प्रचण्डले भने: केन्द्रको कुरा मिल्यो, प्रदेशका कतिपय कुरा मिल्न बाँकी छ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डले भने: केन्द्रको कुरा मिल्यो, प्रदेशका कतिपय कुरा मिल्न बाँकी छ



काठमाडौं- एकाएक गृह जिल्ला चितवन पुगेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमै केन्द्र र प्रदेशका मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्।

शुक्रबार चितवन पुगेका प्रचण्डले केही नेताहरुसँग संघीय मन्त्रिपरिषद् र केही प्रदेशको मन्त्रिमण्डल पनि पुनर्गठन हुने बताएका थिए । उनले प्रधानमन्त्रीसँग मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भइरहेको र करिव करिव सहमति जुटिसकेको संकेत गरेका थिए ।

नेताहरूसंगको कुराकानीमा प्रचण्डले दुईतीन दिन भित्रमै मन्त्रिमण्डल पुनर्गठन हुन पनि सक्ने बताएका थिए । त्यतिमात्र होइन उनले केन्द्रको कुरा मिलिसकेको र प्रदेशका कतिपय कुरा मिल्न बाँकी भएकाले अहिलेसम्म रोकिएको बताएका थिए ।

शुक्रबार बिहान सचिवालयको निर्धारित बैठक स्थगित भएपछि उनी गृहजिल्ला चितवन पुगेका थिए । सचिवालय बैठकले मन्त्रिमण्डलमा पठाउने विषयमा मापदण्ड बनाउने प्रचण्डले बताए।

उता शुक्रबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि रुपन्देहीमा पत्रकारसँग कुरा गर्दै एक हप्तादेखि १० दिनभित्र संघीय र प्रदेशका मन्त्रिमण्डल पुनर्गठन हुने बताएका थिए।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्नुहुनेछ। यसको तयारी भइरहेको छ,’ ज्ञवालीले भने, ‘अब प्रदेशका मन्त्रिमण्डल समेत पुनर्गठन हुनेछन्। मुख्यमन्त्री नफेरिए पनि प्रदेश मन्त्री फेरिनुहुनेछ।’

लामो समय पार्टीमा देखिएको विवाद अन्त्य भएको जनाउँदै उनले पार्टी भित्रको सन्तुलन मिलाउन र सरकारको कामलाई थप प्रभावकारी गराउन पनि मन्त्रिमण्डल पुनर्गठन हुन लागेको बताएका थिए।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्ड पहिलो पटक गृहजिल्ला चितवन पुगेका हुन्।

मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति र पार्टी एकताको बाँकी कामको विषयमा छलफल गर्न शुक्रबार सचिवालयको बैठक तय भएको थियो।