कथा : फ्रि़डम टु डाइ « Himal Post | Online News Revolution
Logo

कथा : फ्रि़डम टु डाइ



– डा. निर्मल ज्ञवाली

“नमस्कार! म पत्रकार खुसी।” मैले हात जोडेर नमस्ते गर्दै भने “हिजो हजुरलाई अन्तर्वार्ताको लागि फोन पनि गरेकी थिएँ नि !”

“नमस्ते! हजुर, मलाई याद आयो।” उसले मुस्कुराउँदै अगाडिको कुर्ची देखाउँदै भन्यो “बस्नोस् न।”

एक जना अधबैँसे मानिस मेरो अगाडि थियो। सायद उ त्यो कुर्चीमा नबसेको भए मैले चिन्ने थिइन होला। सेतो सिल्क सर्ट, कालो पाइन्ट, अलिकति अगाडि झरेको सिल्की कपाल, सर्लक्क परेको जिउ अनि हँसिलो अनुहार। मैले कल्पना गरेभन्दा पूर्ण रूपमा फरक।

जब मैले संस्थाको नाम सुने तब मेरो मनमा आएको थियो यसको संस्थापक पक्कै पनि बूढो, जिन्दगी देखि हारेको, फ्रस्ट्रेट, कुनै झ्याउ लाग्दो मान्छे होला। तर ऊ मेरो सोचविपरीत प्रसन्न मुद्रामा एक ह्यान्डसम मानिस अगाडि देखिएको थियो, आफ्नै आँखालाई विश्वास नलाग्‍ने गरी।

अफिस पनि सोचे भन्दा फरक। सोचेकी थिएँ मृत्यु सूचक कालो रंङले पोतिएका भित्ता र लथालिङ्ग भएका कोठाहरू होलान्। जसरी उनीहरू मृत्युका लागि काम गर्छन् त्यसैगरी अफिस पनि मृत अवस्थामा होला भन्ने मेरो अनुमान थियो। तर त्यो त पूर्ण रूपमा जीवन्त थियो।

“मेरो कल्पनाभन्दा यहाँको वातावारण फरक लाग्यो।” मैले एकैछिनको मौनतालाई चिर्दै कुरा सुरुगर्ने विचारले भने।

उ हाँस्यो।

“प्राय मान्छेहरू यहाँ आउनुअघि यस्तै सोच्छन्।” अलिकति घमण्ड मिश्रित भावले उसले भन्यो।

सायद यो संस्था चलाउनुमा उसले आफूलाई अत्यन्त गर्व गर्छ।

“तपाईँको संस्था ‘फ्रिडम टु डाइ’ को बारेमा केही भनिदिनुहुन्छ कि?” मैले कपि र कलम ठीक पार्दै उतिर फर्केर भनेँ।

“हामी मान्छेहरूलाई मर्न प्रोत्साहन गर्छौँ।” उसले कुर्ची अलिकति अगाडि सार्दै भन्यो।

कत्रो आत्मबल उसको? यसरी बोल्दै थियो लाग्छ कि ऊ मान्छेहरूलाई चन्द्रमामा बसाईँसराइ गराउँदै छ।

“भन्नाले?” मैले अस्पष्टोक्ति व्यक्त गरेँ।

“कफी पिउनुहुन्छ?” उसले मेरो प्रश्नलाई बेवास्ता गर्दै भन्यो।

“भैगो, म कफी पर्सन होइन।”

“ठीकै छ” ऊ फेरि गम्भीर मुद्रामा फर्कँदै भन्यो “हामी कहाँ थियौँ रे?”

“अँ, हाम्रो संस्थाको बारेमा …… त्यो त स्पष्टै छ। यसको मुख्य उद्देश्य नै मान्छेले मृत्यु वरणलाई स्वतन्त्र रूपले छान्न पाउनु पर्छ भन्ने हो। जसरी खाने, लाउने, पढ्ने, काम गर्ने आदि कुराहरूमा मान्छेले स्वतन्त्र भएर आफूखुसी निर्णय गर्न पाउँछ। त्यसरी नै उसले मृत्युको समय र तरिका पनि छान्न पाउनु पर्छ।”

“यो त अमानवीय भएन र?” मैले आश्चर्य व्यक्त गरेँ “यो त सिधै अपराध भो नि होइन र?”

