एमाले-माओवादी एकताको बहस : यस्तो छ सहमति ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एमाले-माओवादी एकताको बहस : यस्तो छ सहमति !



काठमाडौं / असोज १७

प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन् । यी दुई पार्टीबीच यस विषयमा औपचारिक रूपमै छलफल सुरु भएको छ । दुवै पार्टीका अध्यक्षसहितका शीर्ष नेतृत्व तहले नै एउटै कम्युनिस्ट पार्टी बनाउने विषयमा छलफल चलाएका छन् ।

तीन दिनयता शीर्ष तहमा चुनावी तालमेलदेखि पार्टी एकताका विषयमा केन्द्रित छलफलपछि दुवै पार्टी एकताकै तहमा पुगेका हुन् । दुई वामपन्थीबीच एकता हुने स्तरसम्मै छलफल चलेपछि राजनीतिक तहमा नयाँ तरंग पैदा भएको छ । आजको अन्नपूर्णमा खबर छ-यसबारे टुंगोमा पुग्न शीर्ष नेतृत्वबीच मंगलबार थप छलफल हुने माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘दुवै पार्टी नेतृत्वका बीचमा छलफल गर्दै जाँदा तालमेल र पार्टी एकतासम्मकै प्रस्ताव बनेको हो’, नेता श्रेष्ठले भने, ‘पहिलेदेखि दुई पार्टीबीच छलफल चल्दै आएको थियो, अहिले त्यसले बढी मूर्तता पाउन लागेको हो । तर, टुंगोमा पुगिसकेका छैनौं । भोलि (मंगलबार) हामी दुवै पार्टीको शीर्ष तहमा छलफल गरेर एउटा टुंगोमा पुग्ने प्रयास गर्छौं ।’

पार्टी एकताकै लागि निर्णय लिन दुवै पार्टीले एकता संयोजन समितिसमेत गठन गर्ने भएका छन् । त्यसका लागि निर्णयमा पुग्न एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू माधवकुमार नेपाल र वामदेव गौतम अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू श्रेष्ठ र रामबहादुर थापाले जिम्मेवारी पाएका छन् । आइतबार बसेको एमाले स्थायी समिति र माओवादी केन्द्रको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गरी निर्णयमा पुग्न जिम्मेवारी दिएको हो ।

स्रोतका अनुसार मंगलबार शीर्ष नेतृत्वबीचको छलफलले चुनावी तालमेलको रणनीति बनाउने र चुनावलगत्तै पार्टी एकता गर्ने गरी तत्काल एकता संयोजन समिति गठन गरेर जाने तयारी भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सँगै एकता प्रक्रियामा ल्याउनेसम्मको छलफल पनि दुई पार्टीबीच भएको छ ।

‘एकता र धु्रवीकरण प्रक्रियालाई कसरी अगाडि बढाउने भन्नेमा हाम्रो पार्टीले अध्यक्षसहितको तीनजनाको टोलीलाई जिम्मा दिएको छ । सम्भव भएसम्म अरू पार्टीसँग पनि छलफल गर्छौं । वैद्य (मोहन वैद्य)जी पनि हुनुहुन्छ, विप्लव (नेत्रविक्रम चन्द), बाबुरामजी सबैसँग छलफल गर्छौं’, नेता श्रेष्ठले भने, ‘मुख्यतः भोलि (मंगलबार) हामी पार्टीमा भएको छलफलका आधारमा एमालेसँग बसेर एउटा निष्कर्षमा पुग्छौं ।’

एमाले सचिव योगेश भट्टराईले पनि प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा वामपन्थी शक्तिसँग तालमेल गरी पार्टी एकतासम्मै जाने गरी छलफल चलेको बताए । ‘अहिलेको समयको माग धु्रवीकरणको हो । एउटा कम्युनिस्ट र अर्काे पुँजीवादीहरूबीच धु्रव्रकरण हुनुपर्छ । त्यसैका लागि हाम्रो प्रयास हो’, सचिव भट्टराईले भने, ‘पहिले आगामी निर्वाचनमा वामपन्थी शक्तिसँग तालमेल गरेर बढी वामपन्थी शक्तिलाई जिताउने र त्यसपछि पार्टी एकताका लागि प्रक्रिया अगाडि बढाउने भन्ने हो।’

संविधान निर्माणपछि एमाले र माओवादी दुवैले समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशा अगाडि सारेका छन् । तर, यसको मोडालिटी कस्तो हुने भन्नेमा भने छलफल बाँकी नै छ । अहिले सत्तालाई केन्द्रित गर्ने र सरकारमा आफ्नो नियन्त्रण कायम राख्ने गरी वामपन्थीहरूको एउटै केन्द्र निर्माण गर्न दुवै पक्ष तयार भएपछि पार्टी एकताको पहल भएको हो ।

यी दुई पार्टीका बीचमा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारकै बेला पनि पार्टी एकतासम्मकै छलफल चलेको थियो । तर, त्यस बेलाको भद्र सहमति तोडिएपछि माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएको थियो । त्यसयता पनि पार्टी एकताको छलफल भने चलेको नेताहरूले बताएका छन् । दुवै पार्टीले एउटा देशमा एउटै कम्युनिस्ट पार्टी हुनुपर्छ भन्ने निर्णय यसअघि नै गरेका थिए । माओवादीले २०६४ सालमै यो विषयमा निर्णय लिएको थियो । मंगलबारको छलफल निष्कर्षमा पुगे दुवै पार्टी अध्यक्षले संयुक्त वक्तव्य दिने तयारी छ ।

गठबन्धन नतोडिने

एमालेसँग चुनावी तालमेल र पार्टी एकता प्रक्रिया अगाडि बढे पनि कांग्रेससँगको माओवादी गठबन्धन भने नतोडिने भएको छ । चुनावी रणनीतिका लागि सरकारको गठबन्धन बनेको र चुनाव नजिकिएका कारण कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने र माओवादीले सरकार छाड्ने काम भने नगर्ने समझदारी देखिएको छ ।

माओवादी केन्द्रका नेता श्रेष्ठले पनि माओवादीले सरकार नछाड्ने बताए । ‘एमालेसँगको छलफल हाम्रो वैचारिक राजनीतिक कुरा हो । सरकारको गठबन्धनसँग त्यसको साइनो-सम्बन्धको कुरा होइन । सरकारको गठबन्धन हामीले अहिले छाड्छौं भन्ने पनि हुँदैन, छाड्दैनौं पनि । यो चुनाव गराउने सरकार हो’, उनले भने, ‘हामीले वैचारिक राजनीतिक आधारमा तालमेल, एकताको कुरा गर्न पहलकदमी, भूमिकाको कुरा गरेका हौं । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, हामी सरकारबाट हट्ने वा सरकारलाई अल्पमतमा पारेर अर्काे सरकार बनाउने, सरकार फेर्ने कुरा होइन।’

यी हुन् समझदारी

– बहुदलीय जनवाद र माओवादी केन्द्रले २०५२ सालमा सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्ध (जनयुद्ध)लाई बहसमा लैजाने ।
– आसन्न निर्वाचनमा एमाले ६० र माओवादी केन्द्र ४० प्रतिशतमा रहने गरी उम्मेदवारी मिलाउने ।
– आगामी सरकारको प्रमुख र पार्टी नेतृत्व बाँडफाँट (अलग-अलग) गरेर जाने ।
– पार्टीको नाम फेर्ने ।
– एकता संयोजन समिति गठन गर्ने ।
– सूर्य चुनाव चिह्न लिएर लड्ने, यसलाई माओवादीले ठूलो विषय नबनाउने
– समाजवादी क्रान्तिको मोडालिटी तयार पारेर अघि बढ्ने ।