दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा



हिमाल पोष्ट / १४ चैत, काठमाडौं । ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।

 

हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ । यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएरलगायत अन्य सामान्य अभियोगमा के–कति नेपाली पक्राउ परेका छन् भन्ने तथ्यांक सरकारसँग छैन ।

 

रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका नेपालीमध्ये ६९ जना जेल परेका छन् ।  बहराइनमा पनि सातजना नेपाली जेलमा रहेका छन् । एउटै कोठामा बस्ने नेपाली नागरिकको हत्या गरेका अभियोगमा भोजपुरका पर्शुराम राईलाई दक्षिण कोरियाको अदालतले १३ वर्षको कैद सजाय तोकेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै नेपाली सहकर्मीसँग झगडा गरी दुईवटा औँला काटेको अभियोगमा झापाका शेखर पौडेल पनि दक्षिण कोरियामा पक्राउ परेका छन् । उनको मुद्दा विचाराधीन छ । कुवेतमा लागुऔषधको सेवन र कारोबारलाई ठूलो अपराध मानिन्छ । त्यहाँ पक्राउ परेकामध्ये अधिकांश नेपाली लागुऔषध सेवन र कारोबारको मुद्दा खेपिरहेका छन् । कुवेतको जेलमा रहेका नेपालीमध्ये ५३ जना केटा र नौजना केटी छन् । हत्याको आरोपमा समेत कुवेतको जेलमा केही नेपालीले सजाय काटिरहेका छन् ।

मलेसियाको जेलमा रहेका १३ नेपालीमध्ये सबैजना केटा छन् । तीमध्ये आठजना हत्या अभियोगमा पक्राउ परेका हुन् । ओमनको जेलमा भने तीनजना नेपाली मात्र जेलमा छन् । कतारमा ५२ जना नेपालीले जेलजीवन बिताइरहेका छन् । संयुक्त अरब इमिरेट्स (युएई)का विभिन्न जेलमा १९ जना नेपाली छन् ।