इपिएल आजदेखि, यसकारण विशेष छ यो वर्षको इपीएल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

इपिएल आजदेखि, यसकारण विशेष छ यो वर्षको इपीएल



काठमाडौं- चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आज (शनिबार) देखि शुरु हुदैछ । सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारी अन्तिम चरणमा पु-याएका छन् । यसपटक इपिएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी देखि भुटानका मिक्यो दोर्जीसम्मका खेलाडीले इपिएल खेल्दै छन् । टेस्ट र एसोसिएट दुबै देशका खेलाडी इपिएलमा हुँदा विश्वमा चर्चा थप बढ्नेछ । सबै फ्रेन्चाइजले आफ्नो अन्तिम टोली घोाषणा गरि सकेका छन् । सबै टोलीमा ४–४ विदेशी खेलाडी छन् । प्लेइङ–११ मा तीन विदेशी खेल्न पाउनेछन् ।

यसपटकको इपिएलमा विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स इलेभेनका दीपेन्द्रसिंह ऐरी र ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल देखिने छैनन् । दीपेन्द्र चोटका कारण नखेलेका हुन् । पारस, बसन्त र ज्ञानेन्द्रले व्यक्तिगत कारण नखेल्ने जनाएका छन् ।

उद्घाटन खेलमा उपत्यका डर्वीको काठमाडौं किङ्स इलेभेन र ललिपुर प्याट्रिएट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे हुनेछ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभेन पहिलोपटक फाइनल खेल्दै उपाधि जित्ने लक्ष्यमा छ । काठमाडौंमा पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदी छन् । तर अफ्रिदी दुई खेलमात्र खेलेर फर्कने छन् । काठमाडौंमा युवा र अनुभवी खेलाडीको मिश्रण छ ।

ब्याटिङमा सुवास खकुरेल, अमित श्रेष्ठ, राजु रिजाल, सिद्धान्त लोहनी, जिम्बावेका रयान बर्ल र अफगानिस्तानका रहमानउल्लाह गुरबाज छन् । सुरुवाती दुई खेलमा अफ्रिदी हुँदा ब्याटिङ अझ मजबुत हुनेछ । सिद्धान्त र बर्ल आक्रामक ब्याटिङको क्षमता राख्छन् । सिंगापुरका जनक प्रकाश र अमरसिंह राउटेला मध्यगतिका बलिङ अलराउन्डर हुन् । यी दुवै ब्याटर तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । विश्व स्टार सन्दीप काठमाडौंमा मुख्य हतियार हुन् । सन्दीप पछिल्लो समय उत्कृष्ट लयमा छन् । नेपाली क्रिकेटका योर्कर किंग जितेन्द्र मुखिया पनि काठमाडौंमानै छन् । कागजी रुपमा सन्तुलित काठमाडौंले उपाधि जित्न सक्छ ।

यता, साविकको विजेता ललितपुर प्याट्रिएट्स कागजी रुपमा बलियो काठमाडौंलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । कप्तान ज्ञानेन्द्र मल्ल नहुदा टोलीलाई उनको अभाव खड्कन सक्नेछ । उनले व्यक्तिगत कारण इपिएलमा नहुने आफ्नो टोलीलाई बताइसकेका छन् । युवा ब्याट्सम्यान कुशल भुर्तेलले टोलीको कप्तानी गर्नेछन् । ललितपुरले विदेशी खेलाडीको रुपमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई, श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो रहेका छन् । सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ र नागराज सिंह स्वदेशी खेलाडीको रुपमा छन् ।

लिगमा ६ टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छ । लिगमा शीर्ष दुईमा रहने टोलीबीचको पहिलो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउनेछ । तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्नेछ । उक्त खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ । फाइनल २३ असोजमा हुनेछ । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो संस्करणको उपाधि पञ्चकन्या तेज, दोस्रो विराटनगर वारियर्स र तेस्रो ललितपुर प्याट्रिएट्सले उपाधि जितेका थिए ।ललितपुरले २०१८ को फाइनलमा भैरहवा ग्ल्याडियसटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

काठमाडौं किङ्स–११ ले चौथो संस्करणको इपिएलको लागि टोली तयार रहेको जनाएको छ । काठमाडौंले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै टोली इपिएफको लागि तयार रहेको जानकारी गराएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पाकिस्तानी पुर्व अलराउन्डर शाहिद अफ्रिदीको आगमनले काठमाडौंलाई थप उर्जा मिलेको र निराश र नडराई खेल्न आग्रह गर्दै टोलीलाई जितको शुभकामना दिएका छन् । शाहिद अफ्रिदीले यसपटक नेपालमा दुई खेल मात्र खेल्ने भएपनि आगमी संस्करणमा पुरै समय खेल्ने वाचा गरेका छन् ।