डिभोर्स र समाज ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डिभोर्स र समाज !



दिपक घिमीरे

भिडियो च्याट बाटै हत्केलामा मेहन्दिले डि लेखेको देखाउदै उसले भनी “ यसको अर्थ बुझेका छौ ? ”

मैले मुन्टो हल्लाउदै ईसारा गरे “ नाई ! ”

उसले कानमा घुसारेको एयरफोन निकालेर बेस्सरी हासी अनि भनी “ बुद्धू ! डि मिन्स दिपक । यसपालिको साउन मैले तिम्रो नाममा हात्केला रङ्गाए अनि मेहन्दीले तिम्रो नाम लेखेको छु । ”

उसले फेरि एयरफोन कानमा घुसाई अनि हत्केला क्यामेराको अघिल्तिर पसार्दै भनी “ राम्रो सँग हेर त ! पुरै दिपक लेखेको छु । तर अरु अक्षर साना भएर देखिदैनन । ”

मैले मोबाईलको स्क्रीन आँखा नजिक लगे , हेरे । साच्चिकै त्यहा दिपक लेखेकी थिइ उसले ।

म फिलिङ लभ मा झन डुब्दै थिए । उसले गर्ने अन्धो मायाले मलाई नराम्रो सँग फसाउदै थियो । सायद फसाउन त सक्थेन होला म आफै फस्दै थिए उसको निस्वार्थ मायामा ।

“ किन चुप ? तिमी खुशी छैनौ ? ” उसले मेरो मौनता बारे प्रश्न गरि ।

“ आज मुड अफ छ हो तिम्रो ? ”उसले फेरी प्रश्न गरी ।

उसले प्रश्न माथी प्रश्न गरेपछी मैले भने “ हामी एक अर्काको हुनै सक्दैनौ , त्यसैले सुस्त सुस्त तिम्लाई भुल्ने कोसिस गर्दैछु यार । ”

उ रिसाई , अनुहार कालो बनाई अनि भनि “ मैले तिम्लाई निस्वार्थ माया गर्छु , यहाँ बिहेको अथवा एक अर्काको हुने कुरै भएको छैन । किन भाग्दैछौ म बाट ? ” उसले आँखा निचोरी ।

मैले उसलाई सुनिरहे ।

उ फेरी भन्दै थिइ “ म तिम्रो बसेको घर बिगार्दैन दिपक तर तिम्रो मिठो मित्रताको मलाई जिवनभर खाचो छ । यति छिट्टै टाढा हुने कुरा नगर प्लिज । ”

मैले लामो सास तान्दै भने “ हाम्रो मित्रता पनि डरलाग्दो छ नानी । समाजले पचाउन सक्दैन । ”

उ केही बोलिन , आँखा निचोरीरही ।

“ किन बोल्दैनेस ? मन दुख्यो ?” मैले उसलाई बोलाए तर उ बोलिन ।

“ त कुरै बुझ्दैनेस यार कसम । तलाई के भनेर सम्झाउ म । ” मैले उसलाई सम्झाउन खोजे ।

“ तिम्रो कुराले यस्तो लाग्दैछ कि हरेक डिभोर्सी या एकल महिला लाई अरु कुनै पुरुष सँग बोल्ने हास्ने अधिकार छैन । हामी असल मित्र पनि बन्न सक्दैनौ है ? ” उसले रुन्चे स्वरमा बताई ।

“ भयो , आजै देखि तिम्रो जिबनबाट टाढा भैदिन्छु । ”

उसले बाई पनि नभनी भिडियो कल काटी ।

उ रिसाउनु स्वभाबिकै थियो । उ मलाई आफ्नो जिबनको सबैभन्दा नजिकको साथी ठान्छे तर म हाम्रो मित्रता देखि निक्कै डराउछु । तिल जत्रो कुरालाई पहाड बनाउने कुरौटेहरु बस्ने समाजमा मलाई ईज्जतको निक्कै डर लाग्छ । त्यसैले हामी अलिकती टाढै बसौ भन्ने मेरो मनसाय हो तर उ अबुझ जस्तै गर्छे ।

