प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्न सुझाव - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्न सुझाव



तिलोत्तमा, असोज २३ । प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर नगरको शिक्षा
नीति तर्जुमा गर्न; सरोकारवालाहरुले तिलोत्तमा नगरपालिकालाई सुझाव दिएका
छन् ।
अहिलेसम्मको शिक्षा सैद्धान्तिक मात्र भएकाले शैक्षिक जनशक्तिले समाजका सबै
आवश्यकता पूरा गर्न नसकेको बताउँदै उनीहरुले अबको शिक्षा साधारणसँगै
प्राविधिक पनि हुनुपर्नेमा जोड दिएका हुन् ।
तिलोत्तमा नगरपालिकाको शिक्षा सुधार तथा व्यवस्थापन उप–समितिले सोमबार
आयोजना गरेको अन्तरक्रियात्मक बैठकका सहभागीहरुले विद्यार्थीलाई स्वरोजगार र
नैतिकवान् बनाउने शिक्षा नै अहिलेको आवश्यकता भएको बताए ।
सामुदायिक र निजी विद्यालयबीचको दुरी घटाउनुपर्ने बताउँदै उनीहरुले एउटा विद्यालयले गरेका असल अभ्यास अर्को विद्यालयले अनुसरण गरे मात्र शैक्षिक सुधार संभव रहेको
प्रष्टाए ।
कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात नमिलेकाले विद्यालय
समायोजन र दरबन्दी मिलानमा समेत ध्यान पुर्याउन सरोकारवालाहरुले
नगरपालिकालाई आग्रह गरेका छन् ।
गरिबीका कारण विद्यालयको पहुँचमा आउन नसकेका बालबालिकालाई छात्रवृत्तिलगायतका सुविधा र उनीहरुका परिवारका सदस्यलाई आयआर्जनका काममा अवसर दिइनुपर्ने उनीहरुले बताए ।
अन्तरक्रियात्मक बैठकमा नगरपालिकाको वर्तमान शैक्षिक अवस्था, शैक्षिक क्षेत्रमा
भएका असल अभ्यास, विद्यमान शैक्षिक समस्या र सुधारका उपायहरुको बारेमा छलफल
भएको थियो । बैठकले नगरपालिकाको शैक्षिक अवस्थाको तथ्यांकगत अवस्था
झल्किने गरी शैक्षिक प्रोफाईल तयार गर्ने निर्णय गरेको छ ।
यस्तै
सोमबारको छलफलमा उठेका विषयबस्तुलाई समेटेर प्रतिवेदन तयार गरी अर्को
बैठकमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । उप–समिति संयोजक श्याम
खरेलको अध्यक्षतामा बसेको बैठकमा उप–समितिमा रहेका विभिन्न शैक्षिक
व्यक्तित्व, नगर प्रमुख, उप–प्रमुख, कार्यकारी अधिकृत, नगरपालिका शिक्षा एकाई
प्रमुखलगायतको सहभागिता रहेको थियो ।
बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले एक वर्षभित्र नगर शिक्षा नीति तथा
कार्यक्रम बनाई कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिँदै सामुदायिक र
निजी विद्यालयको दुरी घटाउनुपर्ने बताए । यस्तै उप–प्रमुख जागेश्वरी चौधरीले
नगरपालिकाले केही विद्यालयमा प्राविधिक शिक्षाका कक्षाहरु सञ्चालन गर्न चाहेको
जानकारी दिइन् । उनले सामुदायिक विद्यालयमा दरबन्दी मिलान र विद्यालय
समायोजनका विषयलाई अघि बढाइने प्रष्टाइन् ।
यस्तै कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले विद्यालय सुधारका काम स–साना
विषयबाट सुरु गर्न सकिने बताए । प्रधानाध्यापकले चाहेमा विद्यालयमा धेरै
सुधार हुन सक्ने बताउँदै उनले सुधारका कामको सुरुवात् आफैबाट गर्नुपर्ने
बताए ।
नगरपालिका शिक्षा एकाई प्रमुख मित्रमणि खनालले नगरको स्कुल
म्यापिङको कामलाई तत्काल अघि बढाइने जानकारी दिए ।
बैठकमा शिक्षा सुधार तथा व्यवस्थापन उप–समितिका सदस्यहरुले नगरको शैक्षिक
सुधारका सन्दर्भमा विभिन्न सुझावहरु दिएका थिए । प्राप्त सुझावहरुलाई आधार
मानेर शिक्षा नीति नियम निर्माणको काम अघि बढाइने संयोजक खरेलले जानकारी
दिए । उनले यस प्रकारका अन्तरक्रियात्मक बैठकहरु अन्य सरोकारवाला पक्षहरुसँग
समेत गरिने बताए ।