डा. निकोलसको विज्ञप्ति- कुकर्मको पोल खुल्ने डरले 'राजनीतिक भ्रुण हत्या'को प्रयास भयो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डा. निकोलसको विज्ञप्ति- कुकर्मको पोल खुल्ने डरले ‘राजनीतिक भ्रुण हत्या’को प्रयास भयो



काठमाडौं- रुपन्देही क्षेत्र नम्बर २ का लौरो अभियानका उम्मेदवार डा. कमल भुसाल (निकोलास)ले कुकर्मको पोल खुल्ने डरले राजनीतिक भ्रुण हत्याको प्रयास भैरहेको बताएका छन् । आफूमाथि षड्यन्त्र भएको संकेत गर्दै भुसालले यस्ता षड्यन्त्रले आफू र आफ्ना मुद्दा झन् दरिलो भएको बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. भुसालले निर्वाचन आयोग र खाईखेलेका केहि नेताहरूले योजनावद्ध सेटिङ गरेर आफ्नो उम्मेद्वारी खारेज गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गरेलगत्तै बाट मलाई रोक्ने अनेक प्रयास भएकै थिए । स्थानीय निर्वाचनमा मतदाताले देखाएको युवाप्रतिको माया र सद्भावबाट अत्तालिएका केहि शक्तिले हामी र हाम्रो अभियान नै तुहाउने प्रयास गरेपछि बोल्न बाध्य भएका छौँ । डा. निकोलस भुसाल व्यक्ति मात्रै नभएर एउटा सोचको रूपमा विकशित हुन थालेपछि काठमाडौंदेखि नै ग्राण्ड डिजाइन बनाएर विभिन्न योजनामा हामीलाई पाखा लगाउने कुचेष्टा गरिरहेको हामीलाई जानकारी नै थियो । तर पनि हामीले हाम्रा एजेण्डा, सोच र परिवर्तनका मुद्दालाई लिएर बहस गरिरहेका थियौँ । कसैको विरुद्ध बोल्नुपर्ला भन्ने कल्पना समेत गरेका थिएनौं ।’

त्यतिमात्र होइन डा. भुसालको विज्ञप्तिमा उनलाई कमजोर पार्न र सिध्याउन काठमाडौंदेखि बुटवलसम्म कोठे बैठकहरू भैरहेको बताएका छन् । यसबारे टिमलाई पहिलेदेखि जानकारी भएको उनको दाबी छ ।

त्यस्तै उनले सर्वोच्चबाट केहिदिनमै फैसला आउन लागेको भन्दै समर्थक र सहयात्रीहरूलाई विचलित नहुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हामी न्यायको लडाई लडिरहेको बेला अभियानलाई कमजोर पार्नेगरी अभियानमा जोडिएका विभिन्न व्यक्तिसँग छलफल गर्ने, बैठक गर्ने र समर्थन गर्न आग्रह गर्ने गरेको पाइएकोले यस्ता खालका कुनैपनि छलफलमा हाम्रो सरोकार नभएको र कसैलाई समर्थन नगरिएको जानकारी गराउन चाहन्छौँ । देश र जनताको सपना पूरा गर्ने लक्ष्य भएकाले यस्ता सानातिना कुराले हामी कुनैपनि हालतमा आत्मसमर्पण गर्ने छैनौँ । यो एउटा अभियान भएकाले सामुहिक रूपमा छलफल गरेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने छौँ ।

केहिदिनमै सर्वोच्चबाट हाम्रो फैसला हुनेछ । न्यायको मन्दिरबाट सत्यको पक्षमा फैसला आउनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ । त्यतिन्जेलका लागि सहयात्री, समर्थक र आम मतदातालाई विचलित नहुन आग्रह गर्न चाहन्छौँ ।’

यस्तो छ विज्ञप्ति

प्रेस विज्ञप्ति

सबैमा नमस्कार

         वर्षौंदेखि राजनीतिको नाममा गरिएका कुकर्म, राज्यको सम्पत्ति दोहन, अन्याय, अत्याचार र सेटिङको विरुद्धमा आवाज उठाउँदै आएको ममाथि नै राजनीति रुप धारण गरेकाहरूबाट शक्ति र पहुँचको बलमा अन्याय गरिएको सर्वविदितै छ । रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गरेलगत्तै बाट मलाई रोक्ने अनेक प्रयास भएकै थिए । स्थानीय निर्वाचनमा मतदाताले देखाएको युवाप्रतिको माया र सद्भावबाट अत्तालिएका केहि शक्तिले हामी र हाम्रो अभियान नै तुहाउने प्रयास गरेपछि बोल्न बाध्य भएका छौँ । डा. निकोलस भुसाल व्यक्ति मात्रै नभएर एउटा सोचको रूपमा विकशित हुन थालेपछि काठमाडौंदेखि नै ग्राण्ड डिजाइन बनाएर विभिन्न योजनामा हामीलाई पाखा लगाउने कुचेष्टा गरिरहेको हामीलाई जानकारी नै थियो । तर पनि हामीले हाम्रा एजेण्डा, सोच र परिवर्तनका मुद्दालाई लिएर बहस गरिरहेका थियौँ । कसैको विरुद्ध बोल्नुपर्ला भन्ने कल्पना समेत गरेका थिएनौं ।

तर हामी र बुलन्द हुँदैगरेको युवाको सोंचलाई सिध्याउन राज्य नै प्रयोग गरेर लागेपछि बोल्न बाध्य बनेका छौँ । राजनीतिलाई व्यापार बनाएर खाईखेलेकाहरूले हाम्रोविरुद्ध गरेका षड्यन्त्र बिस्तारै खुल्दै जाने नै छन् । निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म गरिएका सेटिङपछि हामीलाई कमजोर बनाउने अन्तिम प्रयास भैरहेको छ । तर पनि हामीले विचलित नभई रुपन्देहीबासी र आम जनताले देखेको परिवर्तनको सपना साकार पार्ने सत्मार्ग किमार्थ छोड्ने छैनौँ । भनिन्छ नि ‘भकुण्डोलाई जति दबायो त्यति माथि उफ्रिन सक्छ’ हामी पनि त्यसरी नै बुलान्दित हुनेछौँ । हज्जारौंसँग प्रतिस्पर्धा गरेर पाएको छात्रवृतिमाथि जसरी राजनीतिक कुचेष्टा गरिँदैछ त्यसको पनि बिस्तारै पोल खुल्नेछ । न्यायको मन्दिर सर्वोच्च अदालतमा हाम्रो मुद्दा चलिरहेको र केहि दिनमा फैसला आउने तयारीमा छ । तर पछिल्ला घटनाक्रमहरू देख्दा  न्यायालयभित्र पनि सेटिङको गन्ध भने आइरहेको छ । हामीविरुद्ध प्रयोग गरिएका कतिपय पात्रहरूले मुख खोलिसकेका छन् । हामीलाई कमजोर पार्न काठमाडौंदेखि बुटवलसम्म बसेका कोठे बैठकहरूको बारेमा पनि हामीहरू जानकार छौँ । हामी सत्तामा आएको खण्डमा वर्षौंदेखि गरिएका अनियमितता, कालो राजनीति र कुकर्मको पोल खुल्ने डरले राजनीतिक भ्रुण हत्याको प्रयास भैरहेको पनि जानकारी गराउन चाहन्छौ । देश परिवर्तन गर्ने गर्विलो लक्ष्य बोकेर हिंड्न खोज्ने खुट्टा काट्न खोज्नेहरूलाई एकदिन जनताले नै देखाउनेछन् ।

यस्तो परिस्थितिमा पनि राजनीतिको दुर्गन्ध सफा गर्न सहयात्री बनेर खटिने तमाम सहयात्रीहरूलाई कत्ति पनि विचलित नहुन आग्रह गर्न चाहन्छौँ । देश बदल्ने अभिभारा युवाहरूको काँधमा आइसकेको अवस्थामा युवामाथि गरिएका विभिन्न प्रपन्च र षड्यन्त्रविरुद्ध डटेर लाग्न पनि आह्वान गर्न चाहन्छौँ । आज हामीले खुट्टा कमाएको खण्डमा युगौँ युगसम्म यिनीहरूले नै कालो राजनीति गरिरहने र जनताले देखेका सपना पुरा नहुने भएकाले हामी अझै शसक्त बनेर लाग्न जरुरी छ ।

साथै….

हामी न्यायको लडाई लडिरहेको बेला अभियानलाई कमजोर पार्नेगरी अभियानमा जोडिएका विभिन्न व्यक्तिसँग छलफल गर्ने, बैठक गर्ने र समर्थन गर्न आग्रह गर्ने गरेको पाइएकोले यस्ता खालका कुनैपनि छलफलमा हाम्रो सरोकार नभएको र कसैलाई समर्थन नगरिएको जानकारी गराउन चाहन्छौँ । देश र जनताको सपना पूरा गर्ने लक्ष्य भएकाले यस्ता सानातिना कुराले हामी कुनैपनि हालतमा आत्मसमर्पण गर्ने छैनौँ । यो एउटा अभियान भएकाले सामुहिक रूपमा छलफल गरेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने छौँ ।

केहिदिनमै सर्वोच्चबाट हाम्रो फैसला हुनेछ । न्यायको मन्दिरबाट सत्यको पक्षमा फैसला आउनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ । त्यतिन्जेलका लागि सहयात्री, समर्थक र आम मतदातालाई विचलित नहुन आग्रह गर्न चाहन्छौँ ।

डा. कमल भुसाल (निकोलस)

प्रतिनिधि सभा सदस्य उम्मेदवार, रुपन्देही २