'एमालेले चुनाव जिते फासिस्ट शासन आउँछ' - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

‘एमालेले चुनाव जिते फासिस्ट शासन आउँछ’



काठमाडौं- नेकपा मसालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले जिते केपी शर्मा ओलीको नेतृत्वमा फासिस्ट शासनको खतरा हुने बताएको छ। मङ्सिर १८ गते उपलब्ध पीबीएम, सीसीएम र कार्यालयका सहयोगीहरू समेतको सहभागितामा बसेको सो पार्टीको बैठकले चुनावमा एमालेलाई अत्यधिक बहुमत प्राप्त भएमा ओलीको प्रयत्न संविधानमा संशोधन गरेर देशलाई प्रतिगमनतिर लैजाने हुने निष्कर्ष निकालेको हो।

‘ओलीको व्यक्तिवादी, स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीमाथि समग्र रुपले विचार गर्दा उनको नेतृत्वमा देशमा फासिस्ट शासन कायम हुने पनि खतरा छ,’ सो पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

ओलीद्धारा सम्भावित प्रतिगमन र फासिस्ट शासनको खतरालाई पराजित गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको मसालको ठम्याइ छ। ‘पाँच दलीय गठबन्धनले मात्रै त्यो कार्य, अर्थात् ओलीलाई चुनावमा पराजित गर्न र, त्यसरी प्रतिगमन र फासिस्ट शासनलाई रोक्न सक्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यो उद्देश्य पूरा गर्नको लागि त्यो बाहेक अन्य कुनै विकल्प छैन। तर, अहिले कैयौँ दिशाबाट त्यो गठबन्धनलाई टुटाउन प्रयत्न भइरहेका छन्। यदि त्यस्तो भयो भने त्यसको अर्थ देशलाई प्रतिगमन र फासिस्ट शासनको मुखमा धकेल्नु नै हुनेछ। त्यसैले हामीले आपसका कैयौँ मतभेदका बाबजुत चुनावसम्म अहिले बनेको गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ।’

मसालले एमालेको महाधिवेशनको पनि आलोचना गरेको छ। ‘प्रथमतः त्यो महाधिवेशननै होइन र महाधिवेशनको नाममा एउटा प्रहसन मात्र हो। त्यसमा खालि उद्घाटनमा शक्ति प्रदर्शन गर्ने तथा नेतृत्वको निर्वाचन गर्ने काम मात्र गरिएको छ। त्यसमा पार्टीको नीति र कार्यक्रमसम्बन्धी छलफलको अजेण्डा नै राखिएको थिएन। त्यसैले त्यो कार्यक्रम वास्तवमा महाधिवेशन होइन। त्यसको उद्देश्य ओलीलाई सर्वशक्तिसम्पन्न बनाउनुमात्र हो,’ विज्ञप्तिमा भनिएको छ।