एमालेमा १० बुँदे कार्यन्वयन गर्न ८ बुँदे निर्णय: बुँदा सहित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमालेमा १० बुँदे कार्यन्वयन गर्न ८ बुँदे निर्णय: बुँदा सहित



काठमाडौं- नेकपा एमालेले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ ।

मंगलबार तुल्सीलाल अमात्य प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकले १० बुँदे प्रस्ताव कार्यान्वय सम्बन्धमा विभिन्न ८ निर्णय गरेको छ । बैठकपछि बोल्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदे प्रस्ताव कार्यान्वय सम्बन्धमा विभिन्न ८ निर्णय गरिएको जानकारी दिए ।

यस्ता छन् बैठकका निर्णयहरु

१.पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वयन कमिटी जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने । १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटी तथा पार्टी सदस्य समक्ष प्रेसित गर्ने ।

२. १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न कार्यदल बनाइएको छ। उक्त कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

३.२०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नविकरण अगाडि बढाइने । नविकरणको क्रममा एकीकरणको क्रममा आवद्ध भएका सदस्यहरूको पनि नविकरण गरिने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यहरूको पनि नविकरण असोज मसान्तसम्म गर्ने निर्णय भएको छ ।

४. पार्टीको विधान महाधिवेशन यही असोज ४,५ र ६ गते काठमाडौंमा गर्ने र पार्टीको १० औं महाधिवेशन २०७८ मंसिर १०, ११ र १२ मा गर्ने निर्णय। विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटी बैठक आयोजना ।

५.पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्नको लागि देशैभर २०७८ साल कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीको अधिवेशन गर्ने ।

६.पार्टीको पछिल्लो निर्णय सम्प्रेषण गर्नको लागि २०७८ साल भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकहरूको उपस्थितिमा सबै जिल्लामा जिल्ला कार्यकर्ता भेला र जनसंगठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गरिनेछ।

७.पार्टी केन्द्रीय कमिटीको बैठक भदौ १० गते काठमाडौंमा आयोजना हुनेछ।

८. यसलगायत अन्य निर्णय र यसको दूरगामी परिणाम र समसामयिक राजनीतिक प्रभाव र राजनीतिक स्थितिबारे प्रष्ट पार्न भोलि पार्टी अध्यक्षलगायत नेताको उपस्थितिमा ११ बजे पत्रकार सम्मेलन गरिने।