दोलखाका सिडिओको कर्तुत: अभियुक्तसँग ९० हजार, गोप्य कोठामा बार्गेनिङ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दोलखाका सिडिओको कर्तुत: अभियुक्तसँग ९० हजार, गोप्य कोठामा बार्गेनिङ



दोलखा- दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले थुनछेक मुद्दाका तीन अभियुक्तसँग रकम असुलेको तथ्य खुलेको छ ।

उनले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार असुलेका हुन् ।

रिजालले सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णय समेत गरेका थिए । दुवै घटनामा उनले कम रकमको रसिद काटेर बढी रकम लिएका थिए । तर, कर्तुत सार्वजनिक हुने डरले सिडिओ रिजालले बिहीबार नै रकम फिर्ता गरेका छन् ।

सिडिओ रिजाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै काम गरेका कर्मचारी हुन् । विगतमा भ्रष्टाचारको अनुसन्धान गरेका कर्मचारी अहिले आफैँ सर्वसाधारणसँग बार्गेनिङ गरेर पैसा असुलेको घटनामा जिल्ला प्रशासनका कर्मचारीसमेत आश्चर्यमा परेका छन् ।

गोप्य कोठामा अभियुक्तसँग रकम बार्गेनिङ
मेलुङ गाउँपालिका–४ भेड्पु निवासी लामा जनप्रतिनिधिमाथि हातपातको आरोपमा २४ दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा थिए । उनलाई प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेर अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

२४ दिन पूरा भएपछि प्रहरीले मंगलबार लामालाई प्रमुख जिल्ला अधिकारी रिजाल समक्ष थुनछेक बहसमा पठायो । प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालयमा लगे पनि कार्यालय समयभन्दा ढिला पुगेको भन्दै त्यत्तिकै फिर्ता पठाइदियो । मुद्दाको बहस हुन सकेन ।

बुधबार पुनः उनलाई जिल्ला प्रशासन कार्यालय लगियो । थुनछेक बहसकै क्रममा लामालाई सिडिओ रिजालले यसअघि पनि दुईवटा मुद्दामा परेको भन्दै धरौटीमा छोड्न नमिल्ने बताए । उनले चेम्बरसँगैको अर्को गोप्य कोठामा लगेर लामालाई ‘यसअघि नै तिमीविरुद्ध दुई वटा मुद्दा परेकाले धरौटीमा छोड्न मिल्दैन’ भन्दै रकम बार्गेनिङ गरे ।

लामाले आफ्नो सानो बच्चा रहेको भन्दै परिवारमा अप्ठेरो भएकाले धरौटीमा छोडिदिन रिजालसँग आग्रह गरे । त्यसपछि उनले ‘मलाई रिक्स छ, एक पटकलाई बच्यौ एक लाख धरौटी लाग्छ’ भनेका थिए । सिडिओ रिजालले घुस रकम मागेपछि लामा परिवारले ऋण खोज्दै एक लाख जुटाएर बुझाएको लामाकी श्रीमती रेणु तामाङले बताइन् ।

१० हजारको रसिद काटेपछि खुल्यो पोल
सिडिओ रिजालले कुमार लामासँग एक लाख लिएर दस हजारको मात्रै रसिद दिएपछि यो तथ्य बाहिर आएको हो । बुधबार रकम बुझाएर हिरासतबाट बाहिर निस्कँदा साँझ परिसकेको थियो । घर पुगेपछि लामा परिवारले रसिद हेरे ।

त्यहाँ जम्मा १० हजार मात्र उल्लेख भएको देखेपछि आश्चर्यमा परे । बिहीबार बिहान लामा परिवार जिल्ला प्रशासन कार्यालय आइपुग्यो । त्यहाँ कालिञ्चोकका उदिम तमाङ र इन्द्रबहादुर तामाङ भेटिए । सिडिओले आफूहरूसँग बढी पैसा लिएकाले फिर्ता माग्नुपर्ने उनीहरूबीच छलफल भयो । त्यसपछि उनीहरूले जिल्लाका मिडियालाई खबर गरे ।

लामाकी श्रीमती रेणु तामाङ जिल्ला प्रशासन कार्यालय गएर रिजालसँग ‘सिडियो साब हाम्रो बाँकी ९० हजार रुपैयाँ खै’ भनेर प्रश्न गर्न थालिन् । सामान्य घटनामा पनि धेरै पैसा लिएको भन्दै कराउन थालेपछि रिजाल झस्किए । रिजालले बाहिर हल्ला नगरिदिनु भन्दै फोन समेत अफ गर्न लगाई गाडीमा राखेर क्वार्टरतर्फ लगे ।

पत्रिकाले बेरेको कागजमा ९० हजार राखेर तामाङलाई फिर्ता गरे । सिडिओ रिजालले आफूले बढी लिएको रकम फिर्ता गरेको स्विकारेका छन् । उनले त्यो रकम आफूले राख्न नभई लामाबाट पीडित भएका मानिसलाई क्षतिपूर्ति दिलाउन लिएको, तर उनीहरू नआएकाले फिर्ता गरेको दाबी गरे । तर, कानुनमा पीडितलाई क्षतिपूर्ति दिलाउन सिडिओले पैसा लिन पाउने प्रावधान नै छैन ।

१४ हजारको रसिद दिएर ३५ हजार लिए
यस्तै, सिडिओ रिजालले कालिञ्चोक गाउँपालिका–१ का उदिम तमाङ र इन्द्रबहादुर तमाङबाट पनि मंगलबार सार्वजनिक सुरक्षा कसुरको थुनछेक बहसमा १४ हजारको नगदी रसिद दिएर ३५ हजार रुपैयाँ लिएका थिए ।

बिहीबार पत्रकारहरूलाई भेटेर पीडितहरूले सामान्य मुद्दामा पनि सिडिओ कार्यालय जस्तो ठाउँमा घुस दिनुपरेको भन्दै दुखेसो पोखेका छन् । तर, रिजालले सो रकम पीडित भनिएकालाई क्षतिपूर्ति दिन लिएको भन्दै गोलमटोल जवाफ दिए । नयाँ पत्रिका दैनिकमा समाचार छ