एकल महिलालाई एकीकृत सेवा दिन घुम्ती शिविर सञ्चालन गरिने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एकल महिलालाई एकीकृत सेवा दिन घुम्ती शिविर सञ्चालन गरिने



रामकोट (काठमाडौँ)/  माघ २७

नागरिकता र राज्यको सुविधाविहीन एकल महिलालाई एकीकृत सेवा दिन घुम्ती शिविर सञ्चालन गरिने भएको छ । नागार्जुन नगरपालिका र मानवअधिकारका लागि एकल महिला समूहले रामकोटमा आयोजना गरेको नागरिकता, व्यक्तिगत घटना दर्ता र महिला हिंसाविरुद्ध सूचना प्रदर्शनी कार्यक्रममा पीडित महिलाले गुनासो गरेपछि काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले ५० भन्दा बढी त्यस्ता मुद्दा भएको र अन्य सम्बन्धित कार्यालय तथा स्थानीयको मागका आधारमा घुम्ती शिविर सञ्चालनको नीति रहेको स्पष्ट गर्दै उचित जनचेतनाको अभावमा काठमाडौँमा पनि अझै महिला तथा वृद्धा नागरिकताविहीन रहेको जनाउनुभयो । प्रदर्शनीमा कुल ११४ विभिन्न मुद्दाबारे सूचीत गरिएकामा ३० वटा नागरिकताविहीनसहित मुख्य घटना दर्ता भएका थिए ।

कार्यक्रममा नागरिकताबिना वृद्धभत्ता, पानी, बिजुली मात्र होइन मोबाइलको सिमकार्ड पनि पाउन नसकिने मार्मिक संवादसहितको ‘अनागरिक’ नाटक देखाइएको थियो । समूहका संस्थापक अध्यक्ष लिली थापाले महिलाले व्यक्तिगत घटना दर्ता र महिला हिंसाविरुद्ध आगामी दिनमा समयमै सरकारी नियकामा सूचना दिनेबारेमा चेतना नहुँदा उनीहरुले न्याय पाउन नसकेको बताउनुभयो ।

संस्थाका अध्यक्ष निर्मला ढुङ्गानाले देशभर एकल महिलाको हकअधिकार तथा सशसक्तीकरणका लागि आफूहरुले दुई दशकदेखि वकालत गर्दा पनि अझै सबै एकल महिलाले नागरिकता पाउन नसक्नु विडम्बना भएको बताउनुभयो । रासस