“हो! तपाईँले भनेको ठीक हो। यसलाई कानुनीले रूपले हेर्ने हो भने पनि अहिले सम्म अपराध नै भनिन्छ। र अहिले चलनचल्तीका आत्महत्याहरू अमानवीय पनि छन्। जब मान्छेले कुनै काम लुकेर गर्छ त्यो अपराध ठहरिन्छ र त्यसको प्रक्रिया पनि अमानवीय हुन्छ। हामी त्यसैको बिरोधमा छौँ। मान्छेले अब यो लुकेर गर्न नपरोस् र अमानवीय तरिकाले पनि गर्न नपरोस् ! हामी त्यही चाहन्छौँ। त्यसैले हामी यसलाई वैधानिक बनाउने कोसिस गर्दैछौँ।”

“म त तपाईँको कुरामा अझै स्पष्ट हुन सकिन नि। वास्तवमा तपाईँ किन मान्छेले मर्न पाउनुपर्छ भन्नुहुन्छ?”

“हेर्नोस्, यो संसार यति भ्रष्ट हुदै गएको छ कि जताततै समस्या नै समस्या छन्। मान्छेहरूले धेरै दु:ख पाइरहेका छन्, शहर होस् या गाउँ मान्छे पीडित भएका छन्। जीवन अत्यन्त कष्टकर हुँदै गैरहेको छ। यस्तो अवस्थामा मानिस मुक्ति चाहन्छ। यी सब समस्या, गन्जागोलबाट पर बस्न चाहन्छ। हामी ति मानिसहरूलाई मुक्तिको लागि मर्न प्रोत्साहन गर्दैछौँ। के यो मान्छेको स्वतन्त्रता होइन र?”

“त्यसरी त मान्छे गैरजिम्मेवार हुँदैन र?”

“जिम्मेवारी केलाई भन्नुहुन्छ तपाईँ ? तपाईँ सानो घरभित्र हुनुहुन्छ। बाहिर निस्कनुहोस, संसार ठूलो छ। भावुक भएर मात्रै हुँदैन। अनि यो संसारको जनसङ्ख्या पनि त बढेको बढ्यै छ। यसलाई पनि त कन्ट्रोल गर्नु पऱ्यो।”

“जनसङ्ख्या कन्ट्रोल गर्ने नाममा मानवको हत्या नै गर्नु त भएन नि ?”

“हेर्नोस् ! तपाईँ गलत बुझ्दै हुनुहुन्छ। हामीले यहाँ हत्या गर्ने भन्न खोजेका छैनौ। हामी त मानव स्वतन्त्रताको कुरा गर्दैछौँ। हामी कसैलाई दबाव दिन चाँहदैनौ। बरु समस्यामा परेकाहरूलाई हामी प्रोत्साहन गर्छौँ। काउन्सेलिङ गर्छौँ। र उनीहरूलाई अगाडिका बाटाहरू देखाउँछौँ। जसले गर्दा उसले स्वतन्त्र रूपले आफ्नो इच्छाअनुसारको बाटो छान्न पाओस्।”

“यदि कोही मान्छेले मर्ने निणर्य गऱ्यो भने तपाईँ के गर्नु हुन्छ ?”

“हेर्नोस् ! हाम्रो संस्थालाई यो सम्पूर्ण प्रक्रियाको व्यवस्थापन गर्न त्यति सजिलो त छैन। तर पनि हामी हाम्रा ग्राहकहरूलाई पूर्ण रूपमा सन्तुष्टि दिने कोसिस गर्छौँ।”

“कसरी?”

“अहिलेसम्म यो हाम्रो काम गैर-कानुनी छ। त्यसैका लागि त हामी लड्दैछौँ। गैरकानुनी हुदाँहुँदै पनि हामीले अत्यन्त सावधानीका साथ इच्छुक ग्राहकहरूको राम्रोसँग सेवा गर्दै आएका छौँ। र प्राय सबै सन्तुष्ट नै छन्। कसैको कुनै कम्प्लेन दर्ता भएको छैन। त्यो मृत नगरको डाँडामा हाम्रो अड्डा छ। जहाँ हामीले सार्वजनिक कार्यक्रम गरेर मान्छेलाई स्वतन्त्र रूपमा मर्ने प्रावधान मिलाउछौँ।”

“मृत नगर?”

