प्रदेश २ मा राजपासँगको तालमेल एमालेको पहिलो प्राथमिकता, यस्तो छ जितको अाँकलन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रदेश २ मा राजपासँगको तालमेल एमालेको पहिलो प्राथमिकता, यस्तो छ जितको अाँकलन



काठमाडौं,साउन २६  । एमालेले आफूविरुद्ध कांग्रेस र माओवादी केन्द्रसहित मधेस केन्द्रित दलले संयुक्त मोर्चाबन्दी नगरे प्रदेश नम्बर २ को स्थानीय चुनावमा पहिलो दल बन्ने चुनावी परिणाम आँकलन गरेको छ । महासचिव ईश्वर पोखरेलको नेतृत्वमा खटिएका पदाधिकारीहरूले गरेको अध्ययन प्रतिवेदनका आधारमा एमालेले दुई नम्बर प्रदेशमा पहिलो दल बन्न सकिने आँकलन गरेको हो ।

अाजको नयाँ पत्रिकामा खबर छ– एक साता २ नम्बर प्रदेशका ८ जिल्लामा खटिएका पदाधिकारीहरूले महासचिव पोखरेललाई छुट्टाछुट्टै प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनलाई आधार मानेर चुनावी रणनीति बनाउने गरी बिहीबार छलफल हुने सचिव पृथ्वीसुब्बा गुरुङले बताए । ‘बिहीबार सचिवालयमा औपचारिक छलफल हुन्छ, त्यसपछि प्रतिवेदनका आधारमा चुनावी रणनीति बनाउँदै तयारी अभियान तीव्र ढंगले अघि बढाइनेछ’, गुरुङले भने । चुनावी आँकलनका लागि महासचिव पोखरेलको नेतृत्वमा एमालेका पदाधिकारीहरू अघिल्लो साता २ नम्बर प्रदेशका ८ वटै जिल्लामा खटिएका थिए ।

७० सिट जित्ने आँकलन 

एमालेले तराईका आठ जिल्लामा तालमेलविनै ६० देखि ६३ स्थानीय तहमा जित सुनिश्चित रहेको आँकलन गरेको छ । स्थानीय आवश्यकताका आधारमा तालमेल भए कम्तीमा थप १० तह जितिने स्थिति रहेको एमालेले जनाएको छ । ‘मुख्य प्रतिस्पर्धा कांग्रेसँगै हुन्छ तर, उसले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हिम्मत गर्न सकेको छैन, गुरुङले भने,‘एमालेलाई मधेसविरोधी भनेर चलाइएको हल्ला र भ्रम तोडिएको छ, त्यसैले कांग्रेसले माओवादी केन्द्र र मधेस केन्द्रित दलसँग महागठबन्धन नगरी प्रतिस्पर्धामा आउने हो भने हामी कम्तीमा २५-३० सिटको अन्तरले सहजै पहिलो दल बन्छौँ ।’

चुनावी आँकलनका लागि ईश्वर पोखरेल–बारा, विष्णु पौडेल–पर्सा, घनश्याम भुसाल–रौतहट, प्रदीप ज्ञवाली–सिरहा र सर्लाही, योगेश भट्टराई–धनुषा, पृथ्वीसुब्बा गुरुङ–महोत्तरी, गोकर्ण विष्ट–सर्लाही र भीम आचार्य–सप्तरी खटिएका थिए ।

राजपासँगको तालमेल प्राथमिकतामा 

राष्ट्रिय जनता पार्टीले चुनावमा भाग लिने-नलिने निर्णय गरिनसके पनि एमालेले दुई नम्बर प्रदेशमा उसँगको तालमेललाई प्राथमिकतामा राखेको छ । कांग्रेसबाहेक राजनीतिक दलसँग तालमेलका लागि खुला रहने नीतिअन्तर्गत स्थानीय आवश्यकताअनुसार राजपासँग तालमेल गर्ने नीति प्राथमिकतामा रहेको सचिव गुरुङले बताए । त्यस्तै, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिक नेपालसँग पनि तालमेलका लागि एमाले खुला रहने भएको छ । एमाले २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले पनि राजपाले आवश्यकता ठान्दा तालमेल हुन सक्ने बताए ।