एमाले केन्द्रीय सदस्यद्वारा मेयर हर्क साम्पाङविरुद्ध उजुरी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमाले केन्द्रीय सदस्यद्वारा मेयर हर्क साम्पाङविरुद्ध उजुरी



काठमाडौं- नेकपा एमाले नेतृ मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईविरुद्ध उजुरी दिएकी छन् ।

उनले साम्पाङ विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी हुन् । एमाले नेतृ भण्डारी धरानकी निवर्तमान उपमेयर समेत हुन् । पत्रकार सम्मेलन गर्दे एमाले केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले उजुरी गरेको जनाकारी गराएकी छन् ।

भण्डारीका अनुसार मेयर साम्पाङले आफ्नो आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’बाट सामाजिक तथा जातीय सद्भाव बिथोल्नेगरी आफ्नो फेक आइडी बनाएर लेखिएको पोष्ट सम्प्रेषण गरेको भन्दै उजुरी गरेको बताइन । उनका अनुसार आफू बाध्य भएर उजुरी गरेको समेत बताएकी छन् ।

बाध्य भएर साइबर अपराधविरुद्ध उजुरी दिनुपरेको भण्डारीले दाबी गरेकी छन् । भण्डारीले बिहीबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दे मेयर साम्पाङले सम्प्रेषण गरेको स्क्रिनसट आफ्नो नभै फेक आइडि बनाएर कुकृत्य गरेकी बताईन ।

उनले भनिन्,‘योभन्दा अगाडि पनि मेयर हर्क साम्पाङले मेरो तस्बिर जोडिएको फोटो पोष्ट गरेपछि मैले साइबर क्राइमबारे सचेत गराएकी थिएँ। तर, उहाँले सच्चिनुको साटो झन् सामाजिक सद्भाव खलबलाउने गरि फेक आइडी बनाएर त्यसको स्क्रिम सर्ट पोष्ट गरेपछि म बाध्य भएर उजुरी दिनुपरेको हो।’यो अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन्।

धरानको सामाजिक सद्भाव खलल पुग्ने खालको कार्य भएकोले चुप लागेर बस्न नसकिएको पनि उनले बताइन्। भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको बताइन्।

‘मेरो स्वभाव पनि त्यस्तो होइन, मेरो चरित्र पनि त्यस्तो छैन। आजसम्म मैले त्यस्तो केही गरेको छु र?’ उनले भनिन्,‘जातीय द्वन्द्व निम्त्याउने किसिमको बिषयवस्तु राखेर फेक आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोष्ट गरेकोप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ।‘ उनले भनिन् ।

उनले बराह पीडितहरु धेरै एमाले, कांग्रेस, माओवादी हुनसक्ने भएपनि पार्टीले राजनीतिकरण नगरेको र संलग्नता नरहेको पनि बताइन्। ‘बराहका बचतवकर्ताहरुले पैसा फिर्ता पाउनुपर्छ, बराहले इमान्दारिताका साथ फिर्ता गर्नुपर्छ,’उनले भनिन्।बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पनि भण्डारीको आरोप छ।

आइतबार बराह सहकारीका सेयर सदस्य तथा वचतकर्ताहरु धरान उपमहानगरपालिकामा घेराउ गर्न पुगेका थिए। त्यसबेला मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र? भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै पीडितहरुले मेयरविरुद्ध नाराबाजी र कार्यकक्षको शिशा तोडफोडसमेत गरिदिएका थिए।

उक्त घटनापछि मेयर साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले गएको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरको उम्मेद्वार मण्जु भण्डारीको प्रचार गरेको तस्बिरसहित पोष्ट गरेका थिए। यो तस्बिर पोष्ट गरेपछि मेयर साम्पाङ र नेकपा एमालेका नेता, कार्यकर्ताहरुबीच फेसबुक वार सुरु भएको थियो।

यता, मेयर साम्पाङ भने आफूले कुनै पनि पार्टीलाई दोष नदेखाएको बताए। आफ्ना अञ्जान समर्थकहरुले गरेको पोष्टहरुबारे आफू अनुभिज्ञ रहेको पनि उनले बताए। पूर्वउपमेयर भण्डारीको आइडि स्क्रिनसटबारे उनले भने, ‘जे लेखिएको छ त्यही पोष्टमा छ। मैले त जातीय बिद्धेषमा जानु हुँदैन भनेर भनेको छु।’

उनले आफू सामाजिक सञ्जाल प्रयोग गरेर नै चुनाव जितेर मेयर बनेको जिकिर गर्दै सामाजिक सञ्जालमा आफूलाई आक्रमण गर्नेलाई नछोड्ने बताए। ‘सामाजिक सञ्जाल प्रयोग गरेर नै म चुनाव जितेर आएँ, मलाई आक्रमण गर्नेलाई म छोड्छु त,’ उनले भने।