“हो तपाईँलाई नाम नयाँ लाग्यो होला। यो हाम्रो संस्थाले नै राखेको नाम हो। यसको कुनै निश्चित स्थान हुँदैन। यदि निश्चित स्थान मै हामीले यो कार्यक्रम गऱ्यौँ भने त सरकारले सिधै हस्तक्षेप गरिहाल्छ नि। त्यो स्थानको जानकारी हामीले अघिलो दिन हाम्रा संस्थाका सम्पूर्ण सदस्य र मृतक स्वयम् र उसका परिवार, आफन्तहरूलाई म्यासेज द्वारा जानकारी गराउछौँ। तर यो कुरा ढुक्क हुनुहोस् कि त्यो कार्यक्रम स्थल प्राकृतिक र स्वच्छन्द हुन्छ। त्यस कुरामा हामी सधै सचेत छौँ र सक्दो उत्कृष्ट सेवा दिने कोसिस गर्छौं।”

“अनि यस कार्यक्रमलाई प्राइभेट नगरेर सार्वजनिक गर्नु पर्ने आवश्यकता किन?”

“तपाईँले अझै हाम्रो उद्देश्य बुझ्नु भएनछ। हामी त्यो आपराधिक तरिकाले लुकेर गरिने आत्महत्यालाई वैधानिक र स्वतन्त्र बनाउने कोसिस गर्दछौँ। हाम्रो उद्देश्य नै मर्ने मान्छेलाई अपराध गर्दैछु भने फिल नहोस् र स्वतन्त्ररूपले खुसीसाथ मर्न पाओस् भन्ने हो। र अर्को कुरा हामी सार्वजनिक रूपमा मान्छेहरूको भेला गरेर उनीहरूलाई मृत्युवरण गर्नलाई प्रोत्साहन गर्दैछौँ। यो कुरा भन्दैछौँ कि मृत्यु अपराध होइन, विशुद्ध प्राकृतिक कुरा हो र हरेकले यो छान्न पाउने अधिकार हुनुपर्छ।”

“मृत्यु कसरी प्राकृतिक हुन सक्छ?”

“हेर्नोस् ! यो संसारमा मानवजातिका लागि एउटै कुरा सत्य छ त्यो हो मृत्यु। जन्मको कुनै निश्चिन्तता छैन। गाँस, बास कपासको कुनै ठेगान छैन। कुनै कुरा यो संसारमा नित्य छ भने त्यो हो मृत्यु। मानिसमात्र होइन कि हरेक प्राणी यो संसारमा आइसकेपछि मर्नैपर्छ र त्यसको टिकट हामी सबैले लिएर आएका हुन्छौँ। कुरा ढिलोचाँडो को न हो?”
“आफैँ काल आएर हुने मृत्युलाई पो प्राकृतिक मृत्यु भनिन्छ, होइन र ?”

“तपाईँको सोच सही हो ! तर यो पुरानो सोच हो। मान्छे जति बूढो हुँदै जान्छ यति क्षीण हुन्छ कि ऊ मृत्युका लागि पनि अक्षम हुन्छ। ऊ चाहेर पनि मर्न सक्दैन। जिउनु त उसको वस भन्दा पर भइसकेको हुन्छ तर मृत्यु पनि उसको अधीनबाहिर हुन जान्छ। त्यो मान्छेको अत्यन्त पीडादायी समय हो। हामी मान्छेलाई त्यो स्टेज सम्म पुग्‍नुभन्दा अघि नै उसले सजिलो बाटो रोजोस भनेर प्रोत्साहन गर्छौँ।”

“मृत्युका लागि पनि अक्षम? मैले अलि बुझिनँ नि !”

“हेर्नोस् तपाईँले समाचारमा पनि सुन्नु भएको होला। क्यान्सर, प्यारालाईसिस लागेको मान्छेले हस्पिटलको शैय्याबाट सरकारसँग मृत्युको लागि भीख मागेको। आफ्नो मृत्युका लागि सरकारसँग भिख माग्‍नुपर्ने अवस्था कहाँबाट आयो? त्यही नै हो मर्नका लागि अक्षमता भनेको। त्यो परिस्थितिमा मान्छे मर्नका लागि पनि अक्षम रहन्छ। त्यसैले हामी यस विरूद्ध लडाइँ लड्दैछौँ र मान्छेलाई पनि आफ्नै मृत्युका लागि सचेत गराउँदैछौँ !”

“तपाईँहरूको मृत्युको प्रोसेस कस्तो हुन्छ ? के पूर्ण रूपमा प्राकृतिक नै हुन्छ ?”

“हेर्नोस् ! ग्राहकहरूको सन्तुष्टि नै हाम्रो प्रमुख उद्देश्य हो। हामी उनीहरूलाई सक्दो सहज मृत्यु दिन्छौँ। अहिलेसम्म हामीले भेटाएकोमा पोटासियम साइनाइड नै सबै भन्दा छिटो र प्रभावकारी बाटो हो। तर हामी योभन्दा पनि अझ प्रभावकारी औषधिका लागि रिसर्च गर्दैछौँ। त्यसका लागि हामीलाई सरकारको सहयोग चाहिएको छ।”

“यो त मान्छेले घरमै गर्न पनि त सक्छ नि। तपाईँको संस्थासम्म किन आउनु पऱ्यो?” “तपाईँले सही भन्नु भो। हाम्रो मुख्य बिशेषता भनेको मृत्युको प्रोसेस पनि हो। सबै मान्छेले पोटासियम साइनाइड सजिलै चाहेका बेला प्राप्त गर्न सक्दैन। अनि मान्छेले अनेकौ कष्टकर उपाय अपनाउँछ। सिलिङमा झुन्डिने, चक्कुले नशा काट्ने, मुसा मार्ने विष खाने, छतबाट हाम फाल्ने, नदीमा डुब्‍ने, ट्रेनको लिकमा सुत्‍ने, आफैँलाई आगो लगाउने आदि। यी सब कष्टकर प्रोसेस हुन्। जुन अमानवीय हो। हामी यसको अन्त्य गर्न चाहन्छौँ। र धेरै जसो मान्छेले मृत्युलाई सजिलै स्वीकार्न नसक्नु पनि यसको डरलाग्दो प्रोसेसले हो। यदि मान्छेले अनान्ददायी मृत्युको बाटो रोज्‍न पाउँथ्यो भने अहिले संसारमा धेरै मान्छेले गरिसक्थे। यत्रो जनसङ्ख्या, यो कम्पिटिसन, सङ्घर्ष सबै कुरा कम हुन्थ्यो र जीवितहरूको जीवन स्तर पनि धेरै माथि हुन्थ्यो।”

“अर्को कुरा बिपीले जेल जर्नलमा भने जस्तै संसारमा जाँगरको कमीले धेरै आत्महत्याहरू रोकिएका छन्। मान्छे जब सबै कुरा बाट बिरक्तिन्छ नि ऊसँग आत्महत्या गर्ने पनि जाँगर बाँकी रहँदैन। र अघि मैले उदाहरण दिएजस्तो मृत्यका लागि पनि अक्षम मान्छेहरूका लागि पनि त कुनै उपाय हुनुपऱ्यो नि। उनीहरूको पनि अधिकारको कुरा आउँछ।”

“अनि तपाईँको संस्था रातारात प्रख्यात हुदै छ रे ? त्यसका बारेमा के भन्नुहुन्छ?” “हो हामीले यो बर्ष राम्रो उपलब्धि गरेका छौँ। अहिले विश्वका २० वटा देशहरूमा मान्छेहरूले हाम्रै नाममा संस्था खोलिसकेका छन्। र अन्य धेरै देशहरूबाट पनि इमेलहरू आइरहेका छन्। हामीले यसलाई फ्रेन्चाइजको रूपमा अघि बढाउने पनि सोच बनाएका छौँ। जसले हाम्रो संस्थाको आर्थिक स्थिति पनि धान्न सजिलो हुन्छ र ग्राहकलाई अझ धेरै गुणस्तरीय सेवा पनि प्रदान गर्न सक्नेछौँ।”

उसका कुराहरू सुनिरहँदा लाग्छ कि यो कुनै मानवअधिकारका लागि काम गरिरहेको ठूलै संस्था हो। उसको काम र उद्देश्यहरू प्रति पूर्ण रूपमा भने विश्वस्त हुन नसके पनि म भने उसबाट प्रभावित भैसकेकी छु।

“खुसी लाग्यो। तपाईँका महान् विचारहरू सुन्न पाउँदा।” मैले मुस्कुराउँदै भने “आजको अन्तर्वार्ताबाट म व्यक्तिगत रूपमा पनि तपाईँ, तपाईँको सोच र तपाईँको कामबाट प्रभावित भएँ।”

“मलाई मेरो विचारहरू राख्‍न दिएर म र मेरो संस्थाको कामलाई प्रचारप्रसार गर्न सहयोग गर्नुभएकोमा तपाईँलाई पनि धेरै धन्यबाद।”

“फेरि भेटौँला।”

म हात जोडेर कोठाबाहिर निस्कन्छु।

अझै पनि म उसकै कुरामा अल्झिरहेछु। मनले सजिलै स्वीकार्न नसके पनि ऊ सही नै छ, उसका विचारहरू जायज नै छन्।

एकैछिन जहीँको तहीँ अडिन्छु। के कुरा खड्किए जस्तो लाग्छ। अनि एक्कासी अन्तरद्वन्दी विचार सल्बलाउदै आउँछ – के म पनि मुक्तिको बाटो रोज्‍न सक्दिन र? म पुन उसको कोठामा फर्कन्छु। मलाई थाहा छैन म किन फर्कँदै छु।

“फेरि आउनु भो त ?” उसले मतिर हेर्दै भन्छ “आउनुस् आउनुस् ! केही बिर्सनु भो कि ?” ऊ त्यही नै कुर्चीमा त्यसरी नै बसेको छ।

म एकै छिन मौन हुन्छु। यस्तो लाग्छ कि यो कोठामा म पहिलो पटक प्रवेश गर्दैछु। र उसलाई पनि म पहिलो पटक देख्दैछु।

“तपाईँको अबको कार्यक्रम कहिले छ ?” म केही डराएको भावमा ऊतिर नहेरी गरि प्रश्न गर्छु। लाग्छ कि मलाई ऊसँग आँखा जुधाउने कुनै हिम्मत छैन। के म उसबाट सम्मोहित भएकी छु?  “आउदो शनिवार ! दश जना दर्ता भएका छन्।” उसले फाइल पल्टाउँदै भन्छ।

“अबको दुई महिना पछिको लागि नाम दर्ता गर्न मिल्छ?” मैले आँखा भुईँतिर झुकाएर भन्छु।

“हुन्छ, २२ तारिकमा दुइटा सिट खाली छ।” उसले अर्को फाइल निकालेर हेर्दै भन्छ “कसको लागि ?”

म भावुक हुन्छ। बोल्न खोज्छु तर शब्द निस्कँदैनन्।

“मेरै लागि” म त्रसित मुद्रामा भन्छु “खुसी सापकोटा ।”

के म अपराध गर्दै छु ? किन म यति त्रसित छु ? मलाई लाग्दै छ म डरले पुरै राती भएकी छु।

“बधाई छ ! स्वतन्त्र निर्णयको लागि!” ऊ कुर्चीबाट उठेर मतिर आउँछ र हात अघि बढाउँदै भन्छ।

म ऊतर्फ हात अघि बढाउँछु। ओहो कस्तो अचम्म ! उसको स्पर्शले ममा छुट्टै उर्जा पैदा गर्छ। उसमा जादु छ ! अकल्पनीय जादु!

“अनि किन दुई महिना पछि?”

“म जानु अघि संसार घुम्‍न चाहन्छु !” म अलिकति आफैँदेखि प्रशन्न भएको मुद्रामा भन्छु। के उसको स्पर्शपछि मेरो निर्णयमा ऊर्जा थपिएको हो?

“मर्नुअघि संसार देख्‍ने र बुझ्ने रहर कसको हुँदैन र?” म थप्छु।

उ हाँस्छ।

“एकदम सहि विचार” उ मुस्कुराउँदै मतर्फ फर्केर भन्छ “मैले पनि छ महिना पछिको लागि दर्ता गरेको छु।”