दुई महिना बित्दा पनि शव आएन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दुई महिना बित्दा पनि शव आएन



राजविराज, माघ १९ गते । वैदेशिक रोजगारीका लागि सप्तरीबाट साउदी अरब गएका एक व्यक्तिको मृत्यु भएको दुई महिना भएपनि शव नेपाल आउन सकेको छैन । सप्तरीको वभनगामाकटृी गाविस–३ तोपा निवासी बहादुर मण्डलको मृत्यु भएको आज दुई महिना भइसक्दा पनि अहिलेसम्म शव घर नआउँदा परिवारमा रुवावासी भएको पारिवारिक स्रोतले जनाएको छ ।

फुसको छानो भएको घरलाई पक्की बनाउने तथा छोराछोरीको भविष्य राम्रो बनाउने र शिक्षादीक्षा दिने उद्देश्यले साउदी पुगेका मण्डलको दुई महिना अगाडि पेट दुःखेपछि अस्पताल भर्ना गरेपनि उनको मृत्यु भएको थियो ।

काठमाडौँस्थित प्रिसियम इन्टरनेसनल प्रालि’ नामक म्यानपावरमार्फत साउदी अरब गएका मण्डलको शव नआउँदा परिवारमा रुवावासी हुनुका साथै घरमा दुई छोरी र एक छोराको शिक्षादीक्षा तथा पालनपोषणमा समेत समस्या भइरहेको उनकी श्रीमती विमलादेवीले गुनासो गरेकी छिन् ।

मृत्यु भएलगत्तै सम्बन्धित निकायलाई जानकारी दिँदा पनि हालसम्म आफ्नो श्रीमान्को शव नेपाल आउन नसकेको विमलादेवीले बताइन् ।

यता बहादुरको दुई महिनादेखि शव नआउँदा अधिकांश पुरुषले कपाल काटेका छैनन् भने उनको सद्गत नहुँदा गाउँमा रहेका छ परिवारमा धार्मिक कार्यसमेत रोकिएको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सवल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले जानकारी दिनुभयो ।

यसैबीच, मृतकको परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव ल्याइदिन आग्रहसमेत गरेको छ । रासस