एमालेकी शान्ता र कांग्रेसकी मनिताले गरे संयुक्त गुहार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमालेकी शान्ता र कांग्रेसकी मनिताले गरे संयुक्त गुहार



काठमाडौं । सामाजिक राजनीतिक अभियन्ताका रुपमा चर्चित शान्ता चौधरी र मनिता घिमिरेले संयुक्त रुपमा एक अपिल जारी गर्दै मुख्य तीन पार्टीहरुलाई गुहार लगाएका छन् । उनीहरुको अपिल छ– ‘जनताको भोट हाल्ने अधिकार रक्षा गरिदिन गुहार लगाउँदछौं ।’

उनीहरुले अपिलमा कांग्रेस, एमाले र माओवादीलाई चुनाव गराउने मामिलामा विभाजित नहुन अपिल गरेका छन् । शान्ता एमाले हुन् भने मनिता कांग्रेसकी हुन् । यी दुई लगायतले पार्टीभन्दा माथि उठेर देशका लागि गरौं भन्दै विभिन्न सामाजिक राजनीतिक अभियान चलाउन थालेका छन् । यसै क्रममा अपिल जारी गर्दै उनीहरुले भनेका छन्– ‘स्थानीय चुनाव सार्ने तथा सारेपछि चुनाव नै हुन नदिने ढंगले अहिले जुन प्रयासहरु भएको देखिँदैछ, यसको हामी घोर निन्दा गर्दछौं । चुनाव सार्ने र गर्दै नगर्ने बाटोमा देशलाई लगियो भने त्यसले गम्भीर राजनीतिक दुर्घटना निम्त्याउने छ ।’

संसदमा आफूले चाहेको पक्षमा दुई तिहाई पुग्नै पर्छ नत्र मान्दिन भनेर कसैले पनि राजनीतिक ब्ल्याकमेलिङ गर्न नहुने उनीहरुको अपिलमा उल्लेख छ । उनीहरुले मुख्य जोड कांग्रेस, एमाले र माओवादीको एकतामा दिएका छन् ।

आदिवासी जनजाति मधेसी थारु लगायतका समुदायको माग पूरा नभएकोले चुनाव हुन दिन्नौं भन्ने विचारसँग कुनै पनि हालतमा सहमत हुन नसकिने धारणा राख्दै उनीहरुले विभिन्न जातीय समुदायको तर्फबाट भन्दै माग राख्ने अधिकार लोकतान्त्रिक व्यवस्थामा कसैलाई पनि हुन नसक्ने भनेका छन् ।

मधेसी मोर्चामा आवद्ध दलहरुले जनताको अपमान गरेको दावी गर्दै उनीहरु भन्छन्– ‘संसदमा दस प्रतिशत पनि उपस्थिति नभएका दलहरुले विभिन्न समुदायको माग पूरा भएन भन्दै देशमा अवरोध सिर्जना गर्नु जनताकै अपमान हो ।’

स्थानीय चुनाव सम्पन्न भएमा महिला शशक्तिकरण र नेतृत्व विकासमा क्रान्ति हुने दावी गर्दै उनीहरुले विभिन्न जातीय समुदायका सक्रिय महिला पुरुषले नेतृत्वमा पुग्ने र नेतृत्व विकास गर्ने अवसर पाउने चुनाव रोक्न नहुने विचार राखेका छन् ।

‘सिंहदरबारको अधिकार जनताको घर आगनमा पुराउने स्थानीय चुनाव सार्नु तथा रोक्नु भनेको राजनीतिक अपराध हो । तसर्थ, चुनाव सार्ने तथा हुन नदिने प्रयत्नको विरुद्धमा विशेष गरी महिलाहरुले शशक्त ढंगले विरोध गर्नु आजको आवश्यकता भएको छ’– अपिलमा भनिएको छ ।

जनताको अधिकार नखोस्न सबै राजनीतिक दलहरुसँग विनम्र अनुरोध गर्दै उनीहरुले भनेका छन्–‘चुनाव सार्ने र रोक्ने कार्य विरुद्ध आवाज उठाउन आम जनताका साथै समस्त महिलाहरुलाई विशेष अनुरोध गर्दछौं ।’

अपिलको पूर्ण पाठ

( चुनाव रोक्ने र हुन नदिने प्रयास विरुद्ध शान्ता चौधरी र मनिता घिमिरेको संयुक्त अपिल )

स्थानीय चुनाव सार्ने तथा सारेपछि चुनाव नै हुन नदिने ढंगले अहिले जुन प्रयासहरु भएको देखिँदैछ, यसको हामी घोर निन्दा गर्दछौं । चुनाव सार्ने र गर्दै नगर्ने बाटोमा देशलाई लगियो भने त्यसले गम्भीर राजनीतिक दुर्घटना निम्त्याउने छ ।

जनतालाई भोट हाल्ने अवसर दिनलाई होइन, अवसर खोस्नलाई चाहिँ अहिले प्रयास भइरहेको देखिनु दुखद हो । स्थानीय चुनाव रोक्नुपर्ने कुनै कारण छैन । चुनाव रोक्नकै लागि संविधान संशोधनको तगारो हालिएको अब स्पष्ट हुँदै आएको छ । संसदमा आफूले चाहेको पक्षमा दुई तिहाई पुग्नै पर्छ नत्र मान्दिन भनेर कसैले पनि राजनीतिक ब्ल्याकमेलिङ गर्न हुँदैन ।

आदिवासी जनजाति मधेसी थारु लगायतका समुदायको माग पूरा नभएकोले चुनाव हुन दिन्नौं भन्ने विचारसँग कुनै पनि हालतमा सहमत हुन सकिँदैन । विभिन्न जातीय समुदायको तर्फबाट भन्दै माग राख्ने अधिकार लोकतान्त्रिक व्यवस्थामा कसैलाई पनि हुन सक्दैन । किनभने हरेक नागरिक स्वतन्त्र छन् र नागरिकको विचार कुनै दल विशेषले निर्धारण गर्न सक्दैन । संसदमा दस प्रतिशत पनि उपस्थिति नभएका दलहरुले विभिन्न समुदायको माग पूरा भएन भन्दै देशमा अवरोध सिर्जना गर्नु जनताकै अपमान हो । यस अर्थमा मधेसी मोर्चामा आवद्ध दलहरुले मधेसका जनताकै अपमान गरिरहेका छन्, भोट हाल्न पाउने जनताको अधिकार खोसिरहेका छन् ।

स्थानीय चुनाव सम्पन्न भएमा महिला शशक्तिकरण र नेतृत्व विकासमा क्रान्ति हुनेछ । त्यसैगरी विभिन्न जातीय समुदायका सक्रिय महिला पुरुषले नेतृत्वमा पुग्ने र नेतृत्व विकास गर्ने अवसर पाउँछन् । सिंहदरबारको अधिकार जनताको घर आगनमा पुराउने स्थानीय चुनाव सार्नु तथा रोक्नु भनेको राजनीतिक अपराध हो । तसर्थ, चुनाव सार्ने तथा हुन नदिने प्रयत्नको विरुद्धमा विशेष गरी महिलाहरुले शशक्त ढंगले विरोध गर्नु आजको आवश्यकता भएको छ ।

राजनीतिक सहमति भएमा जुनसुकै बेला संविधान संशोधन हुनसक्छ । चुनाव अघि या पछि जतिबेला पनि सहमति भएमा संविधान संशोधन गर्न सकिन्छ । तर, चुनाव एकै दिन या रातमा गर्न सकिन्न । निकै लामो प्रयास र तयारीपछि मात्र स्थानीय चुनावको मिति निर्धारण गरिएको हामीले भुल्न हुँदैन । चुनावको तयारीका लागि राज्यको ठूलो साधन, स्रोत र समय खर्च भइसकेको छ । पहिले निर्धारण गरिएको मितिलाई दुई चरणमा पुराउनु गलत कार्य थियो । गलतै भए पनि अब चुनाव गर्नुको विकल्प छैन । चुनाव सार्ने कार्य देशका लागि घातक हुनेछ । चुनाव सार्ने कार्यले जनताको अधिकार खोसिने स्पष्ट छ । अत, जनताको अधिकार नखोस्न सबै राजनीतिक दलहरुसँग विनम्र अनुरोध गर्दछौं । चुनाव सार्ने र रोक्ने कार्य विरुद्ध आवाज उठाउन आम जनताका साथै समस्त महिलाहरुलाई विशेष अनुरोध गर्दछौं ।

चुनाव गराउने निर्णय र चुनावको तयारी यहाँसम्म आइपुग्नुमा मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको सहमतिले उल्लेख्य भूमिका निर्वाह गरेको छ । विगतमा यी तीन दल एक ठाउँ उभिँदा संविधान जारी गर्न सम्भव भएको थियो । अहिले पनि यी तीन दल एक ठाउँमा उभिने र अन्य दलहरुलाई विश्वाशमा लिने हो भने चुनाव सम्भव छ । किनभने जनता चुनाव चाहन्छन् । अत, मुख्य तीन दललाई विभाजित नहुन विशेष अपिल गर्दछौं र जनताको भोट हाल्ने अधिकार रक्षा गरिदिन गुहार लगाउँदछौं ।