शंकर पोखरेलको दाबी: अघिल्लो निर्वाचनमा भन्दा यस पटक एमालेको सात लाख मत बढ्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शंकर पोखरेलको दाबी: अघिल्लो निर्वाचनमा भन्दा यस पटक एमालेको सात लाख मत बढ्यो



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले विगतमा हासिल गरेकोभन्दा सिट संख्या केही बढाएको देखिएको भए पनि अघिल्लो निर्वाचनको तुलनामा जनमत घटेको बताए।

शनिबार एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका वामपन्थी दलहरूले आफ्नो शक्तिमा ठूलो क्षति बेहोरेको बताएका छन्।

‘२०७४ सालको स्थानीय निर्वाचनमा उसले १७ प्रतिशतको हाराहारीमा जनमत प्राप्त गर्न सफल भएको थियो। आज त्यो जनमत घटेर १३ प्रतिशतमा पुगेको छ’, महासचिव पोखरेलले भने।

उनले अब नेकपा माओवादी नेपालको वामपन्थी आन्दोलनका रुपमा नरहेको दाबी पनि गरे। अलग शक्तिको रुपमा उसले स्वतन्त्र भूमिका खेल्न सक्दैन भन्ने कुरा यो स्थानीय तहको निर्वाचनले प्रमाणित गरेको छ,’ उनले भने, ‘अब उसका लागि नेपालको राजनीतिमा अस्तित्व रक्षाका लागि कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यता आफैंले खडा गरेको छ।’

पोखरेलले एमालेको प्रतिस्पर्धी अब माओवादी वा एकीकृत समाजवादी नभई नेपाली कांग्रेस मात्रै भएको बताए।
२०७४ सालको निर्वाचनमा भन्दा यसपटक आफूहरुले जितेको स्थान कम भए पनि लोकप्रिय मत भने बढाएको उनले बताए। अघिल्लो पटकभन्दा यसपटक झन्डैझन्डै सात लाखको हाराहारीमा मत वृद्धि गर्न सफल भएको उनले बताए। आफूहरुले २१ प्रतिशत मत वृद्धि गरेको उनले बताए।‘जनमतको यो खालको वृद्धि असाधारण वृद्धि हो’, उनले भने।

कांग्रेसले भने १९ प्रतिशत मत वृद्धि गरेको उनले बताए। कांग्रेसको जितलाई उनले प्राविधिक भने। ‘जनताका बीचमा, पार्टीलाई स्थापित गर्ने कुरामा, नेपाली कांग्रेस सफल भएर उसले जित हासिल गरेको होइन। उसको जित भनेको प्राविधिक जित हो’, उनले भने।

पोखरेलले पाँच दलीय गठबन्धन आफ्नो विरुद्ध खडा भएको र आफूहरुले मुकाबिला गरेको बताए। तर पाँच दलको योजना भने असफल बनाएको उनको दाबी छ। ‘पाँच दलीय गठबन्धनले हाम्राविरुद्ध जे योजना बनाएको थियो, त्यो योजना हामीले पूर्णतया असफल बनायौं। त्यस मामिलामा हामी सफल भएका छौं’, उनले भने।