ईपीएलमा कुन-कुन देशका कति खेलाडी छन् ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ईपीएलमा कुन-कुन देशका कति खेलाडी छन् ?



काठमाडौं । आजदेखि चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ । पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ खेल्दै छन् । खेल नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुनेछ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ। प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् ।

राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेल हुने जनाइएको छ । यस खेलको विजेताले फाइनल स्थान बनाउनेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो ।

इपिएलको इतिहासमा पहिलो र तेस्रो संस्करण ललितपुरले हात पारेको थियो । ललितपुरले तेस्रो संस्करणको उपाधि जित्दा कप्तान ज्ञानेन्द्र मल्ल कप्तान थिए । तर, यसपटक व्यक्तिगत कारण देखाउँदै मल्लले प्रतियोगिता सुरु हुनु तीन दिनअघि मात्र इपिएल नखेल्ने घोषणा गरेका छन् । ललितपुरले उनको स्थानमा कुशल भुर्तेललाई कप्तानीको जिम्मेवारी दिएको छ । काठमाडौं किंग्सका कप्तान सन्दीप लामिछाने छन्।

यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन् । प्रत्येक टिममा ४(४ जना गरी ६ टिमका २४ विदेशी खेलाडी प्रतिस्पर्धामा उत्रन लागेका छन् । ती २४ खेलाडी विभिन्न ११ देशका छन् । श्रीलंकाबाट सबैभन्दा बढी ८ खेलाडीले इपिएल खेल्दैछन् । यस्तै टेस्ट टिमको कप्तान भइसकेका चार खेलाडी पनि इपिएलमा छन्।

हाल बंगलादेशको एकदिवसीय टिमका कप्तान तमिम एकबालसहित पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी, जिम्बावेका टी(२० टिमको कप्तानी गरिसकेका सिकन्दर राजा र श्रीलंकाका पूर्वकप्तान उपुल थारांगा यसपटकको इपिएलमा मैदान उत्रनेछन् ।

कुन देशबाट कति खेलाडी ?
श्रीलंका – ८, अफगानिस्तान – ४, मलेसिया – २, जिम्बावे – २, वेस्ट इन्डिज – २, बंगलादेश — १, क्यानडा — १, पाकिस्तान – १, सिंगापुर – १, भुटान – १, दक्षिण अफ्रिका – १