गठबन्धन गरेका दलहरूले एउटै चुनाव चिन्हबाट लड्न पाउने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गठबन्धन गरेका दलहरूले एउटै चुनाव चिन्हबाट लड्न पाउने



अब गठबन्धन वा चुनावी तालमेल गरेका दलहरूले एउटै चुनाव चिन्हबाट चुनाव लड्न सकने भएका छन् । दुई वा सोभन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट लड्न खोजेमा यस्तो सुविधा पाउने भएका हुन् ।

शुक्रबार निर्वाचन आयोगले निकालेको सूचनामा गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट समेत निर्वाचन लड्नसक्ने सुविधा दिएको हो । आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा सो सूचना निकालेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । त्यसका लागि दुई वा बढी दलले कुनै दलको निर्वाचन चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिन पाउनेछन् । उनीहरुले आफूहरुको बाहेक अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउनेछन् ।

संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनुपर्नेछ । यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ । जुनसुकै दलबाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिनेछ ।

तर, आफूहरुले प्रयोग गरेको बाहेक नयाँ निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने नयाँ संसदीय दल गठन गर्न मिल्नेछ । त्यसरी छुट्टै निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने जुन दलको हो, त्यही दलको संसदिय दल गठन गर्न मिल्ने व्यवस्था ऐनमा छ ।

तर हालसम्म कुनैपनि दल वा गठबन्धनले यसरी निर्वाचनमा जाने निर्णय भने गरिसकेका छैनन् । ३१ साउनभित्र निर्णय नगरे उनीहरुले यस्तो सुविधा पाउदैनन् ।