मैले उसलाई म्यासेन्जरमै भिडियो कल गरे । उसले काटिरही , मैले गरिरहे ।

लास्ट पटक उसले उठाई अनि भनी “ प्लिज ! अब म तिम्रो जिबनमा आउदैन । म डिभोर्सी हु , मलाइ असल साथी बन्ने अधिकार सम्म छैन । ” यति भनेर उसले फेरि फोन काटी ।

उसलाई सम्झाउन निक्कै कठिन थियो । उ अलिकती जिद्धी स्वभाबकी थिइ । मनमा पाप थिएन तर मुखकी निक्कै छुची थिइ उ । बाउको प्यार अनि आफन्तको मायाले पुलपुलीएकी उ छिट्टै रिसाउथी अनि रोई दिन्थी ।

सत्र बर्षकै उमेरमा प्रेम बिबहा गरेकी कल्पना भण्डारी हो उ । सम्पन्न बाउकी एक्ली छोरी हो उ । उ राम्री मात्र होईन महा राम्री छे तर भाग्य अनुहारमा लेखेको हुदोरहेनछ । उ रुपको लाईनमा बस्दा ढिला भएर भाग्यको भाग छुटाएकी रे । उसका बा आमा दुबै जना यही भनेर पिरलो गर्छन ।

सानो निधारमा सयौ बर्ष सम्म भोग्ने कर्म लेखिएको हुदो रहेछ । उसले कैयौ पटक निधार देखाउदै भनेकी छे “ यति सानो निधार छ , भाग्य पनि सानै रहेछ । भाग्यमानी हुन निधार ठूलो चाहिन्छ रे । आफ्नो त अनुहार ठूलो , निधार सानो प¥यो । ”

गर्भमा छोरी हुर्कदै गर्दा श्रीमानले छाडेर गएपछी उ एक्लि भै ! कहिले माईतीको सहारा त कहिले आफैले जागिर गर्ने अफिसको सहारामा उसले छोरी हुर्काउदै लागि । जिबनको अर्को दोबाटोमा म भेटिएको थिए असल साथीको रुपमा । तर म डराउथे उसलाई माया देखाउन । उ चाहन्थी हामी दुनिया सँग नडराउने असल साथी बनौ । तर म हाम्रो मित्रतालाई समाज सामु देखाउन सम्म सक्थेन । किनकी समाज उसको र मेरो मित्रता पचाउन सक्थेन ।

फेसबुकले चिनाएको हाम्रो मित्रतालाई उसले कुन रुपले सोच्छे त्यो उ जानोस तर म सुस्त सुस्त प्रेमको रुपमा लिदै थिए ।

आज बोल्दिन , फोन गर्दिन भनेर अठोट लिन्थे तर उ अनलाईन आएको या नआएको बारम्बार हेर्थे अनि अनलाईन आउना साथ भन्थे “ हेल्लो मोटी । ”

मैले मोटी भनेर सम्बोधन गर्दा उ मुस्कुराउथी अनि भन्थी “आई एम फ्याट , सो हृवाट ? ”

उ खुशी हुदा म खुशी हुन्थे अनि उ रिसायपछी मलाई नराम्रो लाग्यो । यो पहिलो पटक होईन उ रिसाएको । कहिले जिस्कदा जिस्कदै रिसाउथी त कहिले जिबनबारे सोचेर रिसाउथी ।

अरुबेला उ रिसाउदा मलाई मजा आउथ्यो तर आज उ रिसाउदा कता कता पीडा भयो । म्यासेज गर्दै लेखे “ अब कहिले नबोल्ने होस ? ”

उसले तुरुन्तै म्यासेज हेरी , अनि रिप्लाई गरि “ सक्दिन रिसाउन ! तिमि छौ र जिउने आशा पलाएको थियो तर नबोली एक घण्टा पनि बस्न सक्दैन । ”

उसको म्यासेजले मनमा खुशी छाईदियो । मैले भने “ कल गर्छु है । ”

उसले म्यासेज हेरेपछी आफै कल गरि । किनकी उ सधै यस्तै गर्छे , कारण उ म भन्दा धनि छे र धेरै कमाउछे ।

“ तिमी मलाई हेला गर्छौ , जस्तो समाजले हेला गर्छ एकल महिलालाई । ” मैले हेल्लो भन्न नपाउदै उसले गुनासो पोखी ।

“ धत लाटी ! हेला होईन , म डराउछु समाज सँग । हाम्रो मित्रतालाई गलत अर्थ लगाउनेहरु सँग डराउछु । त्यसैले टाढिन खोज्दैछु बौलानी । ” मैले कारण बताए ।

फेरि अनगिन्ती गफ भए , फेरि जीवन कसरी अगाडि बढाउने सल्लाह भए ।

साच्चै उ मलाई एउटा असल साथी मान्छे । बरु म कहिले काहीँ साथी भन्दा अलिकती माथी सोच्दिन्छु तर उ मलाई कहिले गलत नजरले सोच्दैने । तर सानो गल्तिले उसलाई बदनाम गराईदिन्छ , मलाई केही फरकै पर्दैन । किनकी समाज पुरुष प्रधान छ , गल्ती यहाँ सधै महिलाकै देखिन्छ ।

समाजले एकल महिलालाई हेर्ने दृष्टि निक्कै फरक छ । उ आफ्नो परिवारका सदस्य बाहेक बाहिर खुलेर बोल्न समेत पाउदिन र सक्दीन पनि । कामै परेर कहि कतै हिडेको या परपुरुष सँग बोलेको मात्र देखियो भनेपनी सुरु हुन्छ टिकाटिप्पणी । फलानी त फलानो सँग पल्केकी छे , फलानोले रख्खेल बनाको छ रे । यस्तै यस्तै गलत हल्ला ।

यस्तै गलत टिका–टिप्पणी बाट निक्कै डराउछु अनि बेला बेलामा उ बाट टाढिने कोसिस गर्छु ।

उसका पनि आफ्नै समस्या छन । उ म सँग गफिन पाउँदा निक्कै खुशी भएको आभाष मलाई दिलाउछे । उ आफै पनि भन्छे “ जिबनमा तिमी छौ अनि जीवन सुन्दर लाग्छ । नत्र प्रेम गरेको मान्छेले समेत चुसेर फालेको खोया हु म , बाच्ने आशा उति बेलै मरेको थियो जतिबेला समाजमा डिभोर्सी भए । ”

उसले यति भन्दा म पनी घमण्ड गर्छु । किनकी मेरो मित्रताले कसैलाई जिउने आशा दिलाउछ ।

उ बाबाकी प्यारी छोरी हो र उसको पनि प्यारी छोरी छ । म उसलाई भन्छु “ अब छोरीको अनुहार हेरेर जिउन सिक यार ! म दुई दिनको पाहुना जस्तै हु । ”

मीठो हासो हास्दै भन्छे “ जहिले सम्म तिम्रो मीठो माया पाउछु , तब सम्म जिउछु । जुन दिन एक्लो फिल गर्छु त्यो दिन दुई मिटर डोरी किन्न समस्या लाग्दैन यार । झुण्डीन्छु कुनै बलियो रुखमा अनि सिद्याउछु एक्लो जिवन । ”

उ एउटा हिम्मती आमा हो , उ एउटा असल नारी हो तर समाजले उसलाई दुई फरक ढङ्गले बुझ्दछ । एउटाले उसलाई प्रयोग गर्न चाहन्छ अर्कोले उसलाई समाजबाटै बहिष्कार गर्न चाहन्छ । तर उ मेरो मीठो गफमा जिउने आशा देख्दछे ।

सोच्दैछु ! अब इज्जतिलो गफ अनि इज्जतिलो सम्बन्ध राखेर उसलाई जिबनकै सफल आमा बनाउनेछु अनि बनाउने छु समाजकै उदाहरणिय एकल महिला ।

हिमाल पोस्टको अनुमति बिना अन्य अनलाईनमा साभार गरीए कडा भन्दा कडा कारवाही गरिनेछ ।