एक कल फोनले उचालियो शेयर बजार - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एक कल फोनले उचालियो शेयर बजार



काठमाडौं- आइतबार सन्नाटा छाएको शेयर बजारमा एक कल फोनले सोमबार उचालिएको छ । साताको पहिलो दिनमा १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको बजार दोस्रोे दिनमा भने लगानी कर्तामा तरङ्ग ल्याउने गरी वृद्धि भएको छ ।

लगानीकर्ता तर्सिनेगरी झरेको मार्केटमा एकाएक उछाल आएपछि खुसीयाली छाएको छ । सोमबार शेयर बजार १६१.९४ अंकले बढेर २९ सय ८० दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ ।

शेयर बजारमा यो उछाल आउनुमा एक कल फोनको कमाल मानिएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिलाई एकै कल फोनले तङ्ग्राएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सोमवार बिहान गभर्नर महाप्रसाद अधिकारीसँग एक कल फोन गरेर कुराकानी गरेका थिए । कुराकानीका क्रममा शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री शर्माले शेयर बजारमा रहेको समस्या समाधान गर्न गभर्नर अधिकारीलाई अनुरोध गरेको खबर सार्वजनिक भएपछि बजारमा ठूलो उछाल देखिएको हो ।

सचिवालयका अनुसार गभर्नर अधिकारीले प्रक्रिया लिएर बजारलाई परेको अप्ठेरो फुकाउने जानकारी अर्थमन्त्रीलाई गराएका छन् ।

अर्थमनत्रीले पहल थालेको खबर बाहिरिएकाले सोमबार कारोबार खुलेदेखि नै शेयरबजारमा हरियाली थियो । केही घटबढ भइरहेको शेयर बजार अर्थमन्त्रीको पहलको खबर सार्वजनिक भएपछि लगातार उकालोतिर लाग्यो ।

बजारमा सोमबार ९ अर्ब ८२ करोडको शेयर कारोबार भयो । सोमबार मात्रै बजार ५ दशमलव ७४ प्रतिशतले बढेको छ । बजारका सबै उपसमूह हरियो रहे ।