डीपीएलको तयारी अन्तिम चरणमा , विजेताले ३० लाख पाउने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डीपीएलको तयारी अन्तिम चरणमा , विजेताले ३० लाख पाउने



धनगढी, कैलाली । धनगढी प्रिमियर लिगको तेस्रो संस्करण रुस्लान (डिपिएल-३) को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

रुस्लान धनगढी प्रिमियर लिगको सम्पुर्ण तयारी पूरा भएको र अव दुलहीझै सिंगार्न मात्रै थोरै काम बाकी रहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । शाहीले मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएको बताए । मैदान तथा ५ वटा पीच निर्माण सम्पन्न भईसकेको र प्रतियोगिता आयोजनाका विभिन्न समितीहरुले पनि आ- आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिरहेको अध्यक्ष शाहीले बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त प्रतियोगिता रुस्लान डिपिएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स गरि कुल ६ वटा टिमको सहभागिता रहने छ । सबै टोलीमा १२ जना अक्सनबाट लिईएका खेलाडी (स्थानिय सहित), एक रणनैतिक खेलाडी र दुई जना विदेशी खेलाडी रहनेछन् ।

विगतका संस्करणझै प्रतियोगिता सर्वाधिक धनराशीको रहेने भएको छ । प्रतियोगिताको पुरस्कार राशीमा बीस प्रतिशत बढाईएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगिताको कूल पुरस्कार राशी ६० लाख रहेको छ । त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन् ।

यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिईने छ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । रुस्लान डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैया लागत खर्च हुने आयोजकको अनुमान रहेको छ । साथै प्रत्येक खेलमा खेलाडीले प्रहार गरेको पहिलो क्याच समाप्ते दर्शकलाई १० हजार पुरस्कारको व्यवस्था समेत गरिएको छ, जसलाई अजोड इन्सोरेन्सले प्रायोजन गरेको छ ।

टिकट काटेर आउने दर्शकहरुका लागी गोलाप्रथा माध्यम बाट आर्कषक नगत तथा अन्य पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । डिपिएलको तेस्रो संस्करणको मुख्य प्रायोजक रुस्लान क्रिकेट रहेको छ भने प्रतियोगिताको लाईभ एपीवान एचडी टेलिभिजनले गर्नेछ।