टिआरसी विधेयक फास्ट ट्रयाकमा लैजाने प्रस्ताव एमालेद्वारा अस्विकार - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

टिआरसी विधेयक फास्ट ट्रयाकमा लैजाने प्रस्ताव एमालेद्वारा अस्विकार



काठमाडौं- संक्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्न सत्तापक्षले गरेको प्रस्ताव विपक्षी एमालेले दलले अस्वीकार गरेको हो ।शनिबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको शीर्ष तीन दलका नेताहरूको छलफलमा सत्तापक्षले प्रतिपक्षलाई सो प्रस्ताव रोखको हो ।

छलफलमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले संक्रमणकालील न्याय सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न प्रस्ताव राखेका थिए । तर, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान लिँदै प्रधानमन्त्री प्रचण्ड र देउवाको प्रस्ताव अस्वीकार गरे ।

सभामुखसहित तीन शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते बिहान ९ बजे पुनः बैठक बसेर टुंग्याउने सहमति भएको बताए ।

प्रधानमन्त्रीले पत्रकारहरुसँग भने, ‘सभामुखजीले दुईजना साथीहरुलाई बोलाउनुभयो । खासगरी टिआरसी, संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भनेर छलफल भयो । सहमति जुटाउन सैद्धान्तिक रुपमा हामी सहमत छौं । तर, टेक्निकल पाटो छ । नियमावली पास भएको छ । यो सबैबारे यो क्षेत्रमा काम गरेका साथीहरुसमेत बसेर २८ गते बिहान बसेर टुंग्याउने भन्ने भएको छ ।’ उनले आफूहरुले फास्ट ट्र्याकबाटै टुंग्याउन ओलीलाई आग्रह गरेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो कुरा फुल हाउसबाटै, फास्ट ट्याकबाटै गरौं भन्ने छ । तर, प्रतिपक्षीले संसदीय समितिमा लैजाऔं भन्नुभएको छ । यसमा बीचको बाटो खोज्ने कि भन्ने भएको छ ।’

यस्तै, एमाले अध्यक्ष ओलीले पनि संक्रमणकालीन न्याय निरूपण सम्बन्धी विधेयकलाई संसदीय समितिमा लैजान कुरा राखेको बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै ओलीले भने, ‘मैले टिआरसी समितिमा लगेर छलफल गरिनुपर्छ भनेको छु ।’ उनले प्रधानमन्त्रीले फास्ट ट्र्याकबाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि बीचको बाटो खोज्ने प्रयास भइरहेको र यसका लागि विज्ञहरूको पनि सहायता लिइने बताए ।