बालुवाटार काण्ड भन्दै प्रधानमन्त्रीले ड्रागनको कथा सुनाएपछि... - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बालुवाटार काण्ड भन्दै प्रधानमन्त्रीले ड्रागनको कथा सुनाएपछि…



काठमाडौं- बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना सम्बन्धमा वर्तमान सरकारले छानविन गरी कारवाही अघि बढाएको तर, त्यसमा प्रधानमन्त्रीकै नियतमा प्रश्न उठाएको भन्दै प्रधानमन्त्री केपी ओलीले संसदमा गुनासो राखे।

लुटिएको सरकारी जग्गा फिर्ता ल्याउन पहल गर्ने प्रधानमन्त्रीलाई नै बालुवाटार काण्डको ‘नाइके’ झैं प्रस्तुत गरिएको भन्दै दुःखेसो राखे।

सम्बोधनमा प्रधानमन्त्रीले भने, “बालुवाटारस्थित बहुचर्चित ललिता निवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाँजीविरुद्ध मैले नै एउटा छानविन समिति बनाएँ । समिति बन्नुअघि र त्यसको प्रतिवेदन सरकारले सार्वजनिक गर्नुअघि सर्वत्र शान्ति देखिन्थ्यो। त्यसपछिका प्रतिक्रिया रमाइला देखिए/सुनिए।

ललिता निवास र प्रधानमन्त्रीको सरकारी निवास दुबै बालुवाटारमै भएकाले प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भने जस्तो भान पर्नेगरी ‘बालुवाटार काण्ड’लाई प्रचार आक्रमणको अस्त्र बनाइयो। लुटिएको सरकारी जग्गा फिर्ता ल्याउन पहल गर्ने म स्वयंलाई नै काण्डको ‘नाइके’ झैं प्रस्तुत गरिएको पनि पाइयो।”

बालुवाटार काण्डलाई जोड्दै संसदमा एउटा चिनियाँ लोक कथा सुनाए। उनले भने, “एकजना युवा ‘ड्रागन’ खुब मन पराउँथ्यो। उसले आफ्नाे सबै सरसामन, लुगाफाटा र यहाँसम्म कि बिछ्यौनाको तन्ना र तकियामा पनि ड्रागनकै चित्र कुध्याे।

आफ्नाे भक्तको प्रेमबाट प्रभावित भएर एकरात ड्रागन उसलाई दर्शन दिन आएछ। साक्षात् ड्रागन, चित्रको ड्रागनभन्दा अजङ्गको, डरलाग्दो थियो। भक्तको सातो उड्यो र उसको भागाभाग भयो।”

प्रधानमन्त्रीले संसदमा भने, “आयोगले छानविन गरुञ्जेल केही मानिसले अधीरतापूर्वक सरकारलाई उत्तेजित पार्नेगरी ‘खोई त कारबाही’ भन्दै प्रश्न गरिरहे।

यो शृङ्खला आरोपितहरुविरुद्ध मुद्दा दायर हुने दिनसम्मै चलिरह्यो। छानविनको समयमा होस् वा त्यसपछि सरकार शान्त रह्यो। र, सरोकारवाला निकायद्वारा विधिपूर्वक गरिने काममा सहयोगी बन्यो।”

प्रधानमन्त्रीले कथाको सार यसरी सुनाए, “आरोपितहरुविरुद्ध जब मुद्दा दायर भयो– देखिएका र सुनिएका प्रतिक्रिया लगभग ड्रागनप्रेमी युवाको जस्तै रह्यो । यस सन्दर्भमा म एउटा गीत– ‘देखाउनेले दाग देखायो किन रुवाबासी’ स्मरण गर्न चाहन्छु।”

उनले भने, “मेरो भनाई यत्ति छ– भद्रगोल र प्रणालीबिहीन अवस्थामा लड्खडाई रहेको मुलुकलाई ट्रयाकमा ल्याउन हामी सबै संयम र सहयोगी बनौं। आरोपीहरु न्यायालयले फैसला नगरेसम्म अपराधी हुन्नन्।”