ई–सेवा यसरी तानियो बिबादमा, के हो त रहस्य ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ई–सेवा यसरी तानियो बिबादमा, के हो त रहस्य ?



काठमाडौँ ।

नेपालमा अनलाइन मार्फत पैसाको कारोवार गर्ने ई-सेवा यतिबेला बिबादमा तानिएको छ ।

नेपालमा बिटक्वाइन बेच्ने बिटसेवाले आफ्नो अफिसियल गेटवेका रूपमा ई–सेवालाई राखेको थियो । लाखौँ नेपाली रुपैयाँ वा डलर तिरेर सर्वसाधारणले बिटसेवामा संकलन गरेको बिटक्वाइन अब के हुन्छ भन्ने पनि टुंगो छैन । यता, सिस्टम अपग्रेड गर्ने भन्दै ई–सेवाले पनि आफ्नो कारोबार शुक्रबारदेखि नै अवरुद्ध गरेको छ ।

संसारको कुनै पनि राज्यले उत्पादन नगरेको, कुनै पनि निकायमा सुरक्षण नभएको र भौतिक आकार र अस्तित्वसमेत नभएको यस्तो ‘भर्चुअल करेन्सी’ खरिदबिक्री गरेर रातारात धनी हुने ध्याउन्नमा लागेको गिरोहका सातजना पक्राउ परिसकेका छन् । अनलाइनमा घन्टाघन्टामा दर तलमाथि हुने यस्तो मुद्रा किन्दा रातारात करोडपति हुन सकिने भन्दै विभिन्न गिरोहले सर्वसाधारणलाई आकर्षित गर्दै आएका थिए ।

बिटक्वाइनको कारोबारलाई सरकार र राष्ट्र बैंकले अवैध मानेका छन् । अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको ई–सेवाबाट बिटक्वाइनको कारोबार भइरहेको तथ्य बाहिर आएपछि राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको हो । राष्ट्र बैंकले सूचना सार्वजनिक गरेर बिटक्वाइन कारोबार नगर्न तथा नगराउन भनेको छ ।

राष्ट्र बैंकले ई–सेवालगायत केही कम्पनीको बिटक्वाइन कारोबारमा संलग्नताबारे अनुसन्धान थालेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

कुनै समय गोल्डक्वेस्ट र पछि युनिटीजस्तै गैरकानुनी सञ्जालबाट कारोबार हुने बिटक्वाइन खरिद गर्दा ई–सेवामार्फत भुक्तानी हुने गरेको बिट सेवाको वेबसाइटमै उल्लेख छ । नेपालमा ई–सेवा र लन्डनमा केन्द्रीय कार्यालय रहेको अनलाइन पेमेन्ट गेटवे ‘स्क्रिल’ बाट बिटक्वाइनको कारोबार हुँदै आएको छ । स्क्रिलले बिटक्वाइन स्वीकार गर्दछ भने ई–सेवाले डलर र नेपाली रुपैयाँ स्वीकार गरी बिटक्वाइन खरिदको सुविधा दिने गरेको छ । केही बैंकले पनि बिटक्वाइनका कारोबारीको रकम आदानप्रदान गराइरहेको भेटिएको छ । तर, उनीहरूमाथि राष्ट्र बैंकको नजर परेको छैन ।
अवैध बिटक्वाइन कारोबारमा सघाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले ई–सेवाविरुद्ध अनुसन्धान अघि बढाएको छ । बिटक्वाइन कारोबारमा ई–सेवाको अप्रत्यक्ष रूपमा संलग्नता देखिएको सिआइबीले जनाएको छ । बिटक्वाइन कारोबारमा ई–सेवालगायत सम्बन्धित सबै निकाय छानबिनकै क्रममा रहेको सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए ।