विश्वमै नभएको चिया इलाममा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विश्वमै नभएको चिया इलाममा



काठमाडौं- इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ।

चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ। इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो।

वि.सं. १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले रोप्न सुरु गरेको चिया अहिले देशैभर विस्तार हुने तरखरमा छ । जहाँ पहिलो पटक चिया रोपियो, त्यही बगान भने अहिले खण्डहर बन्न थालेको छ।

जिल्लावासीले विगतदेखि नै यो बगानलाई चियाको अनुसन्धान केन्द्र बनाइनुपर्ने माग सरकारसँग गरेका छन् । तर, नेपाल सरकारले इलाम चिया बगानसहित सातवटा चिया बगान २०५७ सालमा ५० वर्षका लागि त्रिवेणी सङ्घाई समूहलाई लिजमा दिएपछि यो चिया बगान दिनानुदिन जीर्ण बन्दै गएको छ।

आजको गाेरखापत्र दैनिकमा कोकिला ढकालले लेखेको समाचार अनुसार चियाको इतिहास नाशिने अवस्थामा पुगेपछि इलाम नगरपालिकाले आफ्नो छैटौँ नगर सभाबाट सरकारलाई इतिहास जोगाउन आग्रह गरेको छ । नगर सभाले चियाको इतिहास बचाउनकै लागि इलाम चिया बगान नगरपालिकालाई हस्तान्तरण गरिदिन आग्रहसमेत गरेको छ।

आइतबार सम्पन्न नगर सभाले इलाम चिया बगानमा रहेको ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण गर्दै चिया सङ्ग्रहालय र अध्ययनन, अन्वेषणको केन्द्रका रूपमा स्थापना गर्न नेपाल सरकारलाई माग गर्ने निर्णय गरेको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए।

डेढ सय वर्षअघि चीनबाट ल्याएर रोपिएको यहाँको चिया विश्वमै दुर्लभ हुन लागेको जात रहेको चियाविज्ञ सोनाम पाल्जोर लामाले बताए।

यो चियाको वैज्ञानिक नाम ‘क्यामेलिया साइनेसिस’ हो,’ लामाले भन्नुभयो, ‘ओरिजिनल क्यामेलिया साइनेसिसचाहिँ अहिले इलाम चिया बगानमा मात्रै छ। यहाँको पनि तीन–चार सेक्सनमा मात्रै यो जातको चिया छ, जसको मुना नै रातो पलाउँछ।’

विश्वमै दुर्लभ बन्दै गएको यो चियाको संरक्षणमा कसैले ध्यान नदिएको उहाँ बताउनुहुन्छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणालाई चिनियाँ सम्राट्ले उपहारका रूपमा पठाएको चिया इलामका बडाहाकिम गजराजसिंह थापाले इलाम सदरमुकाममा खेती सुरु गरेको इतिहास छ।

यसरी सुरु भएको चिया बगान निजीकरण भएपछि पछिल्ला दिनमा नासिँदै गएको इलामका इतिहासकार युद्धप्रसाद वैद्य बताउछन्।