एकपछि अर्को तनावमा केपी ओली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एकपछि अर्को तनावमा केपी ओली



काठमाडौँ- अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीमा सिन्डिकेट लगाएको भन्दै नेकपा एमालेमा अर्को विद्रोह हुने संकेत देखिएको छ । जिल्ला अधिवेशनपछि एमालेभित्र विद्रोहको ज्वाला भड्किएको छ । पार्टीको माथिल्लो तहदेखि स्थानीय स्तरसम्म अध्यक्ष केपी शर्मा ओलीले सिन्डिकेट लगाएको भन्दै नेताहरूले असन्तुष्टि जनाउने क्रम जारी छ ।

चितवनमा सकिएको महाधिवेशनपछि पार्टीमा केहि सहमति बढ्दै गएको र जिल्ला अधिवेशनले त्यसलाई मलजल गरेको नेताहरूले बताउन थालेका छन् । अधिवेशनको नाममा संस्थापन पक्षले एकलौटी गरेको र ओलीले सिन्डिकेट लगाएको भन्दै असन्तुष्टि चर्किंदै गएको छ ।

असन्तुष्टिसँगै पार्टीमा लामो समय काम गरेका पुराना र त्यागी नेताहरुले नै एमाले छोड्न थालेका छन् । एमालेमा चर्किएको विवाद र असन्तुष्टिका कारण केहि नेताहरूले पार्टी छाडेर अर्को पार्टीमा लागेका छन् भने कतिपयले सक्रिय राजनीतिबाटै सन्यास र विश्रामको घोषणा गरेका छन् ।

यसरी सन्यास र विश्रामको घोषणा गर्ने नेताहरुमा नवलपुर र दाङका पुराना नेताहरु अग्रपंक्तिमा रहेका छन् । नवलपुर जिल्लाका पुराना नेता जीवन श्रेष्ठलाई संस्थापन पक्षले पाखा लगाएपछि उनले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्दै सन्यास लिनेबारे सार्वजनिक गरेका छन् ।

नवलपुरमा एमाले जिल्ला अधिवेशनका क्रममा ५ दिन बन्दसत्र चलेपछि इन्चार्ज तिलक महतले सहमति जुटाउने नाममा चुनावी प्रक्रिया नै स्थगित गर्न पुगे । चुनावी प्रक्रिया स्थगित गरेर महतले अध्यक्षका आकांक्षी जीवन श्रेष्ठलाई ‘बाइपास’ गरेर मुक्तिराम पाण्डेलाई अध्यक्ष घोषणा गरे ।

जबकी यो जिल्लामा श्रेष्ठको पक्षमा ८० प्रतिशत मतदाता रहेको एमाले कार्यकर्ताहरु नै बताउँछन् । यसरी पाण्डेलाई एमालेको अध्यक्ष घोषणा गरेपछि मतदातामा लोकप्रिय रहेका र अध्यक्षमा दाबी गरेका नेता श्रेष्ठले आफूमाथि अन्याय भएको भन्दै राजनीतिबाट सन्यासको घोषणा गर्न बाध्य भए । श्रेष्ठ यसअघि एमालेको जिल्ला सचिव र उपाध्यक्ष समेत भइसकेका हुन् । संविधानसभा सदस्य समेत भइसकेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत अब सक्रिय राजनीतिमा नआउने सार्वजनिक रुपमा घोषणा गरेका छन् ।

उनले लेखेका छन्-

म जीवन श्रेष्ठ २०२९ साल देखि झापा विद्रोहबाट प्रभावित भई अनेरास्ववियु नजिक रहि २०३० साल देखि अनेरास्ववियु छैटौंमा आबद्ध रहेको र २०३२ सालबाट अनेरास्ववियुमा सङ्गठित भइ नेकपा (केर के) नेकपा माले हुदै एमालेमा सङ्गठित भइ २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गाविस उपाध्यक्ष र २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित भइ संविधान घोषणा सम्म भुमिका निर्वाह गरेको र नेकपा एमाले पार्टीमा गाउँ कमिटि, इलाका, क्षेत्रीय कमिटीको सदस्य र प्रमुख भुमिका निर्वाहा गर्दै २०५४ साल देखि पार्टी जिल्ला कमिटीको सदस्य, २०६३ मा उपाध्यक्ष र २०६९ सालदेखि सचिब पदको भुमिका निर्वाह गर्दै आइरहेको र पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनको बखत पार्टी एकता र सुदृढ गर्दै “सम्मृद्ध नेपाल सुखि नेपाली” को आकाङ्क्षा पुरा गर्ने अभियानमा अभिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका (२०७८/०९/२७) मिति देखि सकृय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु।

मेरो ४२ बर्षको राजनितिक सकृय जिवन यात्रामा मलाइ साथ सहयोग गर्नुहुने सम्पुर्ण जन, नेकपा एमाले पार्टी र राजनितिक शिक्षा(दीक्षा दिनुहुने नेतागण र साथ सहयोग दिनुहुने पार्टी कार्यकर्ता र हरेक मोर्चा , आन्दोलनमा एक्यबद्धता प्रकट गर्नुहुने तथा मतदान गर्नुहुने सम्पुर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु। यस उप्रान्त जनताको प्रतिनिधि र सेवकको रुपमा सदैव सेवारत रहने प्रतिबद्धता समेत जाहेर गर्दछु।
जीवन श्रेष्ठ, कावासोती ३, नवलपुर, गण्डकी प्रदेश ।

त्यस्तै दाङका नेता टीकाराम खड्काले पनि नेतृत्वबाट सही मूल्यांकन नहुँदा विश्राम लिने घोषणा गरेका छन् । उनीहरु दुबै जिल्ला अध्यक्षको दावेदार थिए ।

नवलपुरका श्रेष्ठपछि सक्रिय राजनीतिबाट विश्रामको घोषणा गर्ने अर्का पात्र हुन्, दाङ एमालेका निवर्तमान अध्यक्ष टीकाराम खड्का । पुराना कम्युनिष्ट नेता खड्कामाथि नेतृत्वले न्याय गरेको भए उनी यतिवेला एमालेको स्थायी समिति सदस्य बनिसकेका हुने थिए । तर, नेतृत्वले पछिल्लो समय उनलाई जिल्ला अध्यक्षको जिम्मेवारी समेत दिन उचित ठानेन र महासचिव शंकर पोखरेलका विश्वासपात्र हुकुम बस्नेतलाई अध्यक्ष घोषणा गर्यो ।

आफूभन्दा धेरै जुनियरलाई अध्यक्ष बनाएपछि अन्ततः उनले सक्रिय राजनीतिबाटै विश्राम लिने घोषणा गरेको बताइन्छ । पुस २३ गते सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमार्फत खड्का पुन जिल्ला अध्यक्ष बन्न चाहन्थे । तर, उनलाई अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्ष बनाउने संकेत सम्म देखाएन । कारण थियो खड्का विगतमा माधव नेपाल निकट भनेर चिनिन्थे । यद्यपी माधव नेपालले पार्टी विभाजन गर्दा उनी पार्टी विभाजनको विपक्षमा उभिदै एमालेमै रहेका थिए ।

यति हुँदा हुदै पनि नेतृत्वले आफूमाथि न्याय नगरेपछि उनले कुनै औपचारिक दावी विरोध गर्नुभन्दा, बरु सहजै राजनीतिबाट विश्राम लिने बाटो रोज्न पुगे । २० वर्षको उमेरदेखि नै विद्यार्थी संगठनमार्फत कम्युनिष्ट आन्दोलन, किसान आन्दोलनमा सहभागी हुँदै कम्युनिष्ट पार्टी संगठन निर्माणमा क्रियाशील खड्काले राजनीतिक आन्दोलनका क्रममा ८ महिना जेल जीवन समेत बिताएका थिए ।

ओलीको सिन्डिकेटविरुद्ध विद्रोह

एमालेको विभाजन हुँदा नयाँ पार्टी बनाएर बाहिरिएका माधव कुमार नेपालले ओलीले पार्टीमा सिन्डिकेट लगाएकोदेखि विभिन्न आरोप लगाएका थिए । नेता नेपालको आरोपलाई गलत भन्दै एमालेमै बसेका नेपाल समूहका नेताहरूले पनि अहिले ओलीको सिन्डिकेट नजिकबाट महसुस गरेको बताउने गरेका छन् ।

केहि नेताहरूले ओलीले पार्टीको वडा कमिटिदेखि केन्द्रसम्म बिछाएको सिन्डिकेटको जालो यो महाधिवेशनपछि झनै कसिलो पारेको बताउन थालेका छन् । सहमतिका नाममा ओली समूह (संस्थापन पक्ष)ले गरेका जबर्जस्तीकै कारण नेपालभर एमालेमा असन्तुष्टि बढ्ने र पार्टी छाड्ने क्रम जारी छ ।

एमालेका एक नेताका अनुसार ओलीले चुनावसम्म आफ्नो सिन्डिकेट जारी राखेको खण्डमा एमालेमा ठुलो बिद्रोह हुने र नेताहरूले सामूहिक रूपमा एमाले छोड्नुपर्ने अवस्था सृजना हुने बताउँछन् ।