एमालेमा १० बुँदेकै लफडा, झनै बढ्यो असन्तुष्टि - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमालेमा १० बुँदेकै लफडा, झनै बढ्यो असन्तुष्टि



काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका १० जना नेताहरुले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै आएका छन् । तर, ओली १० बुँदे हुबहु कार्यान्वयन गर्न नसकिने अडानमा छन् ।

सहमति कार्यान्वयन नहुँदा उपाध्यक्ष भीम रावलसहित १० नेताहरु असन्तुष्ट छन् । विगतमा माधवकुमार नेपाल पक्षधर ती नेताहरु पार्टी विभाजन हुँदा नेपाललाई साथ नदिई एमालेमै बसेका थिए । उनीहरुलाई १० बुँदे सहमति कार्यान्वयनको वचन दिइएको थियो ।

एमालेको कमिटी र जिम्मेवारी २ जेठ २०७५ को अवस्थामा फर्काउने १० बुँदाको मुख्य विषय हो । त्यतिबेलाको कमिटी र जिम्मेवारी अनुसार विभिन्न प्रदेशमा माधव नेपाल पक्षधरहरु इञ्चार्ज थिए । तर, ओलीले इन्चार्ज परिवर्तन गरेका छन् । त्यसप्रति रावललगायतका नेताहरु असन्तुष्ट छन् ।

उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिए । उनले पार्टीको जिम्मेवारी सहमति अनुसार हुनुपर्ने र त्यसमा कुनैपनि सम्झौता नभएको स्पष्ट पारेका छन् ।

एमालेको १० भाईमा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यका अलावा स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरा सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।