कांग्रेस महाधिवेशन: एक्लिए रामचन्द्र, देउवा नै मालामाल - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कांग्रेस महाधिवेशन: एक्लिए रामचन्द्र, देउवा नै मालामाल



काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिंदै जाँदा निकै रोचक बन्दै गैरहेको छ । पछिल्लो समय कांग्रेस भित्रका समीकरणमा नाटकीय परिवर्तन आउन थालेका छन् । सभापतिका आकांक्षीहरू धेरै बनेपछि देखिएका दृश्यले झनै गरम माहोल बन्दै गैरहेको छ ।

अहिले कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहले दाबी गरिरहेका छन् ।

पछिल्लो समय बिमलेन्द्र निधिको सभापतिमा उठ्ने घोषणले कांग्रेसमा तरंग ल्याएको छ । मधेशबाट पार्टी नेतृत्व गर्दै भावी प्रधानमन्त्रीका रुपमा आफुलाई निधिले उभ्याउन खोजेको चर्चा कांग्रेसमा छ ।

यसका अलावा गगन थापाले पनि आफु सभापतिमा उठ्न सक्ने बताएका छन् । तर, थापाको यो भनाई केवल मिडिया खपतका लागि मात्रै भएको कांग्रेस नेताहरु नै बताउँछन ।

कांग्रेसमा बिभिन्न गुटहरु रहेपछि मुलत: दुई गुट स्थायी छन् । हाल संस्थापनको नेतृत्व शेरबहादुर देउवाले गरेका छन् । उनको गुटबाट उजी देउवा नै र संस्थापन इतरको समुहबाट शशांक कोइराला परिवारबीच मुख्य रुपमा प्रतिष्पर्धा हुने देखिएको छ ।

पार्टी स्थापना कालदेखि नै नेतृत्वमा हालिमुहाली गर्दै आएको कोइराला परिवार शुशील कोइरालापछि नेतृत्वमा आउन सकेको छैन् । तर, १४ औं महाधिवेशनमा भने देउवालाई पन्छाएर नेतृत्व हात पार्ने दाउमा छ कोइराला परिवार ।

अहिले सभापतिका लागि शशांक र शेखरले नै उम्मेद्वारी दिने दाबी गरेका छन् । उनीहरु एकअर्कालाई हराएर नेतृत्वमा पुग्ने रणनीतिमा छन् । तर, दुई भाई छुट्टाछुट्टै सभापतिका लागि उठे दुर्भाग्य हुने स्वंय कोइराला निकट नेताहरुको बुझाई छ ।

‘संस्थापन पक्षबाट देउवाजी बलियो दाबेदार हुँदाहुँदै शेखर र शशांकले छुट्टाछुटै उठेमा त्यो भन्दा ठूलो दुर्भाग्य केही हुने छैन् ’, कोइराला निकट एक नेताले भने, ‘दुई भाईको इगोको फाइदा देउवाजीले उठाउनुहुन्छ ।’

यता शेखर र शशांक मिलेर जाने मनस्थितिमा छैनन् । अहिले डा. मिनेन्द्र रिजाल कोइराला परिवारलाई नेतृत्वमा लैजान जोड दिएर लागिरहेका छन् । उनी देउवालाई कुनै पनि हालतमा नेतृत्व दिन नहुने अडानका साथ कोइराला परिवारमा नेतृत्व जानुपर्ने जोडतोडमा लागेका छन् ।

‘कोइराला परिवारलाई नेतृत्व दिन मिनेन्द्र भरमजदुर रुपमा लागिरहेका छन् । उनी दुई भाईलाई एकै कित्तामा उभ्याउने लबिङमा छन्’, कांग्रेस स्रोतले भन्यो ।

अघिल्लो महाधिवेशनमा पनि सभापतिको दौडमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पुनः चुनाव लड्ने अडानमा छन् । पार्टीभित्र कसैको साथ र सहयोग नपाएका रामचन्द्र फेरी पनि एक्लै सभापतिमा उठ्दैछन् ।

पौडेलको कोइराला परिवारसँग मिलेर जाने चाहना भए पनि त्यो सम्भवना टरेको छ । शेखर र शशांकले रामचन्द्रलाई बहिस्कार गरिसकेका छन् ।

‘रामचन्द्र दाईले सभापति जित्ने चान्स नै छैन् । उहाँको मनको सन्तोष मात्रै हो । किनकी उहाँको पक्षमा पार्टीभित्र कोही पनि छैनन्’, कांग्रेसका एक नेताले भने, ‘कोइराला परिवारले उहाँलाई बहिस्कार गरिसकेको छ । १५ औं महाधिवेशनमा उहाँको चान्स नभएकाले अन्तिम पटक सभापतिमा उठ्ने निर्णय गर्नुभएको मात्रै हो ।’

शेखर कोइरालाले रामचन्द्र र देउवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्दै आएका छन् । उनले आगामी महाधिवेशनमा आफूहरुलाई सघाउन आग्रह गर्दै आएका छन् । कोइरालाले पौडेल र देउवालाई वरिष्ठ नेतामा बस्न आग्रह गरेका हुन् ।

‘हामी उहाँहरुलाई सम्मानित भएर बस्न आग्रह गर्दछौं । अबको नेतृत्व हामीले पाउनुपर्छ’, आफू निकट नेताहरुसँग कोइरालाले भने । त्यस्तै शशांक कोइरालाले देउवा र रामचन्द्रलाई एक्लै हराउन सक्ने दाबी गर्दै आएका छन् ।

एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्ने भन्ने आरोप खेप्दै आएका शेरबहादुर देउवा १४ औं महाधिवेशन नछोड्ने अडानमा रहेका छन् । संस्थापन पक्षमा राम्रो पकड रहेका देउवा कोइराला परिवारलाई नेतृत्व सुम्पिने मनस्थितिमा देखिँदैनन् ।

‘मेरो यो अन्तिम पटक हो । म पछि हट्दिन । मेरो जो आए पनि केही फरक पर्दैन’, देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘अबको नेतृत्व फेरी पनि देउवाको हातमा जाने निश्चित भइसकेको छ ।’

सभापतिको लाइनमा प्रकाशनमान सिंह कृष्णप्रसाद सिटौला पनि रहेका छन् । गगन थापाको साथ रहेका सिटौला यो महाधिवेशन नै आफ्ना लागि अन्तिम रहेको भन्दै सभापतिबाट पछि हट्ने मनस्थितिमा छैनन् । तर, उनलाई गगनको साथले मात्रै सभापतिमा जित्न पर्याप्त छैन् ।

गगन थापा महामन्त्रीको लाइनमा रहेकाले उनले सिटौलाको लाइन नछोड्ने अडान लिएका छन् । त्यस्तै प्रकाशन पनि सभापति छोड्ने मनस्थितिमा छैनन् । पार्टी नेतृत्व आफूले पाउनुपर्ने अडानमा छन् ।

‘प्रकाशमान र सिटौलाले महाधिवेशनमा सहभागिता मात्रै जनाउने हो । गगनलाई मात्र साथ लिएर सिटौलाले नेतृत्व हात पार्ने सम्भावना छैन्’, एक नेताले भने, ‘महामन्त्रीको लाइनमा रहेका गगन सिटौलाको पक्षमा मत ल्याउन लागि परेका छन् ।’

१५ औं महाधिवेशनमा सभापतिमा उठन् नपाउने भएपछि १४ औं महाधिवेशनमा सहभागिता जनाउने सिटौलाको मनस्थिति छ । देउवा वा कोइराला पक्षबाट कसैको साथ नपाए सिटौलाको सम्भावना कम रहेको उनलाई नजिकबाट बुझ्नेहरु बताउँछन् ।