एमाले–माओवादी मिल्दा किन रूवाबासी :ओली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमाले–माओवादी मिल्दा किन रूवाबासी :ओली



काठमाडौँ /कात्तिक २१ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार मिल्ने दुई पार्टी मिल्दा कांग्रेसले रुवाबासी गर्न नहुने बताएका छन् ।

दुई वाम पार्टी नेकपा एमाले र माओावादी केन्द्रको साझा घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताका लागि कांग्रेससँग मिल्दा ठीक हुने तर अरु दल मिल्दा बेठीक हुने कुरा स्वीकार्न नसकिने बताए ।

‘हिजो कांग्रेसलाई सत्तामा पुर्याउन माओवादीले मिलिदिँदा कांग्रेसलाई ठीक हुने तर आज दुई कम्युनिस्ट मिल्दा अधिनायकवाद आउने ?’, ओलीले प्रश्न गरे, ‘विचार मिल्ने पार्टी एक ठाउँमा उभिनु स्वभाविक हो । यसका किन र केका लागि रुवाबासी ?’

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई पार्टीको साझा घोषणापत्र सर्वोत्वकृष्ट रहेको बताउँदै सत्ताका लागि नभइ देश विकासका लागि दुई पार्टी मिल्न लागेको बताए । ‘महान कामका लागि, राष्ट्र निर्माणका लागि हाम्रो घोषणापत्र सर्वोत्कृष्ट छ’, उनले भने, ‘यसले महान कामको पनि थालनी गर्ने छ । साझा घोषणा पत्र जारी गरेको पत्याउन समेत अरु दललाई अफ्ठेरो भएको छ ।’

चुनाव लड्न नभइ देश बनाउन साझा घोषणापत्र ल्याएको जिकिर ओलीको थियो । ‘हामीले चुनाव लड्न होइन, देश बनाउन घोषणा पत्र ल्याएका हौँ’, उनले भने, ‘यो अबलम्बन गर्न नसक्नेलाई गारो होला, देशको विकास हेर्न चाहनले हाम्रो प्रयासलाई सकारात्मक रुपमा लिनुहुन्छ ।’

लोकतन्त्र कसैले ल्याइदिएको उपहार नभएको ओलीको जिकिर थियो । ‘लोकतन्त्र कसैले ल्याईदिएर उपहार दिएको होइन । लोकतन्त्रको लागि त्याग गरेको पुस्ता यहाँ छ । लोकतन्त्रलाई निष्ठामा मात्र सीमित राख्नु हुँदैन’, उनले भने ।

जनताले वाम गठबन्धनलाई पत्याएको बताउँदै अब देशको विकासमा केन्द्रि हुने बताए । ‘कसैकसैले मैले भनेको कुरा भनेर बङग्याएर चर्चा गरेका छन् । हामीले हाम्रो संसदीय व्यवस्था छानेका छौँ’, उनले भने, ‘तानाशाही व्यवस्थालाई मात्र गाली गर्ने हो । हामीले अमेरिकालाई गाली गर्नुछैन । नेपाली सबैलाई आफ्नो अधिकार प्रयोग गर्ने अवसर छ । हामी लोकतन्त्रप्रति प्रतिबद्व छौं । यसमा कसैले भ्रम नछरे हुन्छ ।