणहिटी संग्राहलयको क्याफ्टेरियामा बनेका संरचनाहरू भत्काउनुअघि मन्त्री आलेले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिएनन् । यद्यपी देउवा यस मामिलामा भने चुप छन् ।

उच्च पदस्थ कर्मचारीको सरुवालाई लिएर प्रधानमन्त्री देउवाले आफ्नो टीममा छलफल गरेका थिए । देउवानिकट नेताहरूले सरकार गठबन्धनको भए पनि निर्णयहरू प्रधानमन्त्री मातहत हुने हुनाले सजग रहन देउवालाई सुझाएका छन् ।

बुधबार स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागु भइसकेको बेला सरुवा गरिएको भन्दै विरोध भएको थियो ।

 प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्री विरोध खतिवडाबीच टकराव देखिएको छ । डा. गुणराज लोहनीलाई वीर अस्पतालमा सरुवा गर्ने स्वास्थ्य मन्त्री खतिवडाको निर्णयपछि प्रधानमन्त्री देउवा उनीसँग फायर बनेका छन् । स्वास्थ्यमन्त्री खतिवडाको उक्त निर्णयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्।

स्वास्थ्य मन्त्री खतिवडाले कोभिड–१९ युनिफाइड अस्पतालको प्रमुखमा डा. लोहनीको सरुवा गरेका थिए । मन्त्रीस्तरीय निर्णयबाट डा. भुपेन्द्र बस्नेतको ठाउँमा डा. लोहनीलाई पठाइएको थियो ।

मन्त्रालय स्रोतका अनुसार आफूसँग सल्लाह नै नगरी सरुवाको निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले तत्काल निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका छन् । “अब तत्काल युनिफाइड अस्पतातमा डा. बस्नेत नै प्रमुख रहनेछन्,” स्रोतले भन्यो ।

डा. लोहनीलाई वीरमा पठाएपछि त्यहाँका केही कर्मचारीले विरोध गरेका थिए । उनीहरूले बुधबार डा. लोहनीलाई हाजिर गर्न नदिने भन्दै नाराबाजी गरेका थिए । त्यसपछि उनी हाजिर नगरी फर्किका थिए ।

कांग्रेस इतर दलका मन्त्रीहरूले जथाभावी गर्न थालेपछि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरेर मन्त्रीहरूले काम गर्नुभन्दा पहिला आफूसँग छलफल नगरेकोमा असन्तुष्टि जनाएका छन् ।

‘मन्त्रीहरू बेलगाम हुन थालेपछि प्रधानमन्त्रीले गठबन्धन दलका अध्यक्षहरूसँग आफूलाई काम गर्न अप्ठेरो परेको गुनासोसमेत गर्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो ।

‘गठबन्धन दलबाट प्रतिनिधित्व गर्ने कतिपय मन्त्रीहरूले गरेको कार्यसम्पादन देउवालाई मन परेको छैन । ‘भाइरल हुने नाममा मन्त्रीहरूले गरेका आवेशपूर्ण निर्णयहरूको स्वामित्त्व पनि प्रधानमन्त्रीले नै लिनुपर्ने हुन्छ,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भने, ‘ती मन्त्रीहरूलाई लगाम लगाउनु पर्छ । यसबारेमा पार्टीभित्रसमेत छलफल भएको छ ।’