किन डराइरहेको छ इंग्ल्यान्ड ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

किन डराइरहेको छ इंग्ल्यान्ड ?



काठमाडौं । लन्डनको ऐतिहासिक मैदान लर्डस्मा आज एउटा टिम च्याम्पियन हुनेछ । जसका लागि घरेलु टोली इङल्यान्ड र न्युजिल्यान्ड आमनेसामने हुँदैछन् ।

लगतार दोस्रो पटक फाइनलमा पुुगेको न्युजिल्यान्ड विश्वकपको ट्रफी उचाल्न चाहन्छ भने इङ्ल्यान्ड २७ वर्षपछि घरेलु मैदानमा उपाधि राख्ने योजनामा छ । ४४ वर्षे विश्वकपको इतिहासमा इङ्ल्यान्ड चौथोपटक विश्वकप जित्ने लक्ष्यका साथ फाइनलमा पुगेको छ । यसअघि ३ पटक उपाधि अर्कै टोलीलाई सुम्पिएको इङ्ल्यान्डलाई फेरि फाइनलको प्रयास खेर जाने हो कि भन्ने पनि डर छ । अघिल्ला फाइनलमा इङ्ल्यान्डले वेस्ट इन्डिज, अस्ट्रेलिया र पाकिस्तानलाई उपाधि सुम्पिएको थियो ।

माइक ब्रेयरलीको नेतृत्वमा पहिलो पटक फाइनलमा पुगेको इङ्ल्यान्डले सन् १९७९ को विश्वकपमा यही मैदानमा हार्नुपरेको थियो । त्योबेला इङ्ल्यान्डले अस्ट्रेलिया, क्यानडा र पाकिस्तानलाई लिग खेलमा र सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएर फाइनलमा पुगेको थियो । तर फाइनलमा वेस्ट इन्डिजले ९२ रनको जित दर्ता गरेर विश्वकप क्रिकेटको इतिहासमा दोस्रो पटक नाम लेखेको थियो ।

सन् १९८७ मा दोस्रो पटक इङ्ल्यान्डलाई विश्वकप जित्ने मौका मिलेको थियो । सेमिफाइनलमा माइक गेटिङको नेतृत्वमा भारतलाई हराएर इङ्ल्यान्ड फाइनलमा पुगेको थियो तर अस्ट्रेलियाले ७ रनको जित हासिल गरेर पहिलो पटक इतिहास रचेको थियो ।

सन् १९९२ मा फेरि तेस्रो पटक इङ्ल्यान्ड फाइनलमा पुग्यो । तर यसपटक पनि फाइनलमा पाकिस्तानसित पराजित भएर इङ्ल्यान्डको विश्वकप जित्ने सपना साकार हुन सकेन ।

योपटक इङ्ल्यान्डले विश्वकप जित्नेबारे विभिन्न आकलन भइरहेका छन् । पहिलो आकलन यो छ कि यसपालिको विश्वकप क्रिकेटको आयोजना इङ्ल्यान्डले गरेको छ । सन् २०११ को विश्वकप भारतले जितेको थियो । यसैगरी सन् २०१५ को विश्वकप अस्ट्रेलियाले जितेको थियो । दुबै टिमले जित्ने सालमा विश्वकपको आयोजना ती दुबै टिमले गरेका थिए । तर यो पनि हो कि आफ्नै मैदानमा इङ्ल्यान्ड १९७९ मा वेस्ट इन्डिजसित पराजित भएको थियो ।

इङ्ल्यान्डले लिग खेलमा न्युजिल्यान्डविरुद्ध ३ सय ५ रन बनाएको थियो । न्युजिल्यान्डलाई इङ्ल्यान्डले १ सय ८६ रनमा सबैको विकट गुमाएर १ सय १९ रनले जितेको थियो । यतिमात्र कहाँ हो र ? उपाधि दाबेदार भारतलाई पनि इङ्ल्यान्डले ३१ रनको अन्तरले हराएको थियो । सेमिफाइनलमा अस्ट्रेलियालाई हराएर चौथो पटक इङ्ल्यान्ड फाइनलमा पुगेको छ ।

क्रिकेटका जानकारहरुले प्रतियोगिताको सुरुमै इङ्ल्यान्ड र भारत विश्वकपको दाबेदारी टिम मानेका थिए । भारत सेमिफाइनलमा ४५ मिनेटको खराब खेल खेलेर बाहिरियो । इङ्ल्यान्ड फाइनलमा पुग्नुको पछाडि सबैभन्दा बढी हात कप्तान मोर्गनको छ ।

इङ्ल्यान्डका जेसन रोय र बेयरेस्टोले जम्मा ९ सय २२ रन हानेका छन् । मध्यक्रममा रुटले ५४९ रन, बेन स्टोक्स ३८१ रन र मोर्गनले ३६२ रन बनाइसकेका छन् । बलिङतर्फ आर्चरले १९ विकेट, वुडले १७ विकेट र वोक्सले १३ विकेट लिएका छन् । यसैगरी स्पिनर राशिदले ११ विकेट लिएका थिए ।

इङ्ल्यान्डले फाइनलको दौरानसम्म आइपुग्दा ६० विकेट लिइसकेको छ । यता न्युजिल्यान्डको बलिङ पनि निकै राम्रो रहेको छ । न्युजिल्यान्डले पनि ६० विकेट लिइसकेको छ । तर फाइनलमा न्युजिल्यान्ड आफ्नो कप्तान विलिम्यसनको भरमा रहनेछ तर उता इङ्ल्यान्ड भने पूरै टिमको साथ प्रदर्शन गर्न मैदानमा उत्रने छ । बीबीसी