सरकारलाई डा. पाण्डेको पत्र: 'स्वास्थ्यकर्मी भाग्ने स्थिति नआओस' - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सरकारलाई डा. पाण्डेको पत्र: ‘स्वास्थ्यकर्मी भाग्ने स्थिति नआओस’



काठमाडौं- विश्वभर आतंक मच्चाइरहेको कोरोना सङ्क्रमणले जनतामा त्रास फैलिएको छ। संसारका अधिकांश देशमा यसको ठुलो प्रभाव देखिएको छ ।

नेपालमा भने अहिलेसम्म देखिएको छैन । तर पनि नेपालमा फैलिन नदिन सरोकारवालाहरूले सरकारले गर्नुपर्ने तयारीका बारे सुझाव दिइरहेका छन् ।

यस्तैमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सरकारलाई पत्र लेख्दै सम्भावित संक्रमणबाट जोगिनका लागि सरकारले गर्नुपर्ने तयारीबारे ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ डा. पाण्डेले लेखेको सुझाव-पत्र

प्रिय सरकार,

-कोरोना संक्रमित देशहरुका प्लेन चलिरहेका छन्, मान्छेहरु निर्बाध आइरहेका छन् । कोरोना संक्रमणको डाटा पर्खेर नबसौं । सलाइका काँटी यत्रतत्र छरिएका हुन सक्छन । आगोलाई नपर्खौं । एक महिना आकस्मिक सेवाका बाहेक अन्य उडान बन्द गरौँ ।

-भूकम्पको समयमा जुन स्तरको त्रास थियो, अहिले त्यो भन्दा धेरै त्रास छ । त्रासलाई न्यूनीकरण गरौँ ।

-चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षा गाउन, चस्मा तथा मास्क बेच्ने ब्यबस्था गरौँ । कोरोना संक्रमण फैलियो भने स्वास्थ्यकर्मी भाग्ने स्थिति नआओस ।

-भीडभाडलाई बन्द गरौँ । यो एक महिना सबै भीडभाड बन्द गर्यौं भने हामी सुरक्षित हुनेछौं । भीडभाड बन्द ऐच्छिक हैन अनिबार्य गरौँ । कहाँ कहाँ भीडभाड हुन्छ, सरकारलाई अवगत नै छ ।

-मास्क तथा स्यानिटाइजर प्रत्येक जिल्लामा तथा स्थानीय निकायमा बनाउनको लागि तालिम प्रदान गरौँ ।

-नाइट क्लब लगायत बिदेशीको घनत्व हुने ठाउँ पहिचान गरेर १ महिना बन्द गरौँ । पर्यटक सुरक्षित राख्न ढिलो नगरौं ।

-रोग पहिचानको जिम्मा विकेन्द्रित गरौँ । यथेष्ट किटको ब्यबस्था गरौँ ।

-१/२ महिना बन्द हुँदा काम गरेर खाने न्यून आय भएका व्यक्तिलाई सामाजिक सुरक्षा अन्तर्गत राहत दिने काम गरौँ । समाजबाद उन्मुख संबिधान र सर्वहाराको सरकार भएको अनुभूत दिलाऔं ।