एमालेको नयाँ लोगो विवादमा: कानुनी उपचार खोज्ने तयारी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एमालेको नयाँ लोगो विवादमा: कानुनी उपचार खोज्ने तयारी



काठमाडौं- नेकपा (एमाले) को नयाँ लोगो विवादित बनेको छ । भर्खरै सम्पन्न विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको हो ।

नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्ने हँसिया हथौडालाई एमालेको लोगोमा विवादित तरिकाले प्रयोग गरिएकाले उक्त लोगो विवादमा परेको हो ।

माओवादीका कतिपय नेताहरूले यसबारे प्रश्न समेत उठाउन थालेका छन् । त्यतिमात्र होइन माओवादी केन्द्रका एक नेताले आफ्नो पार्टीको चुनाव चिन्ह एमालेले लोगोमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

चुनावी तालमेल गरेर पछि पार्टी नै एकता गरेका एमाले र माओवादीबीच अहिले अत्यन्त तितो सम्बन्ध बनेको छ । यस्तो अवस्थामा माओवादीले आफ्ना मतदाता तान्नका लागी एमालेले यस्तो हत्कण्डा अपनाएको आरोप लगाएको छ ।

यसअघि एमालेले वर्गाकार कोठामा सानो साइजको हँसिया हथौडा राखेर त्यसको मुनि युएमएल लेखिएको लोगो प्रयोग गर्दै आएको थियो । भर्खरै सम्पन्न विधान महाधिवेशनले पुरानो लोगो परिवर्तन गरी सूर्यभित्र गोलाकार आकारको हँसिया हथौडा राखिएको लोगो पारित गरेको छ ।

एमाले माओवादी मिलेर बनेको तत्कालीन नेकपाले प्रयोगमा ल्याएको लोगो नै विधान महाधिवेशनले पारित गरेको हो । एमाले र माओवादीबीच पार्टी एकता हुँदा दुवै पार्टीका चुनाव चिन्हलाई मिलाएर लोगो प्रयोगमा ल्याइएकोमा पार्टी विभाजनपछि पनि एमालेले त्यसैलाई निरन्तरता दिएको छ ।

माओवादीका नेताहरूले यसबारे कानुनी उपचार खोज्ने तयारी समेत गरेको बुझिएको छ । उनीहरूले एमालेको जनमत घटेकाले सेन्टिमेन्ट बटुल्न यस्तो हर्कत गरेको आरोप लगाएका छन् ।