डा. केसीमाथिको ज्यादती: सर्वत्र विरोध, कसले के भने ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डा. केसीमाथिको ज्यादती: सर्वत्र विरोध, कसले के भने ?



काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीमाथि दुर्व्यवहारको गरिएको भिडियो भाइरल भैरहँदा सरकारको यस्तो कदमको सर्वत्र विरोध भयो । यसअघिको अनसनमा पनि उनलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको थियो ।

सरकारको यस्तो कदमको विरोधमा सर्वसाधारण, दलका नेता, बुद्धिजीवीलगायत खनिएका छन् । लगातार विवादमा तानिएको सरकारलाई यो घटनाले झनै आलोचित बनाएको छ । सत्तारुढ नेकपाभित्र नै यो घटनाले ठुलो विरोध उत्पन्न गरेको छ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारको खरो विरोध गरेका छन् ।

‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो ? डा. केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक !,’ जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा.केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं !’

त्यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले डा. गोविन्द केसीमाथि गरेको दुर्व्यवहार क्रुरताको पराकाष्टा भएकाे बताएका छन्।

नेता थापाले डा. केसीलाई दुर्व्यवहार गरेर सरकारले आफ्नो पतनको बाटो आफै खनेको बताएका हुन्। सत्याग्रहीलाई इच्छा विपरित छुन पनि नपाइने भएपनि सरकारबाट डा. केसीमाथि भएको अपमानजनक व्यवहार अक्षम्य भएको उनले बताए।

उनले मंगलबार साँझ ट्वीटरमा लेखेका छन्, सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्टा! सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाइँदैन। तर अनसनरत डा.गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनिय र अक्षम्य छ। क्रुर तानशाहले मात्र यस्तो निन्दनिय कृत्य गर्न सक्छ। सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ।’

त्यस्तै सत्तारुढ नेकपाकै युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का इन्चार्ज अनिल शर्माले पनि यो घटनाको खरो बिरोध गरेका छन् । उनले कसैको आन्दोलन गर्ने अधिकार माथि भने हस्तक्षेप गर्नुनहुने भन्दै जनतासंग जोडिएका केसीका माग पुरा गर्नुपर्ने बताएका छन् ।

शर्माले लेखेका छन्, ‘सत्याग्रही डाक्टर गोविन्द के सीका माग सबै नेपालीको भावना जोडिएका माग हुन् । यी माग अहिलेको परिप्रेक्ष्यमा के कसरी र कति पुरा गर्न सकिन्छ प्रष्ट शब्दमा भनिदिउ र तत्काल पुरा गर्न नसक्ने जति पनि इमानदारी पूर्वक भन्ने आँट गरौ । तर उहाँको आन्दोलन गर्ने अधिकार माथि भने हस्तक्षेप नगरौ । सरकार र सम्बन्धित निकायलाई मेरो यो सुझाव छ । न अतिरञ्जित न न्युनिकरण दुबै प्रवृत्ति हानिकारक छ ।’

जुम्लामा अनसन बसिरहेका डा. केसी मंगलबार काठमाडौँ आइपुगेका थिए । काठमाडौँ आएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनसनलाई निरन्तरता दिने भनेका उनलाई प्रहरीले लछारपछार गर्दै जबरजस्ती ट्रमा सेन्टर लगेको थियो।

ट्रमा सेन्टरको आकस्मिक कक्षमा केही घण्टा बिताएपछि उनले टिचिङ अस्पताल जाने इच्छा व्यक्त गरेपछि सुरक्षाकर्मीले उनलाई रोकेका थिएनन्।