एउटा संक्रमितले तीन हजार व्यक्तिलाई संक्रमण फैलाउन सक्छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एउटा संक्रमितले तीन हजार व्यक्तिलाई संक्रमण फैलाउन सक्छ



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदो सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नुपरेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नु परेको बताएका छन् । आज मात्र विगत २४ घण्टामा एक हजार २२१ जना सङ्क्रमित फेला परेका छन । तीमध्ये उपत्यकामा मात्र ४२९ जना रहेका छन् भने १४ जना सङ्क्रमणका कारणले निधन भएको छ ।

उनले कोभिड–१९ को संक्रमणबाट समाजलाई बचाउनु सबैको दायित्व रहेकाले सबैले यस कठिन परिस्थितिलाई बुझेर आ–आफ्नो तर्फबाट रोकथाम र नियन्त्रणका लागि गर्न सकिने सहयोग गर्न अनुरोध गरे ।

उनले सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म राम्रो सेवा प्रदान गर्न खोज्दा खोज्दै पनि कतिपय बेलामा सङ्क्रमितको अपेक्षा पूरा नभएको बताए । एक जना सङ्क्रमित व्यक्तिले तीन हजार व्यक्तिसम्म सङ्क्रमण फैलाउन सक्ने भएकाले हामी सबैले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

समन्वय गरेर मात्र रिफर गर्न निर्देशन
मन्त्रालयले सङ्क्रमितको रिफर जथाभावी गरिएको पाइएकाले समन्वय गरेर मात्र गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न निजी तथा सामुदायिक अस्पतालले सघन उपचार कक्षमा भएका बिरामी कोभिड–१९ डेडिकेडेट अस्पतालमा रिफर गर्दा समन्वय नगरी रिफर गरिएकाले समन्वय गर्न निर्देशन दिइएको जानकारी दिए ।

‘कतिपय अस्पतालले बिरामी रिफर गर्दा कोभिड–१९ डेडिकेडेट अस्पतालमा शैंया भए, नभएको यकिन नगरी त्यहाँका उपचार गर्ने टिमसँग समन्वय नगरी र स्वास्थ्यकर्मी पनि साथमा नपठाइकन त्यतिकै पठाइएको पाइएको छ’, उनले भने, ‘यसरी समन्वय नगरी पठाइएका बिरामीको ज्यान तलमाथि पर्न गएर रिफर गर्ने अस्पताल नै जिम्मेवारी हुनुपर्ने छ ।’ उनले रिफर गर्दा शैंया खाली भए, नभएको एकिन गर्नुपर्ने बताए ।

यस्तै मन्त्रालयले कोभिड–१९ को व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको क्वारेन्टिनको व्यवस्था सम्बन्धित अस्पतालले गर्न निर्देशन दिएको छ ।

नभाग्न आग्रह

क्वारेन्टिन, आइसोलेशन र अस्पतालबाट भाग्ने गरेको खबरप्रति दुःख व्यक्त गर्दै उपचारमा रहेका सङ्क्रमित भाग्नु खतरा रहेको उनले बताए । उनले आफू, समाज र आफ्ना परिवारलाई सङ्क्रमणबाट जोगाउनका लागि नभाग्न आग्रह गरे ।

‘अस्पताल, क्वारन्टिन र आइसोलेशनमा घरको जस्तो खानपिन र बस्नेको सुविधा पाउँदैनौ, त्यो पक्कै नै हामीलाई सहज हुँदैन, अहिलेको परिस्थिति त्यस्तो ठाउँमा बस्नु वाध्यता हो’, उनले भने, ‘कुनै व्यक्ति आइसोलेशन, क्वारेन्टिन र अस्पतालबाट भाग्नु भनेको उनी आफै आफ्नो परिवार समाजलाई सङ्क्रमणको जोखिममा राख्नु हो, त्यसैले भाग्नु हुँदैन ।’

उनले सङ्क्रमण फैलन नदिनका लागि सङ्क्रमितका लागि क्वारेन्टिन, अस्पताल र आइसोलेशन नै एक मात्र एउटा उपाय रहेको उल्लेख गरे । उनले ती ठाउँ भएका सेवा सुविधा सुधार गर्दै जान जिम्मेवार निकायलाई मन्त्रालयले अनुरोध गरिसकेको जानकारी दिए ।