गठबन्धनविरुद्ध एमालेको रणनीति : तत्काल पर्ख र हेर, पछि आक्रामक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गठबन्धनविरुद्ध एमालेको रणनीति : तत्काल पर्ख र हेर, पछि आक्रामक



काठामाडौं-
कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल ‘आक्रामक प्रतिवाद’ नगरी ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको छ । सत्ता सहकार्यसँगै एक वर्षदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समेत निरन्तरता दिने गृहकार्य गरिरहेका वेला एमालेले ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको हो । यद्यपि, चुनाव सकिएपछि भने आक्रामक प्रतिवाद गर्ने एमालेको तयारी छ ।

 

एक वर्षअघि वाम गठबन्धन टुटेपछि एमाले र माओवादी केन्द्रका नेताहरूले तिक्तता पोखिरहेका छन् । तर, माओवादी केन्द्रले कांग्रेससँगकै गठबन्धन रुचाए पनि एमालेले भने उसका विरुद्ध तत्काल आक्रामक प्रतिवादमा नजाने नीति अख्तियार गरेको हो । उदार पुँजीवादी कार्यक्रम बोकेको कांग्रेस र समाजवादी कार्यक्रमको नीति अख्तियार गरिरहेको माओवादी केन्द्रको दुई परस्परविरोधी नीति र दलको गैरराजनीतिक गठबन्धन भएकाले कुनै पनि वेला तिक्तता बढ्ने र सरकारको कार्यशैलीले गठबन्धन भत्किन सक्ने आसमा एमाले देखिएको छ । विदेशी शक्तिको इसारामा आफूविरुद्ध दुई दलले मधेसकेन्द्रित दललाईसमेत मिलाएर निर्वाचनलक्षित बृहत् मोर्चाबन्दीको प्रयास गरिरहेको बुझाईमा एमालेले कार्यकर्तालाई एकताका साथ सामना गर्ने गरी तयारी थाल्न निर्देशन दिँदै आएको छ ।

‘एक साताकै बीचमा प्रचण्डका विभिन्न खाले अभिव्यक्तिहरू आइरहे पनि हामी प्रतिक्रियात्मक हुने पक्षमा छैनौँ । आवश्यकता परे चुनावी प्रक्रिया सुरु भएपछि जवाफ दिन्छौँ,’ एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘माइन्डसेट नै अर्कै भएकाले आफ्ना कर्मका निम्ति माओवादी साथीहरूले भित्तामा बेस्सरी टाउको ठोक्काएर नोक्सानी नबेहोरुन्जेल गठबन्धनमा पुर्नविचार गरिहाल्नुहोलाजस्तो पनि देखिन्न ।’ उनले माओवादी केन्द्र सोचमा पुनर्विचार गर्न तयार नभएसम्म सहकार्यका लागि एमाले औपचारिक संवाद गर्ने पक्षमा पनि नरहेको स्पष्ट पारे ।

एक्लै प्रतिस्पर्धा, तालमेलको ढोका खुल्ला 
कांग्रेसलाई मुख्य चुनावी प्रतिस्पर्धी ठानिरहेको एमालेले ऊबाहेकका दलसँग स्थानीय, प्रदेश र प्रतिनिधिसभामा हुन सक्ने तालमेलको ढोका खुल्ला राखेको छ । ‘हामी मूलतः आफ्नै खुट्टामा उभिएर प्रतिस्पर्धा गर्छौं । तर, स्थानीय आवश्यकताअनुसार तालमेलकोे ढोका खुल्लै राख्छौँ,’ ज्ञवालीले भने, ‘तालमेलबाटै चुनाव जित्ने र कुनै दलविरुद्ध मोर्चाबन्दी गर्ने हाम्रो नीति छैन ।’

गठबन्धनको धरातलमाथि प्रश्नै–प्रश्न 
एमालेले माओवादी केन्द्रलाई चिढ्याइहाल्ने नीति नलिए पनि सत्तापक्षको गठबन्धनको सैद्धान्तिक पक्षमाथि भने दर्जनौँ प्रश्न उठाउँदै प्रचार गर्ने नीति अख्तियार गरेको छ । विदेशीको दबाबमा राष्ट्रिय हित र लोकतन्त्रविरुद्ध दुई दलको गठबन्धन बनेको, अपवित्र गठबन्धनमार्फत माओवादी केन्द्रले सैद्धान्तिक, वैचारिक धरातल समाप्त पारेकोजस्ता प्रश्न उठाएर एमालेले प्राथमिकताका साथ प्रचार गरिरहेको छ । एमालेले आफूविरुद्ध लक्षित बृहत् मोर्चाबन्दीले कुनै पनि दलसँग एक्लै निर्वाचन लड्ने सामथ्र्य नरहेको प्रचार गरेर कार्यकर्ता र जनताको ‘सेन्टिमेन्ट’ जित्ने प्रयासलाई प्राथमिकता दिएको छ । विदेशी शक्ति, सत्ता, संसद्, संवैधानिक अंग, प्रशासनिक संयन्त्र आफूविरुद्ध रहेको जनाएर कार्यकर्तालाई मिहिनेतका साथ खट्न एमालेले उत्साहित गरिरहेको छ ।

नयाँ पत्रिकाबाट