एमालेका नेताहरू माओवादी केन्द्रमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमालेका नेताहरू माओवादी केन्द्रमा



काठमाडौं- अदालतले ब्युँताइदिएपछि जिल्ला र स्थानीय स्तरमा एमाले र माओवादी केन्द्रको बैठक बस्ने क्रम शुरु भएको छ । माओवादी केन्द्रको जिल्ला र स्थानीय स्तरको पार्टी बैठकमा भने केही नयाँ दृश्य देखा परेका छन् ।

चैत १३ गते नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको पहिलो जिल्ला कमिटी बैठकमा तत्कालीन एमाले नेता गणेश खड्काले त्रिवेणी गाउँपालिकामा पार्टीको गतिविधि र अवस्थाबारे रिपोर्टिङ गरे । त्यो बैठक एक भइसकेका माओवादी केन्द्र र एमाले फेरि अस्तित्वमा आएपछि माओवादी केन्द्र रुकुम पश्चिमको पहिलो बैठक थियो ।

चैत १७ गते चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकामा बसेको माओवादी केन्द्रको बैठकमा पनि केही एमाले नेताको सक्रिय सहभागिता रह्यो । चौरजहारी नगर पार्टीको बैठक सञ्चालन तत्कालीन एमाले नेता वीरबहादुर रानाले गरे भने बाँफिकोट गाउँपालिका पार्टी बैठक एमालेकै बेगमप्रसाद देवकोटाले सञ्चालन गरे । खड्का, राना र देवकोटा माओवादी केन्द्रमा रहेका तत्कालीन एमालेका जिल्ला सदस्यहरू हुन् । पार्टी एकताका बेला जुन जिम्मेवारीमा यी तीन जना नेता थिए सोही जिम्मेवारीमा हाल नेकपा माओवादी केन्द्रमा छन् ।

तीन जना मात्रै होइन, चौरजहारीका प्रेम शाह, नारायण खनाल, खोम भण्डारी पनि माओवादीमै छन् । बाँफिकोटका नगेन्द्र रिजाल, कविप्रसाद शर्मा, देवी सुनार, मणिराम गौतम पनि माओवादीमै छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल शर्माले रुकुम पश्चिममा पार्टी एकतालाई कायमै राख्ने प्रयास भइरहेको र त्यसको उदाहरणको रूपमा उनीहरू माओवादी केन्द्रमा रहेको बताए । नामका हिसाबले माओवादी केन्द्र भए पनि एकताको स्पिरिटअनुसार नै काम भइरहेको अध्यक्ष शर्माले जनाए । अन्यत्र जे–जस्तो भए पनि रुकुम पश्चिमबाट एकता कायमै छ र त्यसका लागि नेता–कार्यकर्ता उत्साहित छन् भन्ने उदाहरण उनीहरूले दिएको अध्यक्ष शर्माले उल्लेख गरे ।

तर, ओली पक्षको नेकपा एमाले रुकुमले भने उनीहरूलाई स्पष्टीकरण सोधेको छ । चैत १२ गते जिल्ला अध्यक्ष टंक ओलीको अध्यक्षतामा बसेको बैठकले त्रिवेणी गाउँपालिकाका गणेश खड्का, बाँफिकोट गाउँपालिकाका बेगम देवकोटा र चौरजहारी नगरपालिकाका वीरबहादुर रानालाई स्पष्टीकरण सोधेको हो । उनीहरू सँगै चौरजहारीका खोम भण्डारी, प्रेम शाह र नारायण खनाललाई पनि स्पष्टीकरण सोधेको छ । पार्टी संगठनविरुद्ध माओवादीमा गएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधेको जनआस्थाले लेखेको छ ।