‘चुनावको मिति सार्न सकिँदैन’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘चुनावको मिति सार्न सकिँदैन’



काठमाडौँ, जेठ २८ गते ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असार १४ गते तय भएको स्थानीय तहको चुनाव सार्न सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरेको छ ।

मधेशवादी दलले राखेको माग चुनावअघि पूरा गर्न नसकिने सत्तारूढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले स्पष्ट पारेपछि राजपा नेपालका नेताहरूले त्यसो भए माग पूरा गराउन चुनावको मिति सारौँ भनी प्रस्ताव गरेको बैठकस्रोतले जनाएको छ ।
“‘असार १४ गते आउन १९ दिनमात्र बाँकी छ, असार २ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ, यो छोटो समयमा माग पूरा गराउनतिर लागियो भने समय नपुग्ने” सत्तारूढ दलले भनेपछि राजपा नेपालले चुनावको मिति सार्न प्रस्ताव गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शनिबार मध्याह्न भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावअघि कुनै पनि माग पूरा गर्ने सम्भावना नरहेकाले पार्टी दर्ता गराएर पुराना छ दलमध्ये कुनैको एउटा चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन राजपा नेपालका नेताहरूलाई आग्रह गर्नुभएको छ ।  अहिलेलाई राजपा नेपाल दर्तामात्र गराउन सकिन्छ भनी उहाँले प्रस्ट पार्नुभएको थियो ।
संंविधान संशोधन, स्थानीय तहको सङ्ख्या थप्ने लगायतका माग पूरा गर्ने प्रक्रियामा गयो भने चुनावको मिति प्रभावित हुने भएकाले तोकिएको मितिमा पहिला चुनाव सम्पन्न गराँैं, त्यसपछि अन्य मागका बारेमा छलफल गरी टुङ्गो लगाउने प्रधानमन्त्री देउवाले प्रस्ताव गरेको राजपा नेपालका अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाको यो प्रस्ताव राजपा नेपालका नेताहरूले स्वीकार गर्नुभएन ।  अध्यक्षमण्डलका सदस्य भण्डारीले भन्नुभयो, “चुनाव आफूहरूको कुनै कार्यसूची नै होइन, चुनावका लागि आफूहरूले आन्दोलन पनि गरेको होइन, चुनावमा आफूहरू जाने नजाने सरकारको सरोकारकै विषय होइन, आफूहरूको माग पूरा गरोस् त्यसपछि आफूहरूले चुनावको बारेमा छलफल गर्ने भनी जवाफ दिएका छौँ । ”
“चुनावविरोधी आफूहरू होइन, माग पूरा होस् अनि चुनावमा जान्छौँ” भन्ने कुरा पहिलादेखि नै भन्दै आएको बताउँदै उहाँले सत्तारूढ दलले वार्तामा बोलाएर पटकपटक एउटै कुरा दोहो¥याउने गरेको, जो पहिला पनि सोही विषयमा कैयौँपटक छलफल भइसकेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “हामीले कुनै नयाँ माग राखेका छैनाँै, यसअघिका सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि आग्रह गरेका छाँैं, यो कुनै नयाँ सरकार होइन, पुरानै सरकारको निरन्तरता हो, हाम्रो माग पूरा नभएसम्म चुनावमा सहभागी हुँदैनौँ भन्ने कुरा स्पष्ट रूपमा राखेका छौँ । ”
राजपाका अध्यक्षमण्डलका सदस्य भण्डारीले गठबन्धन सरकारको सुरुआतमै तीनबुँदे सम्झौता भएको र आजसम्म कुनै माग पूरा नभएकाले निर्वाचनमा जाने वातावरण नरहेको उल्लेख गर्नुभयो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेपालले चुनावको मिति सार्न राखेको प्रस्ताव कदापि स्वीकार गर्न नसकिने बताउँदै उहाँले निर्वाचनका सन्दर्भमा केही प्राविधिक र व्यावहारिक कठिनाइ भए त्यसलाई सम्बोधन गर्न सकिने तर तोकिएको चुनावको मिति सार्न नसकिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “बैठक सकिएको छैन, छलफल जारी छ, भोलिसम्म केही टुङ्गो लाग्नेछ । ”

राजपा नेपाल संविधान संशोधन चुनावपछि गरे पनि हुने विषयमा ‘कन्भिन्स’ भएको छ तर मन्त्रिपरिषद्बाट पूरा हुने माग चुनावअघि नै पूरा गर्नुपर्ने अडानमा छ ।  मन्त्रिपरिषद्बाट हुने जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या थप्ने, आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता, आन्दोलनका क्रममा पक्राउ परेका आन्दोलनकारीलाई रिहा, शहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, आन्दोलनमा घाइते भई अपाङ्ग भएकाको व्यवस्थापनलगायत  छन् ।

राजपा नेपालका सहमहामन्त्री राकेश मिश्रले भन्नुभयो, “दुई तिहाइ पु¥याउने समस्या छ भने संविधान संशोधन चुनावपछि गर्दा पनि हुने भयो तर मन्त्रिपरिषद्बाट हुने कार्यका लागि दुई तिहाइ चाहिँदैन, त्यसलाई प्रतिपक्षी दलले पनि रोक्दैन, त्यसैले चुनावको वातावरण बनाउन मन्त्रिपरिषद्बाट पूरा हुने माग कार्यान्वयन गरेमात्र चुनावमा जान्छौँ । ”
बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, नेता विमलेन्द्र निधि, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर, शरत्सिंह भण्डारी, अनिल झा र महेन्द्र राय यादवको सहभागिता थियो ।  बैठक आइतबार पनि बस्ने भनिएको छ ।

गोरखापत्रबाट