नेपालमा भेटिएको ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना के हो? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपालमा भेटिएको ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना के हो?



काठमाडौं । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा.कृष्ण पौडेलले जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुना मध्ये एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको बुधबार जानकारी दिए ।

ललितपुरका एक पुरुषमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको हो । पौडेलका अनुसार ति पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ लगायतका काम भइरहेका छ । भारतका धेरै स्थानमा डबल म्युटेन्ट भाइरस देखिएको छ । नेपालमा भने यो पहिलो पटक भेटिएको हो ।

के हो डबल म्युटेन्ट भेरियन्ट?

भाइरस यस्तो जीवाणु हो जसले आफ्नो रुप परिवर्तन गरिरहन्छ। एक मानिसबाट अर्कोमा सर्दा बच्नका लागि रुप परिवर्तन गरिरहन्छ। त्यस्तै, रुप परिवर्तन गर्ने क्रममा दुई खाले म्युटेसन (उत्परिवर्तन) एउटै भाइरसमा मिसिँदा नयाँ स्परुप निस्किएको हो। जसलाई भारतले ‘डबल म्युटेन्ट’ नाम दिएको हो।

सामान्यतः भाइरसमा भएको स्पाइक प्रोटिन (भाइरसमा देखिने काँडाजस्तो भाग) मानव शरीरभित्र छिर्न सजिलो हुनेगरी परिवर्तन हुन्छ। तर, यस्तो खाले उत्परिवर्तन भने सामान्य मानिएको छैन। भाइरसले स्पाइक प्रोटिनसँगै आफ्नो स्वरुप पनि परिवर्तन गरेको छ। यसले भाइरसलाई शरीरभित्र छिर्नसक्ने शक्ति मात्र नभई रोग प्रतिरोधक क्षमतालाई कमजोर पनि बनाउनसक्ने शक्तिको विकास गर्दछ।

‘डबल म्युटेन्ट’ लाई ‘बी.१.६१७’ नम्बरले चिनिन्छ जुन युके भेरियन्ट (बी.१.१.७) भन्दा फरक रहेको भारतका वैज्ञानिकहरुले बताएका छन्।

‘डबल म्युटेन्ट’ भाइरस १५ वटा म्युटेसन भई भनेको छ जसमा ६ ले स्पाइक प्रोटिनलाई परिवर्तन गराउँछ भने तीनवटाले गम्भीर संक्रमण गर्दछ।

‘म्युटेसन एल ४५२ आर’ र ‘इ ४८४ क्यू’ ले स्पाइक प्रोटिनलाई परिवर्तन गराउँछ। पहिलो म्युटेसनले सेल कोशिकाभित्र छिर्न मद्दत गर्दछ भने अर्कोले प्रतिरोधक क्षमतालाई कम गराउँछ।

‘बी.१.६१७’ भाइरेन्टलाई ल्याबमा विकास गरी हालसम्म पनि अनुसन्धान नभएको कारण खोपले कामै गर्दैन भनेर एकीन भन्न नसकिने बताउँछन् डा. जमिल। तर, म्युटेसनका कारण खोपको असर भने कम देखिएको पाइएको छ।

हाल तेस्रो चरण पार गरेको जोनसन एण्ड जोनसन र नोभाभ्याक्स खोपले सुरुमा उत्पन्न भएको कोभिड–१९ भाइरस र युके भेरियन्ट भइरसविरुद्ध काम गरेको थियो। तर, उत्परिवर्तित भाइरसमा भने यस्तो देखिएन। खोपले दक्षिण अफ्रिका र ब्राजिल भेरियन्टका भाइरसमा भने कुनै असर देखिएन।

म्युटेन्ट भएका भाइरसहरुले एक व्यक्तिबाट धेरैलाई संक्रमण फैलाउन सक्दछ। युके भेरियन्ट संक्रमित मध्ये ५० प्रतिशतमा देखिएको छ भने भारतको डबल म्युटेन्टले कति छिटो संक्रमण गर्छ र गम्भीर पार्छ भन्ने अनुसन्धानकै विषयमा रहेको विशेषज्ञहरुको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस भनेको कोरोनाको परिवर्तित स्वरुप भनेर नै बुझ्नपर्छ ।

डा.पुनका अनुसार यो भाइरस भारतमै पहिलो पटक देखिएको हुँदा यसलाई भारतिय भाइरस समेत भनिन्छ । “’डबल म्युटेन्ट भेरियन्ट’ नयाँ प्रकारको कोरोना भाइरस भनेको त्यसमा रहेको म्युटेन्ट परिवर्तन हो, बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने हो कि भन्ने चिन्ता रहेको छ,” उनले भने ।