इभेन्ट परियोजनामा अधिकृत लामाद्वारा करोडौँ भ्रष्टाचार, मापदण्ड नपुगेका विद्यालय छान्दै रकम असुल्दै- (भाग १) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

इभेन्ट परियोजनामा अधिकृत लामाद्वारा करोडौँ भ्रष्टाचार, मापदण्ड नपुगेका विद्यालय छान्दै रकम असुल्दै- (भाग १)



शिक्षा, विज्ञान  तथा प्रविधि मन्त्रालय अन्तरगतको इभेन्ट परियोजना (दोस्रो) मा करोडौँ रकम भ्रष्टाचार भएको खुलासा भएको छ ।

इभेन्ट परियोजनाअन्तरगत ‘सूचना र प्रविधिमैत्री कक्षाकोठा निर्माण’ कार्यक्रममा परियोजनाका शाखा अधिकृतले नै करोडौँ रकम भ्रष्टाचार गरेको खुलेको हो ।

परियोजना शाखाका अधिकृत अष्ट लामाले आशयपत्रको गलत ढंगले मूल्यांकन गरी करोडौँ भ्रष्टाचार गरेको स्रोतले बतायो ।

परियोजनाले गत साउन २६ गते गोरखापत्रमा सूचना प्रकाशित गरी  ‘सूचना र प्रविधिमैत्री कक्षाकोठा निर्माण’का लागि बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रअनुसार पेस भएका आशयपत्रको गलत ढंगले मूल्यांकन गरी मापदण्ड नै पूरा नभएका विद्यालय छनौट गरेर अधिकृत लामाले भ्रष्टाचार गरेको स्रोतको दावी छ ।

लामाले मापदण्ड नपुगेका विद्यालय छनौट गर्नका लागि प्रति विद्यालय ६ देखि १० लाखसम्म अग्रिम कमिसन माग्ने गरेको र कमिसन नदिने विद्यालयलाई योजना नदिने गरेको स्रोतको दावी छ ।

‘अधिकृत लामाले मापदण्ड नै नपुगेका विद्यालय छनौटका लागि पहिल्यै प्रति विद्यालय ६ देखि १० लाखसम्म घुस माग्ने र घुस नदिने विद्यालयलाई योजना नदिने गर्नुभएको छ’, स्रोतले हिमालपोस्टसँग भन्यो, ‘घुस दिने विद्यालयलाई भने मापदण्ड नपुगे पनि उहाँले योजना दिने गर्नुभएको छ ।’

इभेन्ट परियोजना दोस्रोले ‘सूचना र प्रविधिमैत्री कक्षाकोठा निर्माण’का तीन चरणमा गरेर १५० विद्यालय छनौट गरेको छ । तीमध्ये अधिकांश विद्यालय मापदण्डभन्दा बाहिरका छन् ।

लामाले आफै तथा अन्य विचौलिया व्यक्तिहरुको प्रयोग गरेर घुस लिने गरेको एक प्रधानध्यापकले बताए । उनले लामाले बढी घुस माग गरेपछि योजना परेका विद्यालयले पनि कम गुणस्तरका सामान प्रयोग गरेर योजना पूर्ण गर्ने गरेको बताए ।

‘३२ लाखको योजनामा ८–१० लाख उहाँहरुलाई नै बुझाउनु परेपछि विद्यालयले योजना सम्पन्न गर्न कम गुणस्तरका सामान प्रयोग गर्न बाध्य छन्’, ती प्रधानध्यापकले हिमालपोस्टसँग भने । राम्रा र मापदण्ड पूरा भएका विद्यालय छनौट गर्दा कमिसन नआउने भएका कारण लामाले मापदण्ड पूरा नभएका विद्यालय छनौट गर्ने गरेको उनको दावी छ।

अधिकृत लामा लामो समयदेखि इभेन्ट परियोजना रहेर परियोजनालाई भ्रष्टाचारको अखडा बनाउँदै आएका छन् । उनले भ्रष्टाचारकै रकमबाट देश–विदेशमा भ्रमण गर्ने, हाकिमहरुलाई खुसी पार्ने काम गर्नुका साथै अकुत सम्पत्ति समेत जोडेको स्रोतले बतायो ।

परियोजनामा लामाको ज्यादति बढ्दै गएको र मन्त्रालयले पनि त्यसमा वस्ता नगरेको ती प्रधानध्यापकको आरोप छ । उनले लामाले विद्यालयहरुसँग घुस मागेको प्रमाण हिमालपोस्टलाई समेत उपलब्ध गराएका छन् ।

ती प्रधानध्यापकले चुनावलगत्तै आफूहरु इभेन्ट परियोजना र अधिकृत लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने तयारी गरिरहेको बताए ।

यस विषयमा अधिकृत अष्ट लामासँग बुझ्न पटकपटक फोन सम्पर्क गर्दा पनि लामा सम्पर्कमा आएनन् । यस परियोजनाबारे हामीले थप फलोअप गरिरहेका छौँ ।