यस्ता रहेछन डाक्टर रोगी हुनुका बेफाइदा, स्व. डा. चित्र वाग्लेको डायरीबाट - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

यस्ता रहेछन डाक्टर रोगी हुनुका बेफाइदा, स्व. डा. चित्र वाग्लेको डायरीबाट



हाम्रो समाजमा डाक्टरको ठूलो इज्जत र प्रतिष्ठा छ । सबैले आफ्ना छोराछोरीलाई डाक्टर इन्जिनियर बनाउन चाहन्छन् । दशैंमा टीका लगाउँदा डाक्टर बनेस भनेर आर्शीवाद दिएको मैले नै सुनेको छु ,आर्शीवाद पनि पाएको छु । यो पेशामा लाएर मैंले धेरै माया पाएँ पनि । त्यो जति लेखेपनि सकिन्न । यसो भन्दा यो डाक्टरले मपाइँत्व गर्यो भन्नुहोला वा सोच्नुहोला । त्यस्तो सोच्नु तपाइँको अधिकार हो । त्यसमा मेरो भन्नु केही छैन । तर, सत्य बुझ्न मनलागे अर्घाखाँची जानुहोला । अर्घाखाँचीको माया र आर्शीवादले मलाई बाँच्न सहयोग गर्छ ।

मलाई डाक्टर शव्दले समाजमा चिनाउन सहायता गर्यो । यही पेशाको कारण देश र जनताको सेवा गर्न पाएँ । आफु नेपाल देशको एउटा चिकित्सक भएकोमा म गर्व गर्छु ।

तर आज यही डाक्टरीबाट सिकेको,जानेको ज्ञान मेरो लागि ठूलो पीडाको कारण बनेको छ । यसो भन्दा तपाइँलाई अचम्म लाग्ला । यो स्वाभाविक पनि हो । तर यो पेशा सम्वधी नलेजले ममा ठूलो चिन्ता थपिएको छ । त्यो के भने म यो रोगबाट छिटो मर्दैछु भन्ने मलाई थाहा छ । यो स्टेजका रोगी धेैरै बाँच्दैनन भन्ने प्रुफ मसँग छ । डाक्टर आएर मलाई तलाइ सन्चो हुन्छ भन्न सक्दैनन् । हो यसबाटै सबै कुरा थाहा हुँदाहुँदै पनि सबैलाई खुशी पार्न हँसिलो मुख देखाउन बाध्य छु । आफ्नै परिवारलाई ढाँटी रहेको छु । म अझ धेरै बर्ष बाँच्छु भनेर । तर,यो झूटो आश्वासन हो । मेरो जस्तै रोग लिएर बसेका अरु बिरामी डाक्टरले सन्चो हुन्छ भन्दा खुशी हुन्छन,बाँच्ने आशामा बस्छन् ।

मसँग त्यो आशा छैन

डाक्टरलाई मेरी श्रीमती सोध्छिन्, मेरा बुढालाई के हुन्छ ?’

डाक्टर भन्छन, ‘अपने बुड्ढे को पूछो । उसको पता है ।’

म पनि मिठो आश्वासन पाउने आशामा सोध्छु, ‘क्या होगा डाक्टर साब ?’

अनि डाक्टर भन्छन, ‘दवा कर रहे है, तूमको पता है । उपरवाले का भरोसा करो ।’

उपरवालको के भरोसा गर्ने ? उनी मप्रति दयावान भएका भए उनले मलाई यो रोग नै दिने थिएनन नि, हैन र ?त्यही पनि अन्तिम भनेका उनी नै हुन भनी मेरी श्रीमती दिनमा दुइ चोटि धूपबत्ती बाल्छिन ,सोमबार पूजा गर्छिन । शनिबार चाहिँ शनिको पूजा गर्छिन् ।

फाईल तस्विर

जे होस, म डाक्टर भएर मलाई न छिटो रोग पत्ता लगाउन फाईदा भयो, न मेरो मृत्युलाई सजिलो गरायो । यो ज्ञानले गर्दा थाहा पाएँ–म यो संसारबाट छिटो जाँदै छु । यसबारे कसैले मलाई सान्त्वना दिन सकेका छैनन । दिंदैनन पनि ।

डाक्टर भएर मलाई फाइदा भयो या बेफाईदा, तपाइँ नै सोच्नुस् ।

डा.चित्र पुस्तकबाट साभार