दुई राज्यमन्त्री बस्न आए एउटै कुर्सीमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दुई राज्यमन्त्री बस्न आए एउटै कुर्सीमा



हिमाल पोष्ट / १६ मंसिर, काठमाडौं । नवनियुक्त राज्यमन्त्री मिठु मल्ल बुधबार पद तथा गोपनियताको सपथलगत्तै मन्त्रालय पुगिन् ।

उत्साह र उमंगका साथ पदबहालीका लागि सहरी विकास मन्त्रालय पुगेकी उनी सरासर राज्यमन्त्री बस्ने कोठामा छिरिन् । राज्यमन्त्रीका लागि सजाइएको मूख्य टेबुलमा नेमप्लेट हेर्दा उनी तीनछक परिन् । नाम त अर्कैको पो रहेछ ।

कुर्सीमा आफूसँगै १५ मिनेटअघि प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीको सपथ लिएकी सुवर्ण ज्वारचन बसिरहेकी थिइन् । मल्लमात्र होइन, उनीसँगै एउटै गाडीमा आएका मन्त्रालयका निमित्त सचिव शम्भु केसी र अन्य कर्मचारीसमेत यो देखेर छक्क परे ।

निमित्त सचिव केसीले तत्काल मुख्यसचिव सोमलाल सुवेदीलाई फोन गरेर सोधे । ‘सर यहाँ त दुईजना राज्यमन्त्री पो हुनुभयो, हाम्रो मन्त्रालयमा राज्यमन्त्री बन्नु भएको माननीय मिठु मल्ल होइन र ?’

मुख्यसचिव सुवेदीले पनि ‘हो, उहाँ नै हो’ भन्ने जवाफ दिए । निमित्त सचिवले अर्की राज्यमन्त्री ज्वारचन आइसकेको जानकारी गराउँदा मुख्यसचिव झस्किए, ‘उहाँ (ज्वारचन) ले त वाणिज्य मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।’

उनी झुक्किएर अर्कै मन्त्रालयमा बहाल हुन आएको थाहा पाएपछि सुवेदीले तुरुन्तै वाणिज्य मन्त्रालयका सचिव प्रेमकुमार राईलाई जानकारी गराए । सचिव राई लिन नआउन्जेल ज्वारचन सहरी विकास मन्त्रालय मै बसिरहिन् । आजको नागरिक दैनिकमा खबर छ ।