‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’



आचार्य प्रदीप
बुटवल, २७ असोज । आँखाजस्तो संवेदनशील अंगको विषयमा पनि चासो नदिँदा धेरै व्यक्तिहरु दृष्टि समस्याबाट पिल्सिएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । स्वास्थ्य क्षेत्रका अन्य भागसँगै आँखाको लागि सरकारले खासै चासो नदेखाएको उनीहरुले गुनासो गरेका छन् ।

विश्व दृष्टि दिवसको अवसरमा बुटवलमा नेपाल दृष्टि विशेषज्ञ संघ प्रदेश नम्बर ५ ले आयोजना गरेको एक कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् ।
यो वर्ष सबैका लागि आँखा स्वास्थ्यः आजै आफ्नो आँखा जाँच गराऔं भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रमहरु सञ्चालन भएको हो ।

अन्धोपन र दृष्टि दोषका समस्याबारे विश्वव्यापी ध्यानआकृष्ट गर्नका लागि हरेक वर्ष अक्टोबर महिनाको दोश्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ ।

नेपाल दृष्टि विशेषज्ञ संघ प्रदेश नम्बर ५ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै संघ प्रदेश नम्बर ५ अध्यक्ष डा. अमित केसीले विश्वमा सबैभन्दा बढी व्यक्तिले समयमा उपचार नगरेरै अन्धोपनाको समस्या भोगिरहेको बताए । ६५ प्रतिशत आँखाको अन्धोपन तथा ८२ प्रतिशत न्युन दृष्टि(उपचारपछि पनि निको नभएको)को समस्या ५० वर्ष कटेपछि हुने उनले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २८ करोड ५० लाख मानिस कम दृष्टि भएका या दृष्टिविहीन छन् । २४ करोड ६० लाख मानिसमा गम्भीर खालको दृष्टिदोष छ ।

९० प्रतिशत दृष्टिविहीनहरु न्यून आय भएका देशमा रहेका छन् । अध्यक्षका अनुसार मोतियाबिन्दु, जलबिन्दु, मधुमेहजस्ता समस्या दृष्टि गुम्ने कारणका रुपमा रहेका छन् । नेपालमा हरेक दिन १ सय २५ जना दृष्टिविहीन हुने गरेका छन् । नेपालमा ६५ प्रतिशत अन्धोपन मोतियाविन्दुका कारण हुने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै संघ सचिव डा. प्रभात जिसीले पछिल्लो २० वर्षको अवधिमा विभिन्न किसिमका रोगहरुका कारण हुने अन्धोपन घटिरहेको बताए । उनले आँखाको क्षेत्रमा अझै जनशक्ति बढाउनुपर्ने बताउँदै हाल नेपालमा दृष्टि विशेषज्ञको संख्या करिब ३ सय रहेको बताए । उनले आँखा अस्पतालहरु २१ वटा रहेको बताउँदै ६३ वटा आई केयर सेन्टर रहेको बताए ।

कार्यक्रममा बोल्दै उनले आँखाको सुरक्षाको लागि सामाजिक स्वास्थ्य, शिक्षाको क्षेत्रमा पनि समावेश गर्नु आवश्यक रहेको बताए । आँखाको सुरक्षाको लागि नियमित रुपमा हरेक व्यक्तिले १ वर्षमा १ पटक आँखा चेक गराउनुपर्ने उनको भनाइ छ । कार्यक्रममा संघ सचिव अभिषेक पाण्डे, सदस्य दिपेन्द्र बानियाँ लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन टेकेन्द्र बोहराले गरेका थिए ।