कथा :अपेक्षा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कथा :अपेक्षा



एकबर्ष अगाडि देशको पहाडी भेगमा निकै ठुलो वर्षा भयो।पहाडी जिल्लाको पूर्वी भेग अर्चलेमा पनि असिना पानीले नछुने कुरै भएन।एक्कसी टन्टलापुर घामलाई कालो बादलको ठुलो ठुलो धब्बाहरुले चारैतिर आध्यारो गराईदियो अनि बर्सिन थाल्यो असिना पानी।असिना ले नाङ्गो डाडापाखा यसरी ढाकेको थियो कि हिमाल नै बसाई सारेर यता पहाडमा झरे जस्तो।भर्खरै मात्र बिदा भएको जाडोले फेरि एक पटक आफ्नो प्रभुत्व जमाउदै थियो।बाकसमा थन्क्याईएका ज्याकेट एकाएक फेरि झिक्नुपर्ने अवस्था आयो।

त्यो दिन बिधालय बन्द थियो मतलब शनिवारको दिन।म गाउकै बिधालयमा सामाजिक विषय पढाउथे।जाडो जाडो महसुस भइरहेको कारण साथीहरू सङ्ग भेटघाट गर्न सक्ने अवस्था पनि थिएन।म आफ्नै सुत्नेकोठाको खाटमा केही पढ्दै थिए।खाटभरी मेरा किताबहरू छरपस्ट थिए।गारोमा तेर्साईएको ठुलो काठमा मेरो केही जोर कपडाहरू आत्महत्या गरेकाहरु झैँ झुन्डिएर बसेका थिए मलाई गिज्याउदै।म आफ्नो नजर पुस्तकमै केन्द्रित गर्दै थिए।आचनक बाहिरबाट बाहिनी सुनिता अत्तिएर चिच्याउदै थिई
“दाइ दाइ,तल आउनुस त छिटो?”
“भन के भयो?किन आत्तिएकी यसरी?” मैले भर्‍याङबाट अत्तिदै ओर्लेर प्रश्न गरिदिए।

“अपेक्षा दिदीको श्रीमान् लडाइमा पारेर बित्नु भयो रे,दिदी बेहोसीमा हुन्हुन्छ रे” सुनिताले डराई डराई भनी।उसले यति भन्न नपाउदै म पनि बेहोसी जस्तै भए।भर्खरै मात्र निकै जाडोबाट बच्न खोजेको यो शरीर एक्कासि पसिनै पसिना भएर आयो।यो समाचारले मेरो बिस्तारै जोडीसकेको मुटुलाई फेरि मासु पसलेले मासु छिनमै टुक्रा टुक्रा पारे जसरी टुक्रा टुक्रा पारिदियो।मेरो मुटु सात/आठ सेकेन्डको भूकम्पले भत्किएर अवशेष मात्र बाकी रहेको दरबार,भवन जस्तै भयो।मैले आफूलाई सम्हाल्न सकिरहेको थिएन।आमाबाबु भान्साकोठामा आगो ताप्दै बसिरहनुभएको थियो सुनिता उतै दौडेर गैइ।म बिस्तारै बिस्तारै आफ्नो कोठासम्म आउन सके।

म आफ्नो खाटमाथि लम्पसार भएर लडिरहे।मेरो मनदेखि माष्तिस्कसम्म,मेरो रगतभरी अनि नशा नशामा एउटै नाम छाईरह्यो,मेरो मनस्पटालमा एउटै नाम गुन्जिरह्यो ‘अपेक्षा’।अपेक्षा लाहुरे बाउको एक्ली छोरी थिई।गाउको आफ्नो भागको अंश आफ्नो भाइ धने काकालाई सुम्पिएर लाहुरे बाले सहर तिरै घर किन्नुभएको थियो।तर ठुला ठुला चाडपर्वमा भने लाहुरे बा अनि उसको परिवार गाउबाट कहिल्यै अछुतो हुनुभएन।दसैँ,तिहार अनि ठुला चाडपर्व र भोजभतेरको लागि गाउमा आउनुहुन्थ्यो।दशैको बेला थियो।गाउलेहरु हर्ष उल्लास मनाईरहेका थिए।जे होस वर्षमा एकचोटि मात्र आउने दसैँ पर्वले सबैको घर घरमा खुसी ल्याएको थियो।म करिब बाह्र तेह्र वर्षको थिए,म पढाइमा खासै टगडा थिइन तर नाच्न गाउन भनेपछि म खादै गरेको भात छोड्न सक्थे भनौ नाचगानमा मेरो नराम्रो लत बसिसकेको थियो।अपेक्षालाई त्यसदिन मात्र चिनेको थिए जुन दिन दशैको कालरात्रीको दिन थियो।गाउको नाजिकै मौला बजारमा सानोतिनो मेला हुने गर्दथ्यो।कालरात्रीको दिन मेला हेर्न आसपासका गाउहरुबाट मान्छेहरू भेला भएका थिए सानो सानो स्पिकर सोलारको ब्याट्रीको माध्यमबाट बजाईएको थियो।मेलामा हाम्रै स्थानीय क्लब जनजागृती युवाक्लबको सांस्कृतिक कार्यक्रम थियो।त्यो बेला प्राय केटा केटा वा केटी केटी नाच्ने गरिन्थ्यो।यदि केटा केटी सङ्गै नाचेको खण्डमा मान्छेहरूले अर्कै नकारात्मक तरिकाबाट सोच्ने गर्दथे।त्यति बेला शिव श्रेष्ठ र कृष्टी मैनालीले खेलेको फिल्म चिनोको मोहनी लाग्ला है गीत निकै हिट थियो।

त्यो मौला मेलामा म पनि शिव श्रेष्ठ भएर आफ्नो प्रस्तुति राख्नेवाला थिए।अब म आफ्नो प्रस्तुतिको लागि तयार भएको थिए।उद्घोषक दाजुले स्पष्ट आवाज नाआएको माइक्रोफोनबाट झ्यार झ्यार गदै नाम उद्घोष गर्नुभयो “अब आफ्नो प्रस्तुति राख्नको लागि म यसक्लबका भाइ झम बहादुर थापा र बाहिनी अपेक्षा रानालाई मन्चमा निम्त्याउछु।” एक छिन त म ट्वाल्ल परेर बसे किनकि मेरो नाम सङ्गै अर्की एक जना केटीको नाम पनि उद्घोष भएको थियो।केहिबेर सम्म त म को होला अपेक्षा भन्ने केटी,कस्ती होली,कहाकी होली यस्तै सोच्दै सोच्दै बसिरहे।म मन्चमा जादै थिए मेरो पछि पछि मेरै दौँतरी जस्तो देखिने गोरी गोरी अनि मेरै जत्रो ज्यान भएकी पाल्पाली ढाकाको चोली लगाएकी एउटी केटी आएकी थिई अर्थात् अपेक्षा।म मन्चमा पुगेर हेरेको हेर्यै उसलाई ।दर्शकदिर्घबाट तालीको निकै ठुलो फोहोरा उठ्यो,भर्खरका तन्नेरी केटाहरूले सिर्‍रर सिठी बजाए,ताली निकै बेरसम्म बजिरह्यो तर यसको कारण म होइन अपेक्षा थिइन।गीत बज्न थाल्यो “मोहानी लाग्ला है,गाउलेको बोलीले..”।सधैँ एक्लै नाच्ने मलाई आज केटीसाथीको साथ मिलेको थियो,उनी सङ्ग नाच्दा यसरी खुसी भए कि मैले कुन बेला कस्तो हाउभाउ गरे त्यो समेत मलाई थाहा भएन मात्र नाचिरहे उनीसङ्गै।

गीत पनि कस्तो मेरै लागी गाए जस्तो,मनमनै गीत गाउनेहरुलाई धन्यवाद दिँदै नाचिरहे।सधैँ शिव श्रेष्ठ भएर नाच्ने मैले त्यो दिन साच्चिकै कृष्टी मैनालीलाई भेटाएको थिए।उसले गीतमा मलाई पाईनन होला तर मैले भने उसलाई त्यो गीतमा पाइरहे।मैले उसलाई मोहनी लगाउन सके या सकिन तर उसले मलाई मोहनी लगाएरै छाडी।म उ सङ्गको पहिलो भेटमै मोहित भए उसले मलाई मोहनी लगाई।गीत सकियो हामी दुबैजनाले निहुरेर नमस्कार गर्दै बाहिर आयौ।त्यसपछि उनी कहाँ गैइन थाहा भएन मैले उसलाई कति खोजे तर भेटिन।हाम्रो प्रस्तुतिबाट प्रभावित हुँदै विदेशबाट आउनुभएको एक जना दाइले रु पाँच सय रुपियाँ दिनुभएको थियो।म त्यो पुरस्कार लिन गईन तै पनि उ आउछे कि भनेर तर उनी आईनन।त्यो रात मनमा यति खुल्दुली बढ्यो कि मैले छर्लङ्ग अनिदो भएर त्यो रात कटाएको थिए।

भोलिपल्ट अपेक्षा मेरो घरमै आईन।उनी मेरो घरमा आउँदा म लज्जित भए।उनीसङ्ग आखामा आँखा जुधाएर बोल्न सकिन।म निहुरिएर बसिरहे।उनीले नै भनिन “तिमि हिजो म सङ्गै नाच्ने केटा होइनौ?झम बहादुर तिमि नै हौ?”
“उम,हो”
“तिमि कतिमा पढ्छौ”
“म त भर्खर छ कक्षामा पढ्छु अनि तिमि नि?” यत्तिबेला अलि सजिलो महसुस गर्दै मैले भनिदिए।
“म त स्ट्यान्डर्ड थ्री मा पढ्छु” उसले भनी।मैले बुझ्न सकिन म एकोहोरो उसलाई हेरेर मात्र बसिरहे।फेरि उसैले जवाफ दिई “स्ट्यान्डर्ड थ्री भनेको तिमि जस्तै छ कक्षा भनेको हो क्या”
“अब हामी साथी बन्ने है?”उसले हात दिँदै भनी।मैले नि लजाई लजाई हात दिँदै “हुन्छ” भनिदिए।त्यस दिन मेरो शरीरमा छुट्टै किसिमको तरङ्ग उत्पन्न भइरहेको थियो।जब कि हामी साथी मात्र बनेका थियौ तर मैले उसलाई मनमनै म पराईसकेको थिए।हासोलाग्दो कुरा त यो थियो कि उसलाई आफ्नो जिबनसाथी बनाउछु भनेर सोचेको थिए त्यो पनि तेह्र वर्षको कलिलो उमेरमै।
“तिमि कत्ती राम्रो नाच्दो रहेछौ नि?” उसले मेरो नाचको तारिफ गर्दै थिई म भने लाजले भुतुक्कै भए,मेरो मुहार रातोपिरो भयो।
“तिमि पनि त कस्तो राम्री नाचेकी थियौ नि” मैले डराई डराई भनिदिए।
“हामी सहरमा पढ्नेहरू त उता बेला बेलामा नाचिरहन्छौ नि” उसले भनी।मैले नजानिदो पारामा सोधे “मैले सहरमा तिमि सङ्गै पढ्नलाई के गर्नुपर्छ त?”

“तिमीले सहरमा पढ्नलाई यहाँ गाउको स्कुलमा फर्स्ट हुनुपर्छ,अनि मात्र सहरमा पढ्न पाइन्छ” उसको यो जवाफले बिस्तारै छाईरहेको मेरो अनुहारको चमक एक्कसी गायव भयो।म फतक्कै गलेको जस्तो भान भयो।म बल्ल बल्ल पाँच कक्षा उतिर्ण भएर छ कक्षामा आएको मान्छेको लागि फर्स्ट हुनुभनेको आकशको फल,आँखा तरि मर भनेजस्तै थियो।त्यो दिन मेरो मन प्रश्नहरूको भण्डार जस्तै बनेको थियो।मनमा धेरै प्रश्नहरू खेलिरहेको थियो “के म उनी जस्तै सहरमा पढ्न सक्ने बन्न सक्छुहोला?” के मैले जस्तै उसले पनि भित्र भित्रै मलाई मन पराउछिन होली?” यस्तै यस्तै।
भोलिपल्ट फेरि बिहानै मेरो घरमा आएर उसले भनी
“झम बहादुर,मलाई त तिम्रो नाम भन्न कस्तो अप्ठ्यारो भैराको छ,थाहा छ मैले तिम्रो लागि एउटा राम्रो नाम सोचेकी छु”
“के नाम?” मैले अत्तिदै भने।
“जीवन,अब देखी तिम्रो नाम जीवन भयो है” उसले फेरि हर्षित हुँदै भनी “अब राम्रो सङ्ग पढ ल,हामी पछि सहरमा सहरमा सङ्गै पढ्नुपर्छ नि है”

म पनि भित्र भित्रै निकै खुसी भए।मेरो मन मयुरले आफ्नो प्वाँख फिजाएर नाचे जस्तै भएको थियो।उसले मेरो नाम मात्रै परिवर्तन गरेकी थिईनन,मेरो जीवन प्रतिको कलिलो बालमाष्तिष्कले सोच्ने धारणा नै परिवर्तन गरिदिकी थिई।साच्चिकै उ कति असल थिई।सहरमै।बस्ने भए पनि उसमा पटक्कै घमण्ड थिएन।सबै गाउँले साथीहरूसङ्ग मिलेर खेल्थी।मलाई उसको यही बानीले समेत आफ्नो बनाउन कर गरिरहेको थियो।

“बाबु जीवन खाना खान आइज त” आमाले तल भान्साकोठाबाट बोलाउनु भएको बेला पो म झसङ्ग भए।म त मेरो बाल्यकालको प्रेमलाई सम्झदै पो रहेछु।कोठाबाटै मैले “खान्न आमा” भनिदिए।म फेरि आफ्नो विगतलाई स्मरण गर्न खोज्दै थिए।

त्यो दसैँ बिदा सकिएपछि अपेक्षा सहर गैइ।मैले उ सङ्गै पढ्नकै लागि भनेर निकै मिहेनत गरे।वास्तवमा प्रेममा त्यस्तो तागत हौसला प्रेरणा हुदोरहेछ भन्ने कुरा मैले बिस्तारै महसुस गर्दै थिए।चाहे बाल्यकालको होस या चाहे परिपक्व उमेरको,अखिर साचो मनले मायागर्नेहरुको लागि त प्रेम भनेको प्रेम नै हुदोरहेछ।मैले निकै मिहेनत गरेको थिए त्यो बेला,मैले कक्षा छ पाचौ स्थानमा उतिर्ण गर्न सफल भए तर कारण एउटै थियो उनी सङ्गै पढ्न सकियोस।उनी जब गाउँ आउथी सबैभन्दा पहिले मलाई नै भेट्थी अनि मेरो पढाइको कुरा गर्थी।उसले मलाई राजेश हमाल भन्थी अनि आफूलाई करिश्मा मानन्धर भनेर आफूले हेरेको फिल्मको कहानी सुनाउथी।म पनि निकै चाखलाग्दो पाराले उसको कहानी सुनिदिन्थे।तिमि पनि राजेश हमाल जस्तै धेरै पढ ल जीवन अनि मात्र त्यो फिल्ममा जस्तै करिश्मा मानन्धरले मन पराए जस्तै म तिमीलाई मन पराउछु भन्थी।उसको म प्रतिको यस्तो चासोले उसले पनि मलाई मन पराएको महसुस गर्थे,मैले उसलाई माया नगर्ने त कुरै थिएन।

मैले उसले भनेजस्तै रातदिन मिहेनत गरेको थिए।छ कक्षाबाट सात कक्षामा म द्वितीय स्थान हासिल गर्न सफल भए।यसरी दिन बित्दै गयो।बेला बेला गाउँ आएको बेला उसले ममा हौसला अनि मायाको पोको पारेर मलाई सुम्पिएर जान्थिन।म त्यही हौसला अनि प्रेरणाबाट प्रेरित थिए।सात कक्षामा त म प्रथम स्थान नै हासिल गर्न सफल भए।साँच्चै अपेक्षालाई भेटे देखी मेरो जीवनले अर्कै मोड लिएको थियो।अपेक्षा मेरो प्रेमिका मात्रै थिइनन,मेरो तागत,प्रेरणा,हौसाला पनि थिई।उ प्रतिको मेरो माया दुबो जस्तै मौलाउदै थियो तर दुर्भाग्य मैले त्यत्तिबेलासम्म उसलाई मन पराउछु भनेर भन्न सकिरहेको थिएन।

मैले एसएलसी परीक्षा पनि प्रथम श्रेणीमा उतिर्ण गरेको थिए।एसएलसीको नतिजा प्रकशित भएको दिन म यति खुसी भएको थिए कि त्यो खुसी कुनै शब्दले वर्णन गर्न सक्दैनथ्यो।ओलम्पिकमा गोल्ड मेडल जित्नेहरुको खुसी पनि मेरो खुसीको अगाडि फिक्का हुन्थ्यो।अब मेरो बर्षौ देखिको सपना पुरा भएको थिए अर्थात् मैले अब अपेक्षा सङ्गै पढ्न पाउने भएको थिए।म +2 पढ्न सहर पसेपछि हाम्रो मित्रता झन् झंगियो।हामी दिन प्रतिदिन यति नजिक भयौ कि म उसलाई मेरो सबै समस्याहरू नडराई भन्न सक्थे र उसले पनि।तर हामी एकाअर्काको यति नाजिक भएको बाबजुद पनि मैले उसलाई कहिल्यै मनको कुरा भन्न सकिन न त उसले नै भन्न सकी।हाम्रो झंगिएको मित्रताको अगाडि मेरो मनमनै पलाएको कलिलो प्रेमको मुनाले कहिल्यै ठाउँ पाउन सकेन भनौ मैले ठाउँ नै खोजिन।

जब म उसलाई प्रेम प्रस्ताव राख्छु भन्ने सोचमा हुन्थे तब हाम्रो बर्षौ देखिको मित्रता टुट्ने पो हो कि यही डरले म आफ्नो अंकुरण हुन थालेको प्रेमको बिउको भ्रुणहत्या गरिदिन्थे।म उसको साथी बन्न चाहन्थे स्वार्थी होइन तेसैले उसलाई प्रेम प्रस्ताव राख्ने हिम्म्त जुटाउन कहिल्यै सकिन।मेरो बर्षौ देखिको प्रेम यत्तिकै खेर गयो।मैले मनमनै उसलाई मन पराउन पाएको थिए म यसैमा खुसी थिए।तेसो त मैले प्रस्ताव नै राखेको भए उसले स्वीकार गर्थिन या गर्दिनथी त्यो छर्लङ्ग हुन्थ्यो।म कि वार हुन्थे कि पार हुन्थे तर त्यति सम्म पनि गर्न सकिन मैले।साँच्चै म लाक्षी थिए।

केही समयपछि उसको आफ्नै बाको पल्टनको एक लाहुरे सङ्ग बिहे भयो।बिहे तानसेनकै ठुलो होटेलमा भयो।मलाई बिहेमा निम्तो नाआउने कुरै थिएन।म बिना त उसको बिहे बेहुला बिनाको बिहे जस्तै नै हुन्थ्यो किनकि म उसको सबैभन्दा मिल्ने साथी।उसले मलाई आफ्नो हरेक सुखदुःखमा सामेल गराउने बानी बसालेकी थिइन।म उसको बिहेमा त गएको थिए केवल औपचारिकता निभाउनको लागि मात्र।उता उसलाई सबैले आशीर्वाद दिइराखेका थिए,म त्यही होटेलको एउटा कुनामा मुकदर्शक बनेर त्यो सब हेरिरहेको थिए।उसको मुहारमा मैले कुनै उज्यालोपन देखिरहेको थिइन।मलाई थाहा थियो उसको आखाले मेरो आखालाई केही भन्न खोजिरहेको छ।उ घरी घरी मलाई हेर्थी अनि फेरि आफूलाई सम्हाल्न खोज्थी।मेरो मनमा पनि ठुलो पहिरो गएको थियो।मैले तिखो कडाहरुबाट जोगाई राखेको मेरो बेलुन एउटा सियोको टुप्पोले फुटाईदियो। जसोतसो आफूलाई सम्हालेर ती दुई नव बिबाहित जोडीलाई आशु थामी थामी बधाई सम्म भन्न भ्याए।त्यसदिन पछि फेरि उसलाई भेट्ने आट कहिल्तै गर्न सकिन।सुन्थे उ खुसी छिन रे अनि आफूलाई सम्हाल्न खोज्थे।

अखिर त्यो प्रेम बाल्यकालको न थियो,त्यै पनि एकतर्फी,यही शब्दहरूले मेरो मन भुलाउन ठुलो भूमिका खेलिरहेको थियो।उसैको सङ्गतले मैल आज गाउकै बिधालयमा सामाजिक विषय पढाउन सक्ने भएको थिए।शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्न चाहने मैले उसको लागि सामाजिक विषय रोजेको थिए।जे होस उसले मेरो जीवनमा ठुलो गुण लगाएकी छे यगि सोच्दै आफ्नो मनभित्र गुम्सिएक प्रश्नहरूको उत्तर दिने प्रयत्न गरिरहे।

त्यस दिन एक्कसी उसको दाम्पत्य जीवनमा एउटा ठुलो घात गरेको थियो दैवले।उसको जिन्दगीको रथको एउटा पांग्रा पन्चर भएछ,सधैँ सधैको लागी।उ कति पिडामा होली मलाई त्यस रात त्यही कुराले पिरोली रह्यो।कतिबेला उसको सामु उडिजाउ जस्तो भएको थियो।म त्यही दिन उसलाई भेटेर उसको आशु पुछ्न चाहन्थे। एउटा साथीको भूमिका निभाउन चाहन्थे।तर यसरी आफ्नो पति बितेको महिना नपुग्दै अन्य परपुरुष अर्थात् म सङ्ग भेटघाट गर्दा यो समाजले उसलाई के संज्ञा देला मलाई सोच्न बाध्य बनायो।यो समाजले एउटी एकल नारी माथि हेर्ने दृष्टिकोणले मलाई उसको साथी होइन स्वार्थी बन्न बाध्य गराएको थियो।त्यस घटनापछि एकबर्षसम्म मलाई तानसेन जान मन नै लागेन।जाने काम नै पर्दा पनि म लुकीलुकी हिडिरहे।

धेरै समयपछि आज विशेष कामले तानसेन आएको थिए।तर त्यो विशेष मान्छे अपेक्षा थिई।म उसलाई भेट्न मेरो गाउबाट तानसेन आएको थिए।मैले बसपार्क बाट टुडिखेल जाने बाटोमै उसलाई भेटे।सेतो कुर्तामा भेटिएकी उसको मुहारमा कुनै चमक थिएन।उ दुखी देखिएकी थिइन।मेरो मन पनि त्यसै दुखी भैदियो।मैले उसलाई नजिकैको चिया पसलमा चिया पिउदै तस गफ गरौँ भने उसले मेरो अनुरोध सहर्ष स्वीकार गरी।उ मलिन मुहार लिएर बसेकी थिई।मैले चियाको पहिलो चुस्की लिदै भने “अपेक्षा मलाई माफ गरिदेउ ल,तिमि जुन पिडादयी अवस्थामा गुज्रेकी थियौ त्यो बेला मैले तिमीलाई भेट्न सकिन,तिमि प्रति थोरै भए पनि सहानुभूति प्रकट गर्न सकिन।”
“जीवन,सुरेशले सधैँ साथ दिन्छु भनेर मलाई आफ्नो बनाएको थियो तर आज आफै म बाट टाढा हुनुभयो।भागवन सङ्ग मेरो एउटै गुनासो किन उसले मलाई एकल नारी नै बनाउनु भयो?किन मलाई यो उमेरमै एउटी एकल नारी भएर जिउन बाध्य पार्नुभयो?” उसको आखामा टिलपिल आशु देखिरहेको थिए।

“तर अब सबै ठिक हुन्छ अपेक्षा,फेरि हामीलाई भागवनले एकचोटि भेट गराएको छ ” मेरो कुरा सकिन नपाउदै उसले केही आपत्ति जनाए जस्तै भनी “मतलब ?”

“हो अपेक्षा,म तिमीलाई सानैमा भेटेकै दिन देखी माया गर्थे,जब हाम्रो शरिरिक विकास हुँदै गयो मेरो मनमा तिमीप्रतिको मायाले झन् ठुलो ठाउँ लिदै गएको थियो,म लाक्षी थिए,तिमीलाई कहिल्यै माया गर्छु भनेर भन्न सकिन,मलाई माफ गरिदेउ ल” “म पनि तिमीलाई धेरै माया गर्थे जीवन,तर म एउटी केटी मान्छे तिम्रो अघि कहिल्यै माया गर्छु भन्न सकिन,थाहा छ मैले बिहे भएको दिन सम्म तिमीले माया गर्छु भन्छौ कि भनेर पर्खिएरहेको थिए तर तिमीले तेसो गरेनौ” अफ्नो आखाको आशु पुछ्दै उसले भनी।मैले पनि आफ्नो शिर निहुराएर अपराधबोध गरे।

मैले केही बोल्न सकिन।फेरि उसैले भनी”जीवन,म समाजको नजरमा एकल नारी भएको छु तर म एक्ली छुईन,मलाई बुझ्ने आमाबाबु जस्तो सासुसासुरा पाएको छु,फेरि तिम्रो मेरो सम्बन्धलाई समाजले के भन्लान।भैगो,तिमि भुईमा झरेको फुललाई शिरमा सजाउने कष्ट नगर,मलाई आफ्नै हालतमा छोडिदेउ””त्यसो होइन अपेक्षा,हिजो म तिमीलाई जति माया गर्थे आज म त्यो भन्दा बढी माया गर्छु तिमीलाई।म जिन्दगीभर तिम्रो सुखदुःख मा साथ दिन तयार छु।मलाई यो समाजले के भन्छ भन्ने डर छैन,मलाई मात्र तिमीलाई साथ दिनु छ बाचुन्जेल,अब हामी मिलेर नयाँ जीवनको सुरुवात गरौँ अपेक्षा” मैले मेरो मनभित्रको उकुसमुकुसलाई बाहिर फिजाईदिए।उ मौन रहिन अनि म पनि मौन भए।त्यहाको वातावरण नै शान्त भयो।

“जीवन,तिमीले पनि मलाई दयाको नजरले हेरिरहेका छौ, हो?”
“मैले दयाले होइन मायाले हेरेको छु अपेक्षा,जिन्दगी लामो छ।मलाई तिम्रो साथको खाचो छ अनि तिमीलाई मेरो।अब विगतलाई भुलेर बर्तमन सङ्ग सम्झौता गर्दै भाविष्यको बारेमा सोच्नुपर्छ” मैले उत्साह थप्ने उद्देशले भनिदिए।उनी चुप रहिन केही बोलिनन।केहिसमय पछि सामान्य अवस्थामा आई रअब म जान्छु भनी।निस्किनै खोज्दा मैले एउटा सेल्फी खिचौ न भनेर अनुरोध गरे।उसले पनि स्वीकृत जनाई अनि मैले दुबैजनाको सेल्फी लिए।उ घरतिर लागी म कोठातिर आए।मेरो मन चन्चल भएको थियो अनि डर पनि कतै उसले नराम्रो पो सोच्ने हो कि? मनलाई रङ्गशाला बनाएर अनेक प्रश्न हरू खेलिरहेका थिए।कहिले भित्र कहिले बाहिर गर्दै थिए म।यत्तिकैमा मोबाइलको घण्टी बज्यो।कल अपेक्षाको थियो।अपेक्षाले भनी “जीवन,भोलि तिमीलाई भेट्न आमाबाबुले घर बोलाउनुभएको छ,तिम्रो कुराले मलाई सोच्न बाध्य बनायो,यदि तिमि मलाई साच्चिकै माया गर्छौ भने म तिम्रो हुन तयार छु,आऊ ल,म पर्खिरहनेछु” टुट..टुट..फोन काटियो।
मेरो मन खुसीले ब्रुक ब्रुक उफ्रीरहेको थियो।मैले मेरो हराएको मुटु पाएको थिए,सगरमाथा आरोहीहरु आरोहण पश्चात् के खुसी होलान् र जत्ति म खुसी थिए।

मैले हामी दुईको सेल्फी फेसबुकमा राखिदिए येस्तो लेखेर “मैले मेरो मनको अनि मेरो जिवनकथाको लागि मलाई साथ दिने हिरोइन पाएको छु अनि म उसको हिरो भएको छु।आशा गर्छु,मेरो जीवनकथाले अर्कै मोड लिनेछ”अनि त्यो फोटोमा धेरै जनाले लाईक गरे अनि कमेन्ट र शेयर पनि,प्राय सबैको कमेन्ट यस्तो थियो “जीवन,तिमि उसको मात्र हिरो होइनौ,यो सिङ्गो समाजको अनि पुरै राष्ट्रको हिरो बनेका छौ,शिक्षाबाट समाज परिवर्तन गर्नको लागी शिक्षक बनेको तिमीले आफ्नो व्यवहार बाट झन् बिश्वासिलो रूपमा समाज परिवर्तन गर्न ठुलो भूमिका खेलेका छौ,तिमीलाई सलाम तिमीहरूको दुईको जीवन सुखमय बितोस,शुभकामना”

केशु खण्डलुक मगर
अर्चले,पाल्पा