अत्यधिक बढ्यो डिजेलको मूल्य: साढे २ वर्षयताकै बढी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अत्यधिक बढ्यो डिजेलको मूल्य: साढे २ वर्षयताकै बढी



एजेन्सी (भारत) । भारतमा डिजेलको भाउ बढेर साढे २ वर्षभन्दा बढी समययताकै उच्च विन्दुमा उक्लिएको छ । बिहीवार लगातार १२ औं दिन पनि सरकारी तेल कम्पनीहरुले पेट्रोलियम पदार्थको भाउ बढाएपछि डिजेलको भाउ सो उचाईमा पुगेको हो ।

बिहीवार राजधानी दिल्लीमा प्रतिलिटर डिजेलको भाउ ७६ रुपया ४३ पैसा कायम भएको छ । त्यस्तैगरी, पेट्रोलको भाउ ७७ रुपया ८१ पैसामा उक्लिएको छ । यो सन् २०१८ को नोभेम्बर १० यताकै उच्च हो ।

बिहीवार सरकारी तेल कम्पनीहरुले डिजेल र पेट्रोलको भाउ क्रमशः ६४ पैसा र ५३ पैसाले बढाएका थिए । लगातार १२ दिनसम्मको वृद्धिसँगै डिजेल र पेट्रोलको भाउ क्रमशः ७ रुपया ४ पैसा र ६ रुपया ५५ पैसा बढेको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ न्यूनस्तरमै रहेको भएपनि घरेलु बजारमा भने इन्धनको मूल्य नयाँ उचाई पुगेको छ । हालैका दिनमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ४० डलरमा किनबेच भइरहेको छ ।

अप्रिलको अन्त्यमा यो २० डलर आसपास रहेको थियो । वर्षको शुरुको बेलातिरको तुलनामा यो निकै कम हो । यस वर्षको शुरुमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ६६ डलर रहेको थियो । भारतमा केन्द्र र राज्य सरकारहरूले करमा गरेको वृद्धि र तेल कम्पनीहरूले मुनाफा मार्जिन बढाएपछि भाउ ह्वात्तै बढेको हो ।