मंसिर ४ गते हुनेभयो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मंसिर ४ गते हुनेभयो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन



काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने दावी गरेका छन् । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले अब बस्ने मन्त्रिपरिषद बैठकले सो मिति तोकेमा आश्चर्य नमान्न आग्रह गरेका हुन् ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले सम्पुर्ण तयारीसहित मिति सिफारिस गरिसकेको जानकारी गराए । आयोगको परामर्शमा सरकारले मिति तय गर्ने कानुनी व्यवस्था अनुसार सरकारले मिति तोक्ने बताए । उनले आउँदो मन्त्रिपरिषद बैठकबाट मंसिरको ४ गते निर्वाचन हुनेगरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गरे ।

उनले आयोगले निर्वाचनका लागि आन्तरिक तयारी समेत गर्न थालेको बताए । प्रमुख आयुक्त थपलियाले आगामी निर्वाचनमा खर्चको सीमा बढ्ने बताए । उनले भने–‘अहिले यो निर्वाचनमा हामीले झण्डै झण्डै २ करोड मतपत्र छाप्यौँ । आउँदो निर्वाचनमा हामीले ८ करोड मतपत्र छाप्नुपर्छ । मतपत्र छपाई अलिकति महंगो हुन्छ, ढुवानी खर्चपनि महंगो हुन्छ ।’ उनले स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा एउटा मतपेटिका राखिएपनि आगामी निर्वाचनमा ४ वटा राख्नुपर्ने बताए । यस्तै कर्मचारी संख्या पनि बढ्ने, मतदातापनि बढ्ने अवस्था रहेको उनले बताए । सबै कुरा बृद्धि हुँदै जाने भएकोले निर्वाचन खर्च बढ्ने उनको भनाइ छ ।

उनले सर्वोच्च अदालतले कैदी बन्दी, वृद्धाश्रममा रहेका नागरिकका लागि मतदानको व्यवस्थापन गर्न फैसला गरेकोले थप अस्थायी मतदाता परिचय बनाउनुपर्ने, मतदान केन्द्र बढ्ने, कर्मचारीको १५ प्रतिशत तलब बढेको कारण खर्च बढ्ने उल्लेख गरे । प्रतिनिधि सभाको निर्वाचनदेखि राष्ट्रपति र उपराष्ट्रपतिसम्मको निर्वाचनसम्म गर्नुपर्ने भएकोले खर्चको सीमा बढ्ने बताएपनि कति खर्च लाग्छ भन्ने बारे भने उल्लेख गरेनन् ।