कोरोना उपचारमा खट्ने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कोरोना उपचारमा खट्ने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता



काठमाडौं- सरकारले कोरोना रोकथामका लागि खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत भत्ता दिने भएको छ ।

सोमबार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै सरकारले काठमाडौं उपत्यकाभित्रका ६ वटा अस्पतालमा तत्काल २ सय २० वटा आइसीयु बेडहरुको स्थापना गर्ने भएको छ । समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका टेकु अस्पताल लगायतका अस्पतालमा आइसीयु बेड स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार टेकु अस्पतालमा २०, सशस्त्र प्रहरी अस्पतालमा २०, आयुर्वेद्ध अस्पताल कीर्तिपुरमा २०, वीर अस्पतालमा २०, सैनिक अस्पतालमा २० र पाटन अस्पतालमा २० गरी २ सय २० वटा आइसीयु बेड तयार गरिनेछ । बैठकले त्यसको व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालसहित ७ स्थानमा एक हजार संख्यासम्मको बेड हुनेगरी आइसोलेटेड वार्डको व्यवस्था गर्ने जनाइएको छ । जसमा आयुर्वेद अस्पताल कीर्तिपुर २००,खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र २२०, तेलकोटस्थित खानेपानीको तालिम केन्द्र ६०, टेकु अस्पताल १००, पाटन अस्पताल ७०, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अस्पतालहरुमा १०० र इचंगुनारायणस्थित शैक्षिक ब्यारेकमा २५० बेडको व्यवस्थापनसहितको आइसोलोटेड वार्ड स्थापना गरिने जनाइएको छ ।

त्यस्तै, विभिन्न प्रदेशहरुमा आवश्यकता हेरी १०० वटा आइसीयु कक्षको तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै बैठकले कोरोना भाइरस परीक्षणका लागि पीपीई सेट २० हजार थान,डाइगोनोस्टिक किट १० हजार थान र थर्मल गन १ हजार थान खरिद गर्ने निर्णय गरेको छ ।

त्यस्तै कोराना संक्रमणको रोकथामका लागि प्रत्यक्ष रुपमा खट्ने डाक्टर र नर्सलाई ७५ प्रतिशत जोखिम भत्ता उपलव्ध गराउने र अन्य जनशक्तिलाई ५० र २५ प्रतिशत जोखिमभत्ता उपलव्ध गराउने निर्णय भएको छ ।