एमालेको बैठक अगाडी एमाले र माओवादी नेताबीच साढे दुई घण्टा गोप्य वार्ता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमालेको बैठक अगाडी एमाले र माओवादी नेताबीच साढे दुई घण्टा गोप्य वार्ता



काठमाडौं -फेरि वाम एकताको लागि पहल भैरहेको चर्चाबीच नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूबीच वार्ता भएको छ । एमालेको सचिवालय बैठक बस्नुअघि सोमबार बिहान एमाले र माओवादीका केही नेताबीच वार्ता भएको हो । स्थानीय निर्वाचनको समिक्षा लगायतका बिषयमा एमालेको सचिवालय बैठक आज बस्दै छ । एमालेको बाथक अगाडी भएको उक्त वार्तालाई अर्थपूर्ण मान्न सकिन्छ ।

नजिकिंदै गरेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि सके बाम गठबन्धन बनाउने नभए अहिलेको गठबन्धन फुटाउनुपर्ने बाध्यतामा रहेको एमालेले माओवादी नेताहरूसँग लगातार संवाद गरिरहेको छ ।

यसैबीच एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)बीच सोमबार बिहान गोप्य वार्ता भएको स्रोतले बताएको छ । वार्ताबारे दुवै पक्षले केही खुलाएका छैनन् । तर उक्त वार्ता एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जानकारीमै भएको स्रोतको दाबी छ। दुई नेताबीच ललितपुरको कुसुन्ती नजिकैको एक घरमा छलफल भएको स्रोतको दाबी छ । उनीहरूबीच करिब साढे २ घण्टा वार्ता भएको बताइएको छ ।

यो वार्ताअघि पनि आइतबार साँझ एमाले र माओवादीका नेताहरूबीच छलफल भएको बताइएको छ । एमाले र माओवादीका नेताहरूले प्रचण्ड र ओलीबीच संवादको प्रयास गरिरहेको बताइएको छ । पछिल्लो समय एमाले र माओवादीका नेताहरूबीचको भेटलाई निकै गोप्य राख्ने गरिएको छ ।

अहिले रहेको गठबन्धन कायमै रहे आउने निर्वाचनमा एमालेलाई झनै अफ्ठ्यारो पर्ने एमालेकै नेताहरूले बताउने गरेका छन् । गठबन्धन भत्काउन मात्र सकिएको खण्डमा एमालेलाई सजिलो हुने एमालेको आंकलन छ ।

एमाले अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रममा बाम एकता सम्भव नरहेको र गठबन्धन भत्काउन आफूहरू नलाग्ने बताए पनि एमालेका केहि नेताहरूलाई सके बाम गठबन्धन नभए गठबन्धन भत्काउने जिम्मा दिएको बताइन्छ। एमालेका अधिकांश नेताहरु बाम गठबन्धनको पक्षमा उभिएका छन् भने माओवादीका धेरैजसो नेता पनि बाम गठबन्धनका पक्षमा छन् ।

एमालेले पछिल्लो समय रणनीति पनि फेरेको बताइन्छ । बाम गठबन्धन गर्न नसकिएपनि सत्ता गठबन्धन भत्काउने उनीहरूको पहल छ । त्यसका लागि विभिन्न नेताहरूले विभिन्न चरणमा छलफल गरिरहेका छन् ।यदि त्यसो हुन नसकेको खण्डमा माओवादी केन्द्र र एकीकृत समाजवादीका असन्तुष्ट नेताहरुसँग सम्वाद गर्ने एमालेको रणनीति छ ।