एक देशको घर(कविता) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एक देशको घर(कविता)



बा´का,
हत्केला ठेलाहरु
बहिखातामा चढाएर!
आमाको ओठहरुले तमसुकमा छाप लगाएई,
खरले छोपेको घरको लालपुर्जा
महलको सन्दुकमा बुझाएर!
आफ्नो भर्खरै
रेखा बसेका कलिका जुङ्गा
रेसाहरु साहुकोकोमा थोरै भाउमा
बन्दकी राखेरएउटा देश जस्तै… मान्छे
गाउँका केही थान भोकहरु
काँखी च्यापेर
परदेश पसेथ्यो।
त्यसै
दिन देखी
जुनले धर्तीको चौकीदारी घामलाई सुम्पनु अघि
आमाले लिपपोत गरेको
गोबरमाटोको मगमगाहटमा
किरणहरु सखारै आला बिहान पोखिदिन्छन्।
तर
त्यो बिहान कहिल्यै पोखिएन आमाको अनुहारमा?

मलखातबाट
बा बल गरेर मल ओसारी रहन्छन खेतमा,
फलाउछन् बन्दा ,काउली र टमाटरहरु
फुलाछन् हजारी सयपत्री, र गुलाबहरु
तर
मल बोकेर परेका हत्केलाका ठेलाहरु
न कहिले फुले ,न कहिले मगमाए

कुनै समय त्यति खस्रो थिएन आमाको अनुहार
एउटा लालुपाते फुल फुल्थ्यो रे
जो काखमा छताछुल्ल पोखिदिथ्यो रातो मस्कान
जसरी शशि धर्तीमा उज्यालो मसी छरिदन्छ।
र आमा,
त्यही मुस्कानले
रङ्गाउथिन आफ्ना ओठहरु,
जसरी आकाश सजाउछ हर रात आफ्नो सिउदो ताराहरुले।

कुनै समय

पर्दैन थिए
बा`का हत्केलाहरुमा ठेला
लाग्दैन थियो पाईतलाहरुमा ठेस
एउटा कोदालो थियो रे
जो खनि रहन्थ्यो जिन्दगीको बाझो वारि,सम्म्याई रहन्थ्यो दुखका डल्लाहरु
जसरी मिलाई रहन्छन बतास अमुर्त बादलका थुम्काहरुलाई।

एउटा गोरेटो थियो रे
जो बोकेर ल्याई रहन्थ्यो घर सम्म आफ्नोपन बोकेका पाइतलाहरु
जसरी चराहरु ल्याउछन् एक त्यान्द्रो खर गुड सम्म

त्यसै गरी
जसरी एक निलो साझमा हुलाकीले ल्याथ्यो
काखी च्यापेर
कात्रो जस्तै सेतो खाममा सेतै धागोले बरेर
छोरोको मृत्युको निलो खबर।

अब
बाकी
एउटा गाउँ छ,
एउटा आँगन छ,
खरेटोको स्पर्शले
त्यही आगनमा बनेका
अमुर्त रेखाहरु छन्
जहा
एक जोडी भँगेरा
बटुलिरहेछन् जिन्दगीका स-साना अंशहरु ।
कनिकाहरु-खुशीहरु
चिरबिर चिरविर बचेराहरु सुसेलिरहेछन् भेल्लुरको वृक्ष बाट आत्मियताको भाका
तर
वर्षौंदखी त्यही आगनको अन्त्यमा झोक्राइ रहेको छ एउटा उदाङ्गो घर।

-रसिक राज