कोरोना भन्दा समाचारको आतंकले मार्ने भयो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कोरोना भन्दा समाचारको आतंकले मार्ने भयो



डा. गोविन्द शरण उपाध्याय

तपाईं के गर्नुहुन्छ नि ?

भारतीय जनतालाई कोभिडले निकै दुख दिएको खबर त्यहाँका संचारमाध्यमहरूले ‘सनसनी र अत्यासलाग्दो’ तरिकाले प्रस्तुत गरिरहेका छन् । ती समाचारहरूले कोरोनाको डरलाई धेरै बढाएको छ । त्यहाँका १५ करोड भन्दा बढी जनताले कोभिडको खोप प्राप्त गरिसकेका छन् भने आजको मितिले १५ दिनभित्र अरू २० करोड जनताले खोल प्राप्त गर्नेछन् । करोडौं भारतीय जनता निको भएर घर फर्केका छन् । संक्रमण तीब्र छ र मर्नेहरूको तुलनामा जित्नेहरू धेरै छन् ।

नेपाली मिडियाहरूले पनि भारतीय च्यानलहरूको सीको गर्दै अस्पताल-अस्पताल चाहर्दै ‘डरलाग्दा’ रिपोर्टहरू देखाउने क्रम बढाएका छन् । २० लाख नेपाली जनताले खोप प्राप्त गरिसकेका छन् भने छिट्टै नै अरू २० लाख जनताले खोप प्राप्त गर्दैछन् । नेपालमा पनि मर्नेहरूका तुलनामा कोरोनालाई जित्नेहरू बढी छन् ।

आफन्तको ज्यान गुमाएका परिवारको क्षतिपूर्ति कसैले गर्न सक्दैन तर क्षतिमा, समस्यामा फोकस गर्नुको सट्टा निदानमा फोकस गर्नुपर्छ । सबै गतिविधि छोडर स्वास्थ्यको रक्षा गर्न घरभित्र बसेकाहरूलाई ‘त्रासदीपूर्ण समाचार’ पस्केर घरभित्र पनि मन विगारेर वस्ने बनाऊनु अपराध हो ।

२० प्रतिशत मान्छेहरू रोगले ग्रसीत भएकाले डराएका छन् ८०% मान्छेहरूको मन समाचार हेरेर, सुनेर पढेर मानसिक रोगी भएका छन् । मानसिक रोगी हुन बहुलाउने पर्छ भन्ने छैन। निरन्तर चिन्ता लाग्ने, मनै मन डर लागि रहने, मन अति अशान्त हुने, सानो कारणमा पनि रीस उठ्ने, निन्द्रा नलाग्ने, सारै निराशा लाग्ने हुन्छ | रोगले भन्दा पनि रोगको समाचारले ‘मन विग्रने’हरू बढिरहेका छन् । फेरी पनि भन्छु, समाचार मानसिक रोगको कारण बन्नुहुँदैन।

कोभिड ज्यानमारा रोग हो तर समाचारको प्रस्तुतिले गर्दा डराएर, हतास भएर, आत्तिएर मर्नेहरूको सङ्ख्या अझैं बढी हुन्छ । सरकारले, चिकित्सकहरूले, नर्सहरूले, स्वयंसेवक र नागरिकहरूले कोभिड नियन्त्रणका लागि अहोरात्र गरेका परिश्रमको पनि समाचार बनाऔं । कोभिडलाई जितेर घर फर्केका असंख्य मान्छेहरूको समाचार बनोस् । समाचार डर बन्नु हुँदैन ।

यी असीनाझैं वर्सिरहने समाचार सुन्नु, हेर्नु र पढ्नु भन्दा बरू किताव पढेर बस्छु, श्रीमतीसंग गफगर्छु, छोराछोरीसंग जिस्किन्छु, शारीरिक व्यायाम गर्छु, ध्यान नलागे पनि ध्यान गरेको नक्कल पार्छु, कम्प्युटरमा लुडो र चेस खेल्छु, छोरोसंगै जम्पिंग गर्छु, मन्त्र जप गर्छु, भजन-गीत सुन्छु । म दैनिक केवल १५ मिनट समाचार हेर्छु, त्यो पनि सरकारी च्यानल वा रेडियो नै हेर्छु । म मेरो परिवारलाई डर, त्रास र निराशाबाट मुक्त राख्न चाहन्छु ।

तपाईं के गर्नुहुन्छ नि ?

कोरोना महामारीबारे डा. गोविन्द शरण उपाध्यायका थप लेख यहाँ छन्:

नेपालको कोरोना-सन्दर्भ !!

कोभिड-१९ को डर, अतिवाद र हाम्रो मन

विपत्तिमा कालोबजारी गर्नेको हातले जे छोएपनि सुनै बनोस